ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मागअनुसार उत्पादन नहुँदा कफी आयात बढ्दो

२०८० असार, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं .नेपालमा कफी खाने चलन बढ्दो क्रममा रहेको छ । तर, मुलुकभित्र पर्याप्त कफी उत्पादन नहुँदा प्रत्येक वर्ष करोडौंको आयात भइरहेको छ । नेपालमा क्याफे, रेस्टुराँको संख्या र कफी कल्चर बढेकाले आन्तरिक उत्पादनले कफीको माग धान्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् । 

नेपालको मौसम कफीखेतीका लागि राम्रो मानिन्छ । तर, मागअनुसार उत्पादन नभएकाले अझै पनि आयात धेरै मात्रामा हुने गरेको छ । नेपालमा १९९५ सालमा कफीखेती शुरू भए पनि अहिलेसम्म कफीमा आत्मनिर्भर हुन सकिएको छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालको मध्यपहाडका ४४ जिल्लामा कफी खेती हुने गरेको छ । बोर्डका अनुसार ती जिल्लाका ३१ हजार ३८९ कृषक यस पेशामा आबद्ध छन् ।

नेपालमा पछिल्लोपटक ३ हजार ३४६ हेक्टरको खेतीबाट ३५४ दशमलव ९ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ । पछिल्लो ५ वर्षको तथ्यांकले कफी उत्पादनमा निकै कमी आएको देखाउँछ । आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा ४६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएकोमा आव २०७८/७९ मा घटेर ३५४ दशमलव ९ मेट्रिक टनमा सीमित भएको छ । आठ वर्षको अन्तरालमा कफी उत्पादन २३ प्रतिशतले  घटेको देखिन्छ । 

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ११ महीनामा मुलुकले ३१ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कफी आयात गरेको छ । गतवर्षको सोही अवधिमा ११ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको कफी आयात भएको थियो । स्वदेशमा उत्पादन उत्साहजनक नभएकाले कफीको आयात परिमाण ७० प्रतिशतले र मूल्य १७० प्रतिशतले बढेको हो ।

पछिल्लो ८ वर्षको तथ्यांक हेर्ने हो भने पनि कफीको आयात निकै बढेको देखिन्छ । आव २०७१/७२ मा ६६ मेट्रिक टन कफी आयात भएकोमा आव २०७८/७९ मा बढेर २७९ मेट्रिक टन पुगेको छ । आव २०७१/७२ को तुलनामा आव २०७८/७९ मा आयात ३२२ प्रतिशतले बढेको छ । नेपालमा कफीको माग बढी भएको तर मागअनुसार उत्पादन नहुँदा आयात गर्नुपर्ने बाध्यत्मक अवस्था रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)