ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौद्रिक नीतिपछि ५.६९ प्रतिशत घट्यो शेयर सूचक 

२०८० साउन, १५  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेयता शेयरबजारको तथ्यांकीय मापक नेप्से दैनिक रूपमा ओरालो लागेको छ । त्यसयता ५ दिन शेयर कारोबार भएकोमा पाँचै दिन नेप्से ओरालो लागेको छ । यसबीचमा नेप्से ५ दशमलव ६९ प्रतिशत (१२६ दशमलव ८१ अंक) घटेर २ हजार १ सय विन्दुमा आइपुगेको छ । 

साउन ७ गते आइतवार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीतिमा शेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरवलोकन गरिने भनियो । 

लगानीकर्ताले जति रकमको शेयर धितो कर्जा लिए पनि सबैमा जोखिमभार घट्ने अनुमान लगाए । सोही कारण मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढेको थियो । तर, मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले एक जना व्यक्तिका लागि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र १०० प्रतिशत कायम हुने बताए । त्यसको भोलिपल्टदेखि बजार निरन्तर घटिरहेको छ । 

एकथरी लगानीकर्ताले केन्द्रीय बैंक शेयरबजारप्रति सकारात्मक हुन नसकेको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिइरहेका छन् । मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको कारण लगानीकर्ताको मनोबल घटेको उनीहरूको आरोप छ । 

अर्काथरी लगानीकर्ता भने मौद्रिक नीति राम्रो आएको बरु अनावश्यक भ्रम छरेर लगानीकर्तालाई त्रस्त बनाउने काम भइरहेको तर्क गर्छन् । उनीहरूको भनाइमा पहिलेको तुलनामा धेरै सहज बनाउने खालको र राम्रो मौद्रिक नीति आएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन नेप्से परिसूचक ६३ अंक बढेर २ हजार २२७ विन्दुमा पुगेको थियो । त्यस दिन ४ अर्ब ३७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसपछि नेप्से र कारोबार रकम दुवै घटेको छ । पछिल्लो कारोबार दिन आइतवार साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

मौद्रिक नीतिमार्फत लगानीकर्ताले राम्रो अपेक्षा गरेका थिए । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा पहिला केही अनलाइनमा शेयर कर्जाको सीमा र औसत जोखिमभार केही परिमार्जन हुने आशयका समाचार आएका थिए । गभर्नरले पनि समयसमयमा त्यही आशय व्यक्त गर्नुभएको थियो । त्यस्तै वित्तीय प्रणालीमा तरलता सहज भइसकेको थियो । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२ प्रतिशत छ । यसबीचमा लगानीकर्ताले राम्रो आशा गरेका थिए । मौद्रिक नीति आउँदा शेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरवलोकन गरिने भनियो । त्यो दिन बजार ६३ अंकसम्म बढ्यो । तर, गभर्नरले पत्रकार सम्मेलनमा ५० लाखसम्मको शेयर धितो कर्जामा मात्र जोखिमभार १०० प्रतिशत कायम हुने र १२ करोडको सीमा यथावत् रहेको बताउनुभयो ।

त्यसको भोलिपल्ट केही लगानीकर्ता साथीहरूले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरे । यसकारण बजार प्रभावित भएको हो । मौद्रिक नीतिमा पूँजीबजारमा सकारात्मक प्रभाव पार्ने खासै केही आएन । तर, पूँजीबजारलाई नकारात्मक प्रभाव पार्ने कुरा मौद्रिक नीतिमा छैन । लगानीकर्ताले अपेक्षा गरेअनुसार नभएकाले पनि बजार केही प्रभावित भएको हो । बजार अब विस्तारै सम्हालिन्छ जस्तो लाग्छ ।

मौद्रिक नीति सार्वजनिक हुँदा शेयर धितो कर्जाको १५० प्रतिशत जोखिमभार पुनरवोलकन गर्ने भनिएसँगै लगानीकर्ताले जति कर्जा लिए पनि सबैमा जोखिमभार घट्ने बुझेका थिए । तर, त्यसअनुसार भएन । यसकारण पनि बजार घटेको हो । अर्को कारण भनेको बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गर्नु हो । ट्रेडरहरुले प्रोफिट बुक गरेपछि पुन: बजार तल आएपछि मात्रै खरीद बढाउँछन् । बजार प्रभावित हुनुको कारण यो पनि हो । शेयरबजारलाई नकारात्मक प्रभाव पर्ने अरू केही छैन । अब सूचीकृत कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्छन् । म्युचुअल फन्डहरूले लाभांश घोषणा गर्न थालेका छन् । शेयरबजार विस्तारै आफ्नै लयमा फर्किनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)