ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवमा सुन आयात ३ वर्षयताकै कम, अघिल्लो आवभन्दा ४२ प्रतिशत घट्यो

२०८० साउन, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) ०७९/८० मा उक्त मूल्यको २९ लाख १६ हजार ५८६ ग्राम पहेंलो धातु नेपाल भित्रिएको हो । सुन आयातको परिणाम अघिल्लो आवभन्दा ४२ प्रतिशत कम हो । आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब रुपैयाँको ५० लाख ५३ हजार ग्राम सुन आयात भएको थियो । 

गत आवको सुन आयात परिणामका हिसाबले पछिल्लो ३ वर्ष (आव २०७७/७८) यताकै कम हो । (हेर्नुस् तालिका)

६ वर्षमा सुन आयात

स्रोत : भन्सार विभाग 

सुन आयात घटेसँगै यसबाट सरकारले पाउने राजस्व पनि घटेको छ । अघिल्लो आवमा सुन आयातबाट ४ अर्ब २९ करोड राजस्व संकलन भएकोमा गत आवमा त्यो रकम २ अर्ब ५३ करोड रुपैयाँ मात्रै छ । 

युएईबाट भित्रियो सबैभन्दा धेरै

गत आवमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), स्विट्जरल्याण्ड, टर्की र उब्जेकिस्तानबाट सुन आयात गरेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै सुन यूएईबाट नेपाल भित्रिएको छ । सो आर्थिक वर्षमा यूएईबाट १८ अर्ब ९१ करोडको २४ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको हो ।

त्यसैगरी, टर्कीबाट २ अर्ब ७२ हजार रुपैयाँको ३ लाख ५० हजार ग्राम, स्विट्जरल्याण्डबाट ७० करोड ९९ हजारको १ लाख ग्राम र उब्जेकिस्तानबाट २ लाख ८० हजारको ४० ग्राम सुन नेपाल भित्रिएको छ ।

'कोटा प्रणालीको असर'

नेपाल सुन चाँदी व्यवासायी महासंघका अध्यक्ष मणिकरत्न शाख्य सुन आयातमा कोटा प्रणाली राखिएकाले आयात घटेको बताउँछन् । 'सरकारले अहिले पनि सुन आयातको कोटा दैनिक १० किलो राखेको छ । त्यसैले आयात घटेको हो,' उनले भने, 'हामीले सुन आयातमा १० किलो कोटा हटाउन सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।' 

आर्थिक मन्दीका कारण बजार घटेकाले अहिले माग धानिरहेको उनको भनाइ छ । ‘सुन बजार स्लो भएकाले अहिलेसम्म बजारको माग धानिरहेको अवस्था छ,’ उनी भन्छन् । 

पाँच वर्षमा मूल्य दोब्बर

सुनको मूल्य पाँच वर्षमा दोब्बरले बढेको छ । २०७५ साउन १० मा सुनको मूल्य प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजको दिनमा सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव आए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ । गत वर्ष पुस १ गते प्रतितोला ९९  हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्य साउन ४  गते अहिलेसम्मकै सर्वाधिक तोकिएको छ । उक्त दिन सुन तोलाको १ लाख १३  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)