ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमा नाकामा कडाइले जोगवनी जाने नेपाली ८० प्रतिशत घटे

२०८० साउन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। सीमावर्ती भारतीय बजार जोगवनीबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम साउन १ देखि कडाइका साथ लागू भएपछि किनमेल गर्न पारि जाने क्रम स्वाट्टै घटेको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा जोगवनी नाकामा कडाइ शुरू भएको दोस्रो दिन सामान्न किन्न पारि जाने ग्राहक ८० प्रतिशतले घटेका छन् । भारतीय बजार जोगवनीमा ८० प्रतिशत विक्री घटेको स्थानीय पसलेले बताएका छन् । जोगवनीमा दैनिक १५ करोड रुपैयाँको किनमेल हुन्थ्यो । जोगवनी बजारका ग्राहक ९८ प्रतिशत नेपाली हुन्छन् । महानगरका मेयर नागेश कोइरालाको अनुरोधमा विराटनगर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालयलगायत सुरक्षा निकाय प्रमुख, मोरङ व्यापार संघलगायत औद्योगिक व्यापारिक संघसंस्थाको छलफलले साउन १ गतेबाट सय रुपैयाँभन्दा बढीको सामान रोक्ने नीतिका साथ जोगवनीमा किनमेल गर्न जान सर्वसाधारण निरुत्साहित हुने गरी कडाइ गरिएको हो । यसअघि पश्चिमको सुनौली नाकामा पनि त्यस्तै कडाइ गरिएको थियो । 

विराटनगरका व्यापारीले जोगवनीका कारण आफूहरूको व्यापार नचलेको र महानगरपालिकालाई कर तिर्न नसक्ने अवस्था आएको गुनासो नगरप्रमुख कोइरालासमक्ष गरेपछि महानगरले समन्वय गरेर नाकामा कडाइ गरेको हो । भन्सार ऐनमा सीमापारिबाट सय रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु ल्याएमा भन्सार महसुल बुझाउनुपर्ने प्रावधान छ । यसैमा टेकेर भन्सार कार्यालयले समेत नाकामा कडाइ गरिरहेको छ । भन्सारमा गरिएको कडाइलाई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वागत गरेका छन् । उनीहरूले उद्योगी व्यवसायीलाई अवैध रूपमा भित्रिएको सामान नकिन्न समेत आग्रह गरेका छन् । 

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले जोगवनीमा दैनिक १५ करोड रुपैयाँ बराबरको किनमेल नेपालीले गर्ने गरेको बताए । तुलनात्मक रूपमा केही सस्तो छ भनेर पारि जानेहरू तौल र गुणस्तरमा ठगिने उनको दाबी छ । 

सीमामा गरिएको कडाइको स्वागत गर्दै उनले अझ कडा बनाइनुपर्ने र किनमेल गर्न पारि जाने संस्कार परिवर्तन गर्न आवश्यक रहेको बताए । 

विराटनगर भन्सारका सूचना अधिकारी परशुराम दाहालका अनुसार सीमापारिबाट ल्याएका सामानमा कडाइका साथ चेकजाँच भइरहेको छ । दाल, चामल, चिनी, मसलालगायत सबै प्रकारका खाद्य र पेय पदार्थको झोलापोकामा हुने आयात बन्द गरिएको छ । सीमापारिबाट घरेलु प्रयोजनका लागि खाद्य र पेय पदार्थ ल्याउनेले पनि खाद्य परीक्षणको रिपोर्ट बुझाएर मात्र जाँचपास गर्न पाउने विराटनगर भन्सार कार्यालयले बताएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले मुख्य नाका सहित छोटी नाकामा समेत कडाइ गर्दै लगिने बताए । सबैको सहयोग भयो भने अवैध रूपमा हुने आयात रोक्न सकिने उल्लेख गर्दै उनले महानगरको समन्वयमा प्रशासन, व्यवसायी, सुरक्षाकर्मी, राजस्व प्रशासन र सामाजिक अभियन्तासमेतको बैठकले गरेको निर्णयलाई सुरक्षा निकायले कार्यान्वयनमा ल्याएको बताए । मोरङको ६३ किलोमीटर सिमाना भारतसँग जोडिएको छ । 

नेपालमा स्वागत भारतमा विरोध

यो कडाइको महानगरवासीले स्वागत गरेका छन् । सीमावर्ती भारतीय बजार जोगवनीका व्यापारीले त्यसको विरोध गरेका छन् । जोगवनीका व्यापारी मोहमद जावेदले साउन १ गतेबाट आफ्नो व्यापार ८० प्रतिशत घटेको बताए । उनले नेपाल र भारतबीचको सम्बन्धलाई यस्तो कडाइले असर गर्ने बताए । अर्का व्यापारी मोहमद रहमानले भारतीयले पनि नेपालमा किनमेल गर्ने गरेको स्मरण गर्दै दुवैतिर खुला सिमाना हुन्जेल किनमेलमा रोकतोक गर्न नहुने बताए । 

विराटनगरका खुद्रा पसलेले पनि नाकामा गरिएको कडाइको स्वागत गरेका छन् । उनीहरूले संगठित रूपमा हुने अवैध आयात पनि बन्द गरिनुपर्ने बताए । अम्बिका वस्त्रालयका प्रदीप अग्रवालले सीमामा कडाइ शुरू भएपछि विराटनगर बजार गुल्जार हुने अपेक्षा गरे । कडाइले बजारको शाख फर्कने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)