ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक क्वीन्टल सुन प्रकरण: अर्थ र गृहमन्त्रीको राजीनामा माग

२०८० साउन, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन तस्करी भएको विषयले संसद् तातेको छ । सांसदहरूले सरकारको कमजोरीका कारण खुलेआम सुन तस्करी बढेको भन्दै संसद् बैठकमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदहरूले बुधवार संसद् बैठकमा अवरोध गरे । प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले सम्बोधन गरेका थिए । उनले कर्मचारीको सेटिङले मात्रै सुन तस्करी नभएको बताए । रेडी ट्रेडले ३३ पटक विभिन्न नाममा क्वीन्टलका क्वीन्टल सुन ल्याएको उनको दाबी थियो । ‘यसरी भइरहेको सुन तस्करीलाई संरक्षण गर्ने काम गृहमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीले गर्नुभएको हो कि होइन ?’ गिरीले प्रश्न गरे । गिरीले संसद्बाट उच्चस्तरीय छानबिन समिति गठनको रुलिङ गर्न सभामुख समक्ष माग गरे ।

उनले गृहमन्त्री पदमा बस्नयोग्य नरहेको आरोपसमेत लगाए । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो । ‘उहाँ अब कुन नैतिकताको आधारमा त्यो पदमा बस्न सुहाउँछ ?’ उनले प्रश्न गरे । 

सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

‘उहाँहरूले यो अनुसन्धानलाई सहज बनाउन अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक अभ्यासलाई कदर गर्नुपर्छ,’ प्रतिनिधिसभाको बैठकमा उनले भने । गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनशन बस्ने चेतावनी उनले दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरे । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाए ।

‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे, ‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’ उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाए ।

‘भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै नियन्त्रणमा लिन सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ?’ उनले भने । उनले सुन तस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए । आफ्नो पार्टीले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिए पार्टीले अर्काे कदम चाल्ने लामिछानेले चेतावनी दिए ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकालाई कारबाही गर्ने जिकीर गरे । ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो पारिँदै छ । भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ । माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्,’ सांसद पौडेलले भने, ‘बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस् । माछो ठूलो सानोको प्रसंग होइन ।’

नेकपा एमालेका सांसद ठाकुर गैरेले सुन तस्करी प्रकरणमा प्रतिपक्षको आवाजलाई सरकारले बेवास्ता गरेको बताए । ‘हाम्रो अन्तरराष्ट्रिय विमानस्थलबारे प्रश्न उठिरहेको छ । यसबारेमा सभामुखबाट रुलिङ हुनुपर्ने थियो,’ उनले भने, ‘केही समयअघि यही संसद्मा पशुपतिनाथमा चढाइएको जलहरीलाई सुन होइन पित्तल हो भनियो । विमानस्थलबाट सहज ढंगले निस्किएको सुन कसको हो, कसले ल्याएको हो छानबिन हुनुपर्छ ।’ 

उनले तस्करीको सुन बरामद भएकै दिन विमानस्थलस्थित अधिकारीको बिदाबारे पनि प्रश्न उठाए । ‘जुन दिन तस्करीको सुन विमानस्थलबाट निस्कियो, अर्थ मन्त्रालयका प्रतिनिधिले किन बिदा लिए ? गृहका प्रतिनिधिले किन बिदा लिए ?’ उनले भने, ‘अर्थमन्त्रीले मैले सुन पक्रिनेलाई पुरस्कार दिन्छु भनेकाले समातेको हो भन्नुभयो । त्यसो भए त्यो सुनको पुरस्कार पाउने को हो ? सार्वजनिक गरिनुपर्छ ।’ उनले २० हजार लिएर कम्पनी खोल्न दिने मान्छे सुन तस्करीको नाइके नहुने बताए । 

‘पशुपतिनाथको जलहरीलाई विवादमा ल्याउने योजना बनाएर सरकार नै सुन तस्करीमा लागेको देखियो,’ उनले भने, ‘विषयवस्तुलाई अन्त मोडेर सरकार नै तस्करीमा लाग्यो । एउटै कम्पनीले ३३औं पटकसम्म सामान ल्याएको छ । तर त्यसअघि २२औं पटकमा समातिएन, ३२औं पटकमा समातिएन । किनभने यो सरकारकै मान्छेको योजनामा भएको थियो ।’

उनले विमानस्थलमा सुरक्षा र भन्सारको जिम्मा पाएकाले सुन समात्न नसक्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा आइसक्नुपर्ने बताए । ‘सुन बरामद भइसकेपछि गृहमन्त्रीले पद छाड्नुपथ्र्याे । अर्थमन्त्रीले पनि हाम्रो निकायले सुन पक्रिन सकेन अनि पदमा बस्दिन भन्नुपथ्र्यो,’ उनले भने, ‘नैतिक रूपमा अर्थमन्त्री र गृहमन्त्री भइरहन मिल्छ ? आदर्शको कुरा गर्नेले त्यो आदर्शको पालना गर्नुपर्छ कि पर्दैन ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको दाबी गरे । ‘डेढ क्वीटल सुन विमास्थलबाट बाहिरिनु सामान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउन यसको जरासम्म पुग्नुपर्छ,’ उनले सदनमा भने, भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा पनि सरकार जरासम्म पुग्न उद्यत छैन ।’

सुन तस्करीको सूचना दिने स्रोतले को को संलग्न छ भन्ने खुलाउन सक्ने बताउँदै उनले कसैलाई देखाउनकै लागि यो सुन पक्राउ गरेको आरोप लगाए ।

उनले भने, ‘नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको छ । सम्बद्ध अरू देशको दबाबले यो पक्राउ परेको कुरा आएको छ । भरियालाई पक्रेर नाइकेलाई जोगाउने काम नगरोस् । अनुसन्धानलाई सशक्त ढंगले अगाडि बढाओस् । यसबारे छानबिन आयोग बनाउनुपर्छ ।’ लिङ्देनले नेपाली सेनाको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने समेत बताए । खर्च कटौती गर्ने भए सेना नभएर जनप्रतिनिधि घटाउनुपर्ने उनको भनाइ थियो । 

प्रतिनिधिसभाको बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक ५ दिनका लागि स्थगित भएको जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)