ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेवा निर्यातमा पनि नेपाल घाटामा

२०८० साउन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। वैदेशिक व्यापारमा नेपालले वस्तु तथा सेवा दुवै निर्यात र आयात गर्छ । वस्तु व्यापारमा उच्च घाटा बेहोर्दै आएको नेपाल सेवामा भने ५ वर्षअघिसम्म बचतमा थियो । त्यसयता भने सेवा व्यापारमा पनि घाटा बेहोरिरहेको छ । 

नेपाल राष्ट्र बैंकको १ दशकको तथ्यांक हेर्दा पहिलेका ५ वर्ष नेपाल सेवा व्यापारमा निरन्तर बचतमा देखिन्छ । त्यसपछिका ५ वर्षमा भने निरन्तर घाटामा देखिन्छ । चालू आर्थिक वर्ष (आव) ११ महीनासम्मको तथ्यांकअनुसार यो वर्ष पनि सेवा व्यापारमा नेपाल घाटामा छ । आव २०७०/७१ देखि आव २०७४/७५ सम्म सेवा व्यापारमा नेपाल नाफामा देखिन्छ । आव २०७४/७५ मा नेपालले १ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको सेवा निर्यात र १ खर्ब ७५ अर्ब रुपैयाँको सेवा आयात गरेको देखिन्छ । उक्त वर्ष सेवा व्यापारमा नेपाल २ अर्ब रुपैयाँ नाफामा देखिन्छ ।

आव २०७५/७६ देखि भने सेवा व्यापारमा मुलुक निरन्तर घाटामा छ । उक्त वर्ष नेपालले १ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको सेवा निर्यात गरेको र २ खर्ब रुपैयाँको आयात गरेको अभिलेख छ । केन्द्रीय बैंकका अनुसार नेपालले निर्यात/आयात गर्ने सेवाअन्तर्गत मर्मतसम्भार, यातायात, यात्रा (पर्यटन), शिक्षा, निर्माण, बीमा/पेन्सन, बौद्धिक सम्पत्तिको शुल्क, दूरसञ्चार, कम्प्युटर र सूचना र अन्य व्यावसायिक सेवा पर्छन् । 

मुलुकमा सेवा निर्यातको चर्चा हुँदैन । तर, नेपालको भूगोलदेखि वस्तु निर्यातको अवस्थाले सेवा निर्यात मलुकका लागि उच्च सम्भावना र दीर्घकालीन रूपमा लाभदायक हुने देखिन्छ । परम्परागत रूपमा निर्यात हुँदै आएका वस्तुबाट नेपालले वैदेशिक व्यापारमा सन्तुलन कायम गर्न सक्ने अवस्था छैन । 

सम्भावना उच्च, सरकारको प्राथमिकता कम

यसैबीच सरकारले सेवा निर्यातलाई प्राथमिकता दिएर नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) २०८० कार्यान्वयनमा ल्याएको छ । त्यसमा पहिलोपटक निर्यात सम्भाव्य सेवाक्षेत्र भनेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँचओटा क्षेत्रलाई समावेश गरेको छ ।

मन्त्रालयका अनुसार पर्यटन, सूचना, प्रविधि र इन्टरनेटमा आधारित, जलविद्युत् निर्माण र दक्ष तथा अर्धदक्ष श्रमलाई निर्यात सम्भाव्य सेवाक्षेत्रका रूपमा राखिएको छ । यीमध्ये जलविद्युत् र दक्ष तथा अर्धदक्ष श्रममा आधारित सेवाबाहेक अन्य वर्षाैंदेखि सेवा निर्यात/आयात हुँदै आएका क्षेत्र हुन् । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा भने सेवा क्षेत्रको योगदान वार्षिक रूपमा बढिरहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत वैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार जीडीपीमा सेवाक्षेत्रको योगदान ६२ प्रतिशत पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द कार्कीले सेवा व्यापार बढाउने रणनीति लिइएको जानकारी दिए । ‘मुलुकमा आईटीको ठूलो सम्भावना छ,’ उनले भने, ‘पर्यटन, जलविद्युत् र निर्माण सेवालाई प्रवर्द्धन नै गर्ने गरी मन्त्रालयले नीति लिएको छ । यी क्षेत्रको सम्भावना ठूलो भएकाले निर्यात बढाउन सके अहिले भएको वैदेशिक व्यापारघाटालाई सन्तुलनमा ल्याउन सकिने सम्भावना छ ।’ यसबाट निर्यातको अंकमा समेत सुधार हुने उनको दाबी छ । 

पूर्ववाणिज्य सचिव चन्द्र घिमिरे नेपाल सेवा निर्यात गर्ने अवस्थामा रहेको बताउँछन् । ‘अहिले पनि नेपालले गरिरहेको छ । जस्तै, स्वास्थ्य, शिक्षा, आईटी क्षेत्र छन्,’ उनले उदाहरण दिँदै भने, ‘तर यो नगन्य मात्रामा छ ।’ सेवा निर्यात उच्च सम्भावनायुक्त क्षेत्र भएको तर त्यसलाई अहिलेसम्म उपयोगमा ल्याउन नसकिएको उनले बताए । ऊर्जा व्यापारलाई सबैभन्दा बढी सम्भावनाको क्षेत्र भनेका घिमिरेले आईटी क्षेत्रमा पनि युवा जनशक्ति आइरहेको र स्टार्टअपहरू खुल्ने क्रम बढ्दो अवस्थामा रहेको बताए ।

‘नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले अहिले पनि वस्तु निर्यातमा लजिस्टिक कस्ट बढी छ,’ उनले भने, ‘सेवा निर्यातमा ट्रान्जिट कस्ट संलग्न हुँदैन भने हामीकहाँ प्रतिस्पर्धी क्षमताको पुस्ता छ र अर्काेतर्फ लेबर कस्ट पनि सस्तो भएकाले विश्व प्रतिस्पर्धामा नेपाल माथि नै छ ।’

यसले गर्दा पनि छिटो र छोटो अवधिमै नेपालले लाभ लिन सक्ने उनको भनाइ छ । नेपालबाट हुने सेवा व्यापारमा पर्यटन सदावहार क्षेत्र हो । दक्ष तथा शीपयुक्त जनशक्तिलाई अहिले नेपालले मुख्य केन्द्रमा राखेको मन्त्रालयका अर्का अधिकारीले बताए । निर्यात सम्भाव्य सेवाक्षेत्रको ५ नम्बर बुँदामा दक्ष र अर्धदक्ष श्रम सेवालाई राखिएको ती अधिकारीले बताए । उनका अनुसार सेवा निर्यातको तथ्यांक स्पष्ट छैन । त्यसैले नेपाल राष्ट्र बैंकबाट आउने तथ्यांकलाई आधार मानिएको छ । 

अहिलेको एनटीआईएसको कार्ययोजनामा नराखिए पनि चार्टर्ड एकाउन्टेन्ट (सीए), स्वास्थ्यलगायत अन्य क्षेत्र पनि सम्भावितमा पर्ने उनको भनाइ छ । सीए बढी व्यवस्थित नभएकाले सूचीमा नराखिएको ती अधिकारीले बताए । एनटीआईएस लागू भएको र ५ वर्षमा सेवा निर्यातलाई पनि वस्तु निर्यातको तथ्यांक जस्तै गरेर अभिलेख राख्ने तयारी भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)