ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ सात ब्रोकर कम्पनी धितोपत्र बजारमा प्रवेश 

२०८० असार, २९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। धितोपत्र बजारमा बिहीवार (असार २८) देखि नयाँ सात ब्रोकर कम्पनीले कारोबार शुरू गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स बाँड्न प्रक्रिया शुरू गरेको ९ महीनापछि थपिएका ब्रोकर कम्पनीमध्ये ७ ले कारोबार थालेका हुन् । 

बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न २०७९ असोज २ देखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि करीब ६ महीना प्रक्रिया रोकिएको थियो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सदस्यता पाएका भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडले औपचारिक रूपमा कारोबार शुरू गरेका हुन् । 

नेप्सेले भोले गणेशलाई ६१, क्यापिटल म्याक्सलाई ६२, हिमालयन ब्रोकरेजलाई ६३, सन सेक्युरिटिजलाई ६४, शेयरप्रो सेक्युरिटिजलाई ६५, मियो सेक्युरिटिजलाई ६६ र प्रोपर्टी विजार्डलाई ६७ ब्रोकर संकेत नम्बर प्रदान गरेको छ । सोही नम्बरका आधारमा यी कम्पनीहरूले सेवा शुरू गरेका हुन् । लाइभ कारोबारमा जानुअघि यी कम्पनीले परीक्षण कारोबार गरेका थिए । 

परीक्षण कारोबारमा सफल भई नियमित कारोबारमा सहभागी भएको सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार पहिलो दिन सातओटै ब्रोकर कम्पनीले थोरै मात्रामा धितोपत्र कारोबार गरेका छन् । नयाँ प्रविधि, नयाँ राफसाफ प्रणालीमा अभ्यस्त हुँदै विस्तारै कारोबार बढाउँदै जाने गिरीको भनाइ छ । 

आफूहरूको योजनाबमोजिम असारभित्रै कारोबार शुरू गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै गिरीले यसका लागि भूमिका खेल्ने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई धन्यवाद ज्ञापन गरे ।

नयाँ कम्पनीहरूलाई यतिबेला नयाँ अवसरसँगै चुनौतीसमेत रहेको भन्दै उनले यो अवस्थामा लगानीकर्ताको सहयोग र साथको अपेक्षा गरेको बताए ।

नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा जेठ ८ गते यी कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । नेप्सेले असार २० गते यी कम्पनीलाई सदस्यता दिएको थियो । 

धितोपत्र बोर्डबाट हालसम्म १८ नयाँ कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरिसकेका छन् । २५ नयाँ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । ब्रोकर लाइसेन्स पाउने १८ कम्पनीमध्ये एउटा पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा छ । बाँकी १० ले नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् । 

नयाँ ब्रोकर कम्पनीहरूबाट पहिलो दिन २१० कित्ता धितोपत्र खरीद भएको छ । नेप्सेको तथ्यांकअनुसार नयाँ सात ब्रोकर कम्पनीबाट १ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको २१० कित्ता धितोपत्र खरीद भएको हो । ब्रोकर नम्बर ६५, शेयर प्रो सेक्युरिटिजबाट सबैभन्दा बढी ५४ हजार १० रुपैयाँ बराबरको ११० कित्ता धितोपत्र खरीद भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)