म्याग्दी । म्याग्दीको नारच्याङमा रू. १६ अर्बको लागतमा निर्माणाधीन १०९ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो (क्यास्केड) जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो । प्रवद्र्धक कम्पनी नीलगिरि खोला हाइड्रोपावरका इन्जिनीयर रत्न बमजन तामाङले असार दोस्रो सातासम्ममा दुवै जलविद्युत् आयोजनाको औसत भौतिक प्रगति ८२ प्रतिशत पुगेको जानकारी दिए । कम्पनीले चार वर्षअघि एकैसाथ दुई आयोजनाको निर्माण अघि बढाएको थियो । कम्पनीका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माण सकिएको छ ।
नीलगिरि पहिलो र नीलगिरि क्यास्केड जलविद्युत् आयोजना नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिका हुन् । दुई आयोजनाबाट उत्पादित १०९ मेगावाट बिजुली २२० केभीए क्षमताको दाना सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
नीलगिरि पहिलोको २ हजार मिटर र दोस्रोको ४ हजार २०० मिटर सुरुङ निर्माण सकेर ढलानको काम थालिएको इन्जिनीयर तामाङले जानकारी दिए । ‘पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको ८०० मिटर र दोस्रोको १ हजार ५०० मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ,’ उनले भने ।
तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यास्केडको सुरुङमा हाल्न मिल्नेगरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । नीलगिरि क्यास्केडको विद्युत्गृहबाट नीलगिरि पहिलोको बाँधसम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ ।
यी दुवै आयोजना नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिका हुन् । उत्पादित बिजुली २२० केभीए क्षमताको दाना सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
छोटेपा–दोबिल्ला हँुदै दाना सबस्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ ओटामध्ये २३ ओटा टावर निर्माण गरी तार तान्ने काम सकिएको कम्पनीले बताएको छ ।
दुवै आयोजनाका लागि निर्माण गरिने विद्युत्गृहको भौतिक संरचनाको काम सकिएर इलेक्ट्रोमेकानिकलको काम थालिएको इन्जिनीयर तामाङले बताए । भौगोलिक विकटता हुँदाहुँदै पनि आयोजना निर्माण तीव्र बनाइएको उनको भनाइ छ । ‘आगामी ६ महीनाभित्र दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ,’ उनले भने । आयोजनामा अहिले प्राविधिक जनशक्ति र साधारण मजदूर गरी करीब ५०० जना परिचालन भएका छन् ।