ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमआरआई मेशिन खरीद गर्दै भरतपुर अस्पताल

२०८० साउन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। भरतपुर अस्पतालमा एमआरआई मेशिन खरीदका लागि सम्झौता भएको छ । एमआरआई मेशिन खरीदका सम्बन्धमा गत असार ३० गते अस्पताल र इस्टवेस्ट कन्सर्न प्रालिबीच सम्झौता भएको हो । असार ३१ मा बैंक खाता खोलेर एलसीको काम अघि बढेकाले मेशिन आउने निश्चित भएको अस्पतालले जानकारी दिएको छ ।

एमआरआई मेशिन खरीदका लागि उक्त कम्पनीले मात्र टेन्डर हालेको अस्पतालले बताएको छ । अत्याधुनिक एमआरआई मेशिन खरीद गर्नुपरेको भन्दै अन्तरराष्ट्रिय प्रतिस्पर्धाका लागि टेन्डर आह्वान गरिएको हो । रू. ३० करोड बराबरको मेशिन खरीद गर्न लागिएको भरतपुर अस्पतालले बताएको छ ।

आगामी पुस महीनामा अस्पतालमा मेशिन आइपुग्ने र माघदेखि सेवा शुरू गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले जानकारी दिए । अस्पतालमा एमआरआई मेशिन नहुँदा बिरामीलाई चितवन मेडिकल कलेज अफ साइन्सेसमा पठाउने गरिएको छ । एमआरआई मेशिन आएपछि सेवाग्राहीले अन्य अस्पतालको भन्दा सस्तो दरमा सेवा लिन सक्ने उनको भनाइ छ । 

भरतपुर अस्पतालको सेवा थप गुणस्तरीय बनाउन एमआरआई मेशिन अत्यावश्यक रहेको अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले बताए । उक्त मेशिन विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने उनको भनाइ छ ।

गत जनवरी १ मा ४५ दिनको समय राखेर भरतपुर अस्पतालले विद्युतीय खरीद प्रणाली (ई–बिडिङ)अन्तर्गत एमआरआई मेशिन खरीद प्रक्रिया अघि बढाएको थियो । ५ वर्षको वारेन्टी हुनुपर्ने, वर्षमा तीनपटक नियमित परीक्षण गर्नुपर्ने, १० वर्षसम्म मेशिनका पाटपुर्जा उपलब्ध गराउनुपर्ने, मेसिन सन् २०१५ भन्दापछि बनेको हुनुपर्ने लगायत शर्त बोलपत्रमा राखिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)