काठमाडौं/वीरगञ्ज । द्विपक्षीय व्यापार हुने अधिकांश मुलुकसँग जस्तै बंगलादेशसँगको व्यापारमा पनि नेपाल घाटामा छ । कुनै समय १ अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु बंगलादेश निर्यात गरेको नेपालले अहिले निर्यात रकम आधा अर्ब रुपैयाँ पनि पुर्याउन सकेको छैन ।
नेपाल–बंगलादेश व्यापारको १ दशकको तथ्यांक हेर्दा नेपालको निकासी खुम्चिँदो ट्रेन्डमा रहेको र उताबाट आयात बढिरहेको देखिन्छ । कतिपय वर्षमा घाटा कम भए पनि निर्यात बढेर नभई आयात नै कम भएर त्यस्तो देखिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू द्विपक्षीय व्यापारमा दशकअघिसम्म नेपालले आयात कम र निर्यात बढी गर्ने गरेको बताउँछन् । पछिल्लो १ दशकमा अवस्था उल्टिएको छ ।
अर्बभन्दा माथि पुगिसकेको निकासी करोडमा झरेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को जेठसम्ममा नेपालले बंगलादेशमा ४४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो अवधिमा उताबाट आयात ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २०७८/७९ मा नेपालले बंगलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको छ । त्यस वर्ष ११ अर्ब २० करोड रुपैयाँको वस्तु नेपालले बंगलादेशबाट आयात गरेको छ । निकासी ७२ करोड रुपैयाँमा सीमित छ ।
नेपाल र बंगलादेशबीच व्यापारको पछिल्लो २३ वर्षको तथ्यांक हेर्दा शुरूका ८ वर्ष नेपालको निकासी उत्साहजनक रहेको देखिन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार आव २०५५/५६ मा नेपालबाट १३ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो । त्यसताका बंगलादेशबाट रासायनिक मल, जुट, ब्याट्री, प्लास्टिकका सामग्री, मेशिनरी तथा पार्टस् र औषधि प्रमुख रूपमा आयात भएको देखिन्छ । पछिल्लो आँकडाअनुसार बंगलादेशबाट हुने आयातमा कृषिजन्य वस्तुको अंश ६७ प्रतिशत छ ।
बंगलादेशसँगको व्यापार सम्भावनाको उपयोगमा सरकारी उदासीनताका कारण निर्यात बढ्न नसकेको निर्यातकर्ताको बुझाइ छ । शुरूका दिनमा निकासी उत्साहजनक रहे पनि पछिल्लो समयमा यो खस्किँदै गएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचान बताउँछन् । यो समूहले नेपालबाट मुसुरोको दाल निकासी गर्दै आएको छ ।
नेपालबाट बंगलादेश निकासी हुने वस्तुमा मुख्य अंश मुसुरो दालको हुन्छ । विगतमा नेपालबाट माल्ट, टायर, शिशु आहार, मुलाको बीउ, प्याज, र सुन्तलाजस्ता उत्पादन निकासी हुने गरे पनि अहिले ती वस्तुको निकासी नगन्य रहेको व्यापारी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी नेपालले बंगलादेशको बजारबाट लाभ लिन सक्ने सम्भावना भए पनि सरकारले प्रवर्द्धनको नीति नलिँदा समस्या भएको बताउँछन् ।
‘नेपालबाट निर्यात हुने कतिपय वस्तुमा बंगलादेशले भारतबाट निकासी हुने उस्तै वस्तुको तुलनामा बढी कर लिइरहेको छ,’ उनले भने, ‘द्विपक्षीय व्यापारका यीलगायत अन्य समस्या हल गर्नेतर्फ हाम्रो सरकार उदासीन छ ।’
यसो गरे बढ्छ निकासी
नेपाल र बंगलादेशको भू–अवस्थिति पनि निकासी व्यापारमा समस्याको कारण मानिएको छ । अधिकांश वस्तु नेपालको पूर्वी नाकाबाट भारतको फूलबारी, बंगलादेशको चटगाउँ बन्दरगाह हुँदै जान्छ । उक्त बाटोबाट सामान बोकेर गएका ढुवानीका साधन भन्सार प्रक्रियाका लागि सिमानामा ४/५ दिनसम्म पर्खिनुपर्ने अवस्था रहेकाले खर्च बढी परेको व्यापारी बताउँछन् ।
एक समय राम्रै अंश ओगटेको मुसुरोको दाल निकासी पनि अहिले घटेको चाचान बताउँछन् । ‘सरकारले निकासी प्रवर्द्धन लागि लिएको नीतिको कार्यान्वयन अव्यावहारिक हुँदा निर्यात बढ्न सकेको छैन । अनुदानको प्राप्ति अति झन्झटिलो छ,’ उनले भने ।
साउथ एशिया वाच अन ट्रेन्ड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती)ले उपलब्ध गराएको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको २३ वर्षमा ८ वर्ष नेपालबाट हुने निर्यात उताबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०६१/६२ देखि २०६९/७० सम्म नेपालले आयातभन्दा बढी निर्यात गरेको तथ्यांक छ । त्यसयता नेपालबाट निर्यात कम र उताबाट आयात निरन्तर बढेको देखिन्छ ।
सावतीका वरिष्ठ अनुसन्धान अधिकृत क्षितिज दाहाल द्विपक्षीय व्यापारमा भन्सार महशुल नै बाधक भएको बताउँछन् । नेपालबाट निकासी हुने कतिपय वस्तुमा बंगलादेशमा शतप्रतिशतसम्म कर लाग्छ । ‘नेपाली सीमाबाट ३० किलोमिटर दूरीमा रहेको बंगलादेश अहिले प्रतिव्यक्ति आम्दानी उच्च बनाउँदै आर्थिक गतिविधि र मागका आधारमा ठूलो बजार सम्भावना भएको देशको रूपमा उदाएको छ,’ दाहालले भने, ‘तर, यो व्यापक सम्भावनाबाट नेपालले लाभ लिन सकेको छैन ।’
नेपालबाट नजिकको बजार पहुँच, बहुपक्षीय रूपमा भएको मुक्त व्यापार सम्झौता (फ्री ट्रेड एग्रिमेन्ट), लामो समयदेखि दुई देशबीच हुँदै आएको आपसी सहकार्यलगायत कारण नेपाल–बंगलादेश व्यापारमा सम्भावना उच्च रहेको उनले बताए ।
यसका लागि भन्सार महशुललगायत व्यापार सम्झौतामा सुधारको खाँचो उनले औंल्याए । नेपालले निर्यात गर्दै आएका वस्तुमा पुनरवलोकन र थप नयाँ वस्तुको पहिचान गर्न आवश्यक रहेको उनको भनाइ छ । झन्झटिलो कागजी प्रक्रिया र भुक्तानीको समस्याले निर्यातमा बाधा गरिरहेको दाहाल बताउँछन् ।
नेपालले बंगलादेश निर्यात गर्ने वस्तुमा ८० प्रतिशतभन्दा बढी मुसुरोको दाल छ । दोस्रोमा पीना पर्छ । यसैगरी एनिमल प्रडक्टहरू, पर्फ्युम, जडीबुटी, अदुवा (सुठो), अम्रिसोलगायत वस्तु निर्यात हुन्छ ।
मन्त्रालयका एक अधिकारीले नेपालबाट बंगलादेशमा निकासी बढाउन केही सुधारको प्रयास गरिएको जानकारी दिए । ‘निर्यात बढाउने उद्देश्यले अहिले मन्त्रालयले बंगलादेश देशसँग सौविध्यपूर्ण व्यापार सम्झौता (पीटीए) का लागि प्रक्रिया अघि बढाएको छ,’ ती अधिकारीले भने, ‘यसमा ४/५ ओटा प्रावधान राखिनेछ, जसबाट नेपालले निर्यात बढाउन सकोस् ।’ उनका अनुसार नेपालबाट निर्यात वस्तुमा भन्सार शुल्क शून्य राख्नेलगायत प्रावधान पीटीएमा हुने उनको भनाइ छ ।