ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन मालिकको खोजी तीव्र 

२०८० साउन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं। एक क्वीन्टलभन्दा बढी तस्करीको सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागले समातेपछि तंरग पैदा भएको छ । सुन कसको हो, अनुसन्धान अधिकारीहरूले भेउ पाउन सकेका छैनन् । राजस्व अनुसन्धान र प्रहरी अधिकारीले सुन मालिक खोज्न अनुसन्धानलाई तीव्र पारेको बताइएको छ । 

राजस्व अनुसन्धान विभागका सूचना अधिकृत नवराज अधिकारीका अनुसार सुन तस्करीमा संलग्न भएको आशंकामा ६ जना पक्राउ परेका छन् । सुनको खास मालिक अझै निक्र्योल हुन नसकेको उनले बताए । 

बाइकको १६० सेट ‘ब्रेक शु बनाएर आठओटा प्याकेटमा रेडी ट्रेड प्रालिका नाममा आएको सुनको वजन करीब डेढ सय केजी रहेको प्रारम्भिक परीक्षणबाट देखिएको छ । असार ३० गते शनिवार विमानस्थलस्थित भन्सार गोदाममा पुगेको सुन जडित सामान साउन २ गते मंगलवार भन्सार जाँचपास भएर निस्किएको थियो । लगत्तै राजस्व अनुसन्धान विभागको टोलीले सुनसँगै ट्याक्सी चालक र संंदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । अहिलेसम्म पक्राउ पर्नेमा भन्सार एजेन्ट र एक भारतीय नागरिकसहित ६ जना छन् ।

राजस्व अनुसन्धान विभागका सूचना अधिकृत अधिकारीले नेपाल राष्ट्र बैंक र सुन तौलेपछि वास्तविक परिमाण पत्ता लाग्ने बताए । उनका अनुसार ३२० थान ब्रेक शुमा सुन लुकाएको पाइएको छ । उक्त फर्मले यसअघि २२ पटक सामान आयात गरेको देखिएको छ । अघिल्ला खेपमा के ल्याइएको थियो भन्नेबारे पनि अनुसन्धान हुने बताइएको छ । 

उक्त फर्म दोलखाको मेलुङ गाउँपालिका–१, पवटीका २१ वर्षीय दिलीप भुजेलको नाममा छ । पहिले ज्यामी काम गर्ने र अचेल चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका दिलीप अहिलेसम्मकै ठूलो परिणामको सुन तस्करी प्रकरणमा मुछिएका छन् । 

उनलाई ठूलै तस्करले प्रयोग गरेको हुन सक्ने अनुमान छ । सुन तस्करीका घटनामा प्राय: भरिया पक्राउ पर्छन् । ठूलो परिमाणमा बरामद हुने सुन तस्करीमा धनाढ्यकै लगानी हुने गरेको नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल बताउँछन् । त्यस्ता व्यक्ति भेट्न कठिन हुने खरेल बताउँछनु । ठूला तस्करले राजनीतिको उच्च तहकै संरक्षण पाएका हुन्छन् । नेता, पार्टी र चुनावमा समेत त्यस्ता व्यक्तिले लगानी गरेकाले कुनै न कुनै रूपमा उनीहरूलाई राजनीतिक संरक्षण हुने खरेल बताउँछन् । 

भन्सारका अधिकारीहरू अनुसन्धानमा

यो घटनामा विमानस्थल भन्सार प्रशासन अनुसन्धानमा तानिएको छ । यसबारे बिहीवार गृह मन्त्रालयमा बैठकसमेत भएको छ । बैठकमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसहित उच्च अधिकारीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाकेर सोधपुछ गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अर्थ मन्त्रालय मातहत पर्छ ।

सुन बरामद गरेको विभाग र भन्सार दुवै गृह मन्त्रालयअन्तर्गत पर्दैनन् । भन्सार विभागले आन्तरिक छानबिन गरिरहेको छ । विभागमा महानिर्देशक शोभाकान्त पौडेलले आफूहरूले दैनिक जसो २–३ केजी सुन बरामद गरिरहेको र सुन तस्करी व्यापक रहेको बताए । उनले यो प्रकरणमा दोषी देखिए भन्सारका कुनै पनि कर्मचारीलाई नछाडिने बताए । ‘प्रणालीमा केही खराबी छ कि, एक्सरेमा नदेखिएको हो कि वा मान्छेको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

एक्सरे मेशिन सुन देखाउँदा देखाउँदै छोडेको भए कर्मचारीको संलग्नता हुने र त्यसमा विभाग निर्मम रूपमा प्रस्तुत हुुने उनले बताए ।

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रवक्ता तथा प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालका अनुसार बिहीवार मध्याह्नसम्मको सीसीटीभी क्यामराको फुटेज र एक्सरे रिपोर्टको सूक्ष्म अध्ययन थालिएको छ । 

आरोपित १० दिन थुनामा

सुन प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

सुन प्रकरणमा पक्राउ परेकालाई बिहीवार राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा हाजिर गराएको थियो ।

सुन तस्करी काण्डमा संलग्न एकजना चिनियाँ नागरिकलाई बिहीवार नै त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्यलाई बुधवार साँझ र बिहीवार बिहान विभागले पक्राउ गरेको थियो ।

दोषीलाई कानूनको दायरामा ल्याइनेछ : गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन् । बिहीवार सिंहदरबारस्थित कार्यकक्षमा सुरक्षा निकायका उच्च पूर्वअधिकारीसँगको छलफलपछि उनले दोषीलाई छिट्टै कानूनको दायरामा ल्याउने गरी अनुसन्धान अघि बढाइएको बताए । उनले अध्यागमन विभागमा प्रहरीको उपस्थिति सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने समेत बताए ।

अर्थ मन्त्रालयसँग समन्वय गरेर यो काम अघि बढाउने उनको भनाइ छ । ‘यस विषयमा अहिले त्यति चर्चा गर्न उपयुक्त ठान्दिनँ । तर, तथ्य के हो भने आगमन पछाडि प्रहरीको कुनै ठाउँमा भूमिका हुँदैन । त्यहाँ कस्टम क्लिअरेन्समा पनि हुँदैन । त्यसकारण हाम्रो छलफल पहिलादेखि नै शुरू भएको थियो कस्टममा क्लिअरेन्समा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन गर्न उचित हुन्छ भनेर,’ उनले भने, ‘हामीले यसअगाडि नै प्रस्ताव राखिराखेका छौं । हामीले अवैधानिक रुपमा भित्रिएका, कतिपय ट्रकमा ल्याइएका सामान पनि प्रहरीले पक्रेर बुझाउँदा सम्बद्ध निकायले प्रहरीकै रोहवरमा खोलिदिए उपयुक्त हुन्छ भनेर प्रस्ताव पनि अर्थ मन्त्रालयसँग गरिसकेका थियौं ।’ 

उनले यसबारे अहिलेसम्म भएको कार्य विभाजनलाई नयाँ ढंगले छलफल गरेर, समन्वय गरेर अगाडि बढाउनु उपयुक्त हुने बताए । यो घटनाको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि प्रधानमन्त्रीले समेत निर्देशन दिएको श्रेष्ठले बताए । निर्दाेष नफस्ने गरी स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी अनुसन्धान हुनपर्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)