काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठान र मित्र समाजसँग आँखा रोगको पहिचान तथा उपचारमा सहकार्य गरेको छ । यी दुई संस्थामार्फत आँखासम्बन्धी रोगको पहिचान तथा उपचारका लागि बैंकले रू. १ करोडभन्दा बढी सहयोग गरेको हो ।
बैंकले तिलगंगा आँखा प्रतिष्ठान नेपालअन्तर्गत आँखा कार्यक्रमका लागि रू. ४७ लाख ९० हजार सहयोग गरेको छ । उक्त रकम पर्साको निचुटास्थित सामुदायिक आँखा केन्द्र स्थापना र पतेर्वा सुगौली गाउँपालिका–५ आसपासमा नागरिकको आँखा उपचार सेवामा खर्चिने बताइएको छ । कार्यक्रमले त्यस क्षेत्रका विशेषगरी वृद्धवृद्धा, महिला, बालबालिका र अपांगता भएका व्यक्तिको आँखा उपचारमा प्राथमिकता दिनेछ । कार्यक्रमबाट एक वर्ष अवधिमा ७ हजार २०० नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
त्यसैगरी बैंकले मित्र समाजलाई मोतियाबिन्दु तथा अन्धोपन निवारण परियोजना सञ्चालनका लागि ६७ लाख २५ हजार सहयोग गरेको छ, जुन रकम दुर्गम क्षेत्रका ५० वर्ष माथिका नागरिकको मोतियाबिन्दु पहिचान र अन्धोपनाबाट बचाउन खर्च गरिनेछ । यो परियोजनाबाट ३ हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा बैंकका कर्पोरेट अफेयर्स, ब्रान्ड एण्ड मार्केटिङ प्रमुख हर्ष पिल्लैले उक्त सहयोगले आँखाको सहज उपचार गर्न नसक्ने वा नपाउने व्यक्ति लाभान्वित हुने बताए । सबै नागरिकलाई उपलब्ध गराइने आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति सहज बनाउन बैंकले सहयोग गरेको उनको भनाइ छ ।
तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले निचुटा क्षेत्रका विपन्न नागरिककोे हितमा रकम खर्च हुने विश्वास व्यक्त गरिन् । यस्तै मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीले आँखा रोगको पहिचान तथा उपचारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सहयोग महत्वपूर्ण रहेको बताए ।