काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ती संस्थाविरुद्ध चलिरहेका अराजक गतिविधि जारी रहे सेवा नै रोक्ने चेतावनी दिएका छन् । लघुवित्त बैंकर्स संघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अराजक गतिविधि जारी रहने, राज्य संयन्त्रबाट असहयोग हुने र सुरक्षा व्यवस्थामा सुधार नहुने हो भने अझ कडा कदम चाल्ने बताएको छ । संघका महासचिव रामबहादुर यादवले परिस्थितिमा सुधार नआए सम्पूर्ण सेवा बन्द गर्ने जस्तो अप्रिय निर्णय लिन बाध्य हुने बताए ।
संघले लघुवित्त वित्तीय संस्थाविरुद्धका अराजक गतिविधि रोक्दै शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएको छ । महासचिव यादवले प्रधानमन्त्रीबाट समस्या समाधानको पहल हुनेमा आशावादी रहेको बताए ।
पछिल्लो समय केही व्यक्ति र राजनीतिक समूहले लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति नै खडा गरी संवेदनशील क्षेत्रमा आन्दोलन गर्ने, संस्थाका कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीमाथि हातपात गर्ने, कार्यालय तोडफोड गर्ने लगायत गतिविधि गरिरहेको संघको भनाइ छ ।
संघका पूर्वअध्यक्ष बसन्त लम्सालले राजनीतिक पार्टीसम्बद्ध व्यक्ति संलग्न आन्दोलनका कारण लघुवित्त संस्था र लघुवित्तकर्मी असुरक्षित भएको बताए। लघुवित्त संस्थाहरूको खारेजी, ऋण मिनाहा, शून्य ब्याजदरमा ऋण, जस्ता अस्वाभाविक माग राखी केही समूह लागिपरेको उनले बताए। हरेक दिनजसो लघुवित्त संस्था र लघुवित्तकर्मीविरुद्ध आन्दोलन गर्ने, कार्यालयमा ताल्चा लगाउने, कर्मचारीमाथि हातपात गर्ने जस्ता गतिविधि बढे पनि राष्ट्र बैंकलगायत नियामक निकायबाट यस्ता क्रियाकलाप अन्त्य गर्न पहल नभएको उनको गुनासो छ ।
यसैबीच नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरी बैंक, वित्तीय संस्थाको सेवा प्रवाहमा अवरोध, कर्मचारीलाई धम्की जस्ता गतिविधि जारी रहे त्यसविरुद्ध चारओटै संस्था सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । संयुक्त विज्ञप्तिमा सोमवार पूर्वी नेपालको इटहरी, सुनसरी, बिर्तामोडलगायत स्थानका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका केही शाखाको सेवा प्रवाहमा केही व्यक्तिले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवाबाट वञ्चित गरेको भन्दै उक्त कार्यको निन्दा गरिएको छ ।
उनीहरूले बैंक वित्तीय संस्था, कर्मचारी र ग्राहकको सुरक्षाका लागि सुरक्षा निकाय गुहारेका छन् । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्नुपर्नेमा जोड दिँदै ऋण नतिर्न अराजक गतिविधि गर्न 'लाई तुरुन्तै कारबाहीको दायर मा ल्याउन पनि माग गरिएको छ ।
ग्राहकहरू सेवा लिन आउँदा अवरोध गरिएमा वा शाखा सञ्चालनमा बाधा पुयाइएको खण्डमा सुरक्षा निकायले आवश्यक कदम चाल्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन् ।