काठमाडौं। डेढ वर्षपछि बैंकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्ने जिम्मा पाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज भएपछि नेपाल बैंकर्स संघले आगामी साउनदेखि बैंकहरू आफैले ब्याजदर तोक्न पाउने निर्णय गरेको हो ।
साउनदेखि बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आफैले ब्याजदर निर्धारण गर्नेछन् । बैंकहरूसँग तरलता प्रशस्त रहेको र कर्जाको माग कम भएकाले निक्षेपको ब्याजदर बैंकको अवस्थाका आधारमा निर्धारण गर्ने निर्णय गरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘हिजो तरलता अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले भद्र सहमति गर्दै आएको थियो,’ शर्माले भने, ‘अहिले अवस्था सहज भएपछि बैंकहरूले आफै तोक्न सक्ने निर्णय गरिएको हो ।’ अब बैंकहरूले आफ्नो अवस्थाका आधारमा ब्याजदर तोक्न सक्ने उनले बताए ।
तरलता अभावसँगै बैंकहरूबीच निक्षेप खोसाखोस र ब्याजदरमा प्रतिस्पर्धाका कारण २०७८ कात्तिकमै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १२ प्रतिशतनजिक पुगेपछि राष्ट्र बैंकले ब्याजदर एकल विन्दुमा राख्न मौखिक निर्देशन दिएको थियो । त्यसपछि औपचारिक निर्देशन जारी गर्दै राष्ट्र बैंकले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साविकको तुलनामा १० प्रतिशतले मात्र घटबढ गर्न पाउने व्यवस्था गर्यो । २०७८ मङ्सिरदेखि संघले अधिकतम ब्याजदर तोक्दै आएको थियो । संघले पनि लगातार ब्याजदर बढाउन थालेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए । व्यापारी, व्यवसायीका संगठनहरूले पनि विज्ञप्ति जारी गरेर ब्याजदर वृद्धिमा आपत्ति जनाएका थिए । बैंकहरूले संघमार्फत २०७९ असोजमा १० प्रतिशत ब्याजदर बढाएपछि त्यसलाई अर्थ मन्त्रालयले हस्तक्षेप गर्न सुझाव समिति नै बनायो । समितिले ब्याजदर निर्धारणको जिम्मा बजारलाई नै छोड्न सुझाव दिएपछि अर्थ मन्त्रालय पछि हटेको थियो ।
पछिल्लो समय बैंकहरूमा तरलता सहज भए पनि कार्टेलिङ गरेर ब्याजदर घटाउन नदिएको भन्दै विरोध हुन थालेपछि संघ पछि हटेको हो । ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गर्दै मुद्दती निक्षेपमा ९ दशमलव ९९ प्रतिशत तोकेको छ । संघले वैशाखमा कायम ब्याजदरलाई नै असारसम्म निरन्तरता दिँदै आएको छ ।
साउनमा भने बैंकहरूले निक्षेपको ब्याजदर घटाउने भएका छन् । पछिल्लो समय निक्षेप लगातार बढिरहे पनि कर्जा प्रवाह नहुँदा बैंकहरूसँग अधिक तरलता छ ।
मंगलवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो दिनको तुलनामा २३ अर्ब निक्षेप बढ्दा कर्जा ७ अर्बले घटेको छ ।
निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८१ दशमलव ६९ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशत सीडी रेसियोसम्म कर्जा दिन सक्ने भएकाले अझै साढे ४ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन सक्ने क्षमता उनीहरूसँग छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा भएको संकुचनले कर्जा विस्तार हुन सकेको छैन ।
कर्जा प्रवाह नहुँदा अन्तरबैंक कारोबारलगायत अल्पकालीन ब्याजदरहरू लगातार घटिरहेका छन् । मंगलवार पनि औसत अन्तरबैंक ब्याजदर शून्य दशमलव ९० प्रतिशत कायम भएको छ । तरलता अधिक भएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी ब्याजदर बढाउन प्रयास गरिरहेको छ । राष्ट्र बैंकले मंगलवार र बुधवार गरी ४० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । बिहीवार पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २० अर्ब रुपैयाँ उठाएको छ ।