ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको रेलवेमा कार्गाे आएन 

२०८० असार, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झन्डा देखाएपछि जेठ १८ मा कार्गाे लिएर आएको रेल फेरि एकीकृत जाँच चौकी (आईसीपी) मा देखापरेको छैन । 

नेपालका रेलवे अधिकारी सबै तयारी छ भनेर दाबी गर्छन् भने उद्योगीले आईसीपीमा कार्गाे ल्याउन पूर्वाधार नभएको दाबी गर्दै आएका छन् । यसले गर्दा तयारी पूरा भयो भनेर उद्घाटन गरिएको आईसीपीमा रेलमार्गबाट कार्गाे आउन सकेको छैन । 
पुरानै रुटमा रहेको जोगवनी रेलवे स्टेशनमा कार्गाे रेलमार्फत आएको नुन र फलामको स्त्र्mयाप वर्षाको पानीले भिजेको छ । व्यवस्थित भण्डारण स्थल नपाएर खुला चौरमा अनलोड गरिएको सामान भिजेको हो । त्यसैगरी मोरङको प्रिमियर स्टील र सुनसरीको स्वस्तिक रोलिङ मिलले आयात गरेको स्पन्ज आइरन पनि भिजेको छ ।

पानीको सम्पर्कमा आएपछि स्पन्ज आइरन काम नलाग्ने हुन्छ । स्वस्तिक रोलिङ मिलका सञ्चालक रमेश राठी पानी र स्पन्ज आइरन एकअर्काको शत्रु जस्तै रहेकाले पानीबाट जोगाउनुपर्ने बताउँछन् । स्पन्ज आइरनमा पानी पर्दा आगो लाग्ने खतरा पनि रहने उनले बताए । ‘तर, संयोग यसपटक त्यस्तो भएन । के कति क्षति भयो, त्यो विवरण आउन केही समय लाग्छ,’ उनले भने । लगातार ३ दिन ६ र्‍याक सामान आएपछि व्यवस्थापन गर्न समस्या भएको व्यवसायीले बताए । 

चार र्‍याकमा साल्ट ट्रेडिङको नुन र दुई र्‍याकमा प्रिमियर र स्वस्तिकको स्पन्ज आइरन थियो । अरू २ र्‍याकमा आएको कमला स्टीलको फलामे तारसमेत यार्डमा अनलोड गरिएको थियो । राठीका अनुसार सामान अनलोड भएर यार्डमा राखेपछि ढुवानी गर्न नपाउँदै पानी परेपछि जोगवनी यार्डमा एक फिटसम्म पानी जमेर सामान भिजेका हुन् । यार्डमा पानीको सहज निकास छैन । रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनीयर रोशन देवले आईसीपीमा कार्गाे आउन कुनै समस्या नरहेको बताए । उनले भने, ‘हामी सबै तयार बसेका छौं तर व्यवसायीले कार्गाे मगाउनुभएन, कार्गाे ल्याउने काम व्यवसायीको हो ।’

कार्गो रेल आए पहिलो दिन जस्तै सबै प्राविधिक व्यवस्था आईसीपी स्टेशनमा रहेको उनले बताए । उद्घाटन भइसकेको रेलवे यार्डमा समान नल्याएर पुरानै जोगवनीको यार्डबाट ल्याउँदा उद्योगी व्यवसायीले नयाँ आईसीपी यार्डलाई विश्वास नगरेको देखिएको छ । देवले रेलवे यार्डमा कार्गो ल्याउन उद्योगी र व्यवसायीलाई आग्रह गरे । 

उनका अनुसार आईसीपीमा कार्गो ह्यान्डलिङको काम नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्छ । रेल अपरेशन विभागले र जाँचपास भन्सार कार्यालयले गर्छ । नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले रेलवे यार्डबाट आयातनिर्यात शुरू गर्न ५५ करोडको लगानीमा संरचना निर्माण गरिरहेको जानकारी दिए । उनले इन्टरमोडलले यार्डमा प्लेटफर्म बनाउने, यार्डदेखि आईसीपीसम्मको सडक चौडा गर्ने र कन्टेनर पार्किङ यार्ड निर्माण गर्ने लगायत काम गरिरहेको बताए । 

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले रेल विभागले व्यवसायीलाई आईसीपीमा सम्पूर्ण साधनस्रोतसहितको रेलवे यार्ड तयार भएको जानकारी नदिएसम्म आईसीपीसम्म कार्गो रेल ल्याउन नसकिने बताए ।
उद्योगपति राठीले आईसीपीसम्म कार्गो रेल ल्याएपछि कार्गो ह्यान्डलिङ र भन्सार जाँचपासमा कुनै असुविधा नहुने प्रत्याभूति सरकारी पक्षले नगरेसम्म आईसीपीको रेलवे यार्डमा कार्गो रेल आउन ल्याउन नसकिने बताए ।

उनले जोगवनी यार्डमा आफ्नो उद्योगको १५ सय बोरा स्पन्ज आइरन नष्ट हुँदा ४५ लाखको क्षति भएको दाबी गरे । उद्योगी रमेश राठीले आईसीपीको रेलवे यार्डमा मालवस्तु ल्याएपछि ती सामान ओसार्न नेपाली नम्बर प्लेटका पर्याप्त ढुवानी साधन नभएको बताए । भारतीय नम्बर प्लेटका साधनलाई नेपाली ढुवानी व्यवसायीले आईसीपीमा छिर्न दिँदैनन् । त्यसैले आईसीपीसम्म कार्गो रेल सञ्चालनका लागि पर्याप्त ढुवानीका साधनको व्यवस्था पहिलो शर्त भएको उनले बताए । 

उनले भने, ‘हामी उद्योगका लागि एकपटकमा २४ सय टन स्पन्ज आइरन मगाउँछौं । यसको ढुवानीका लागि ८० ओटा ट्रक चाहिन्छ,’ उनले भने, ‘नेपाली नम्बर प्लेटका ८० ओटा ट्रक जुटाउनै गाह्रो छ । अर्कातिर रेलवे यार्डबाट निर्धारित समयमा मालवस्तु नउठाए त्यसको डिटेन्सन शुल्क अत्यन्त महँगो छ ।’ 

उद्घाटन गरेपछि त्यहाँका सुविधाबारे रेलवेले उद्योगी व्यवसायी कसैलाई पनि औपचारिक जानकारी गराएको छैन । सबै कुरा ठीक छ, झन्झट बेहोर्नु पर्दैन भन्ने सरकारी पक्षबाट प्रतिबद्धता आएपछि मात्र आफूहरूले आईसीपीमा कार्गाे ल्याउन सकिने उद्योगी रमेशले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)