ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकासँगको व्यापार पाँच वर्षपछि नाफामा, १७० देशमध्ये १३२ सँगको व्यापार घाटामै

२०८० साउन, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालले अमेरिकासँग ५ वर्षपछि व्यापार नाफा गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव)मा अमेरिकासँगको व्यापार नाफामा गएको हो । सो आवमा नेपालले अमेरिकासँग १४ करोड ६५ रुपैयाँ व्यापार नाफा गरेको छ ।

विभागका अनुसार गत आवमा नेपालबाट अमेरिकामा १९ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ भने अमेरिकाबाट १९ अर्ब ४२ करोडको सामान आयात भएको छ ।

गत आवभन्दा अघि पछिल्लो पटक आव ०७३/७४ मा नेपालले अमेरिकासँग व्यापार नाफा गरेको थियो । त्यसयता पाँच आवमा नेपालको अमेरिकासँगको व्यापार घाटामा थियो । 

अमेरिकासँग ६ वर्षको वैदेशिक व्यापार (रू हजारमा)

स्रोत : भन्सार विभाग

गत आवमा नेपालबाट अमेरिका निर्यात भएका वस्तुमध्ये सबैभन्दा धेरै रकम भित्र्याउनेमा गलैंचा, फेल्टका सामग्रीलगायत छन् ।  तीमध्ये गलैंचा निर्यातबाट मात्रै ७ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी भित्रिएको छ । यस्तै फेल्टका सामान २ अर्ब ४४ करोडको निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । 

अमेरिकाजस्तो मुलुकमा नेपाली सामान निर्यात हुनुले यी सामानको गुणस्तर राम्रो रहेको देखिएको विज्ञ बताउँछन् । यसले नेपाली उद्यमीको क्षमता पनि देखाएको ती विज्ञको भनाइ छ ।

गत आवमा अमेरिका निर्यातबाट सर्वाधिक रकम भित्र्याउने १६ वस्तु

स्रोत : भन्सार विभाग

'व्यापार थप सुधार गर्न अमेरिकासँग पहल गर्नुपर्छ' 

अमेरिकन चेम्वर अफ कमर्शका महासचिव गान्दी पन्डित गत आवमा नेपालको अमेरिकासँगको व्यापार केही सुधार भएको बताउँछन् । 'लामो समयदेखि व्यापार घाटा रहेको अमेरिकासँगको व्यापार सुधारले वैदेशिक व्यापारमा पनि सुधार गर्न सकिन्छ भन्ने आशा देखिएको छ,' उनले भने । 

तर, अमेरिकासँगको व्यापार थप सुधार गर्न आवश्यक रहेको उनी बताउँछन् । यसका लागि नेपाल सरकारले अमेरिकी सरकारसँग पहल गर्नुपर्ने उनको सुझाव छ । यससँगै अमेरिकी लगानी भित्र्याउन पनि सरकारले पहल गर्नुपर्ने उनी सुझाउँछन् । 'नेपालमा अथाह सम्भावना छ,' उनी भन्छन्, 'एमसीसीमा पनि लगानी आएको थियो । तर, सम्भावना भएजति लगानी ल्याउन सकेनौं ।' 

यस्तै, निर्यातको सम्भावना भएको वस्तुको पहिचान गरी अमेरिका पठाउनुपर्ने उनको सुझाव छ । अमेरीकाले सन् २०१५ देखि ७७ ओटा वस्तुको निर्यातमा भन्सार छूट दिएको छ । 'त्यस्ता वस्तुको उत्पादन बढाउनुपर्छ । त्यस्तै नेपालले निर्यात हुने वस्तुलाई सहुलियत दिन अमेरिकी सरकारसँग पहल गर्नुपर्छ,' उनले भने । 

विज्ञहरू पनि नेपाल सरकारले पहल गरे अमेरिकामा निर्यातको आकार अझै बढ्ने बताउँछन् । 

१७० देशसँग वैदेशिक व्यापार, ३८ सँग मात्रै नाफा

विभागका अनुसार नेपालको १७० देशसँग व्यापार हुने गरेको छ । तीमध्ये १३२ देशसँग व्यापार घाटा छ भने ३८ देशसँगको व्यापार मात्रै नाफामा छ । तीमध्ये सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । गत आवमा डेनमार्कसँग नेपालको व्यापार नाफा ५१ करोड २० लाख रुपैयाँ रहेको विभागको तथ्यांक छ । 

सर्वाधिक व्यापार नाफाको सूचीमा अमेरिका दोस्रो स्थानमा छ भने तेस्रोमा नर्वे छ । नर्वेसँग नेपालको व्यापार नाफा ९ करोड ७२ लाख रुपैयाँ रहेको विभागको तथ्यांक छ ।  

नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ । नेपालको भारतसँग मात्रै ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ व्यापार घाटा छ ।

यो सूचीमा दोश्रो नम्बरमा चीन छ । चीनसँग नेपालको व्यापार घाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ छ । यो सूचीमा तेस्रोमा रहेको इन्डोनेसियासँग नेपालको व्यापार घाटा ४१ अर्ब ५१ करोड रुपैयाँ छ । 

कुल वैदेशिक व्यापार भने १४ खर्ब ५४ अर्ब घाटामा

नेपालले गत आवमा १७ खर्ब ६८ अर्बको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)