काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिकोत्सवको अवसरमा बैंक अन्तर्गतको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत विभिन्न कार्यक्रम गरेको छ । वातावरण, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ । संस्थाले अपांगता भएका १५ जना बालबालिकालाई इनेबल नेपालसँगको सहकार्यमा कृत्रिम हात प्रदान गरेको छ । उक्त कृत्रिम हात ‘थ्रीडी प्रिन्टेड प्रोस्थेटिक’ रहेकाले बालबालिकालाई दैनिक जीवनका सामान्य काम गर्न मद्दत पुग्ने संस्थाको भनाइ छ । त्यस्तै संस्थाले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा १५ स्थानमा स्वास्थ्य सम्बन्धी सेचतना कार्यक्रम गरेको बताइएको छ । त्यस्तै धनगढीमा वृक्षरोपण र रूपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा ५० थान डस्टबिन वितरण गरेको छ । विभिन्न शाखामा रक्तदान कार्यक्रम र लमजुङस्थित अपांग संरक्षण समाजलाई सहयोग सामग्री हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ ।