ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बथनाहा–विराटनगर कार्गो रेल : उद्घाटन भएको २ महीना बित्यो, एउटै आएन

२०८० साउन, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले जेठ १८ गते संयुक्त रूपमा भारतको राजधानी नयाँदिल्लीमा स्वीच थिचेर हरियो झन्डा फहराएपछि भारतको बथनाहाबाट विराटनगर–१८, बुधनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी)को कस्टम यार्डसम्म एउटा मालवाहक रेल (कार्गो रेल) आएको थियो । त्यसपछि लगातार कार्गो रेल आउला भन्ने आशमा रहेका स्थानीय २ महीना बित्दा पनि नआउँदा छक्क परेका छन् ।

विराटनगर–१८, भेडियारीका जगत मण्डल प्रत्येक दिन रेलवे क्रस गरेर विराटनगर बजारमा काम गर्न निस्कन्छन् । दिनमा दुईपटक रेलवे वारपार गर्दा उनको मनमा प्रश्न उठ्छ– किन नचलेको होला 

रेल ?’ यो प्रश्न प्रदेशवासी धेरैसँग छ । त्यसो भए दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल किन चलेन त ?

नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झा कम्पनीले असार १५ गते सूचना प्रकाशित गरी उद्योगी व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर रेलमार्फत कार्गाे ढुवानी गर्न आह्वान गरेको बताउँछन् । तर, उद्योगी व्यवसायीले आवश्यक पूर्वाधार तयार नभएको भन्दै त्यो सूचनालाई नदेखेझैँ  गरे । 

सामान अनलोड गरेपछि राख्ने यार्ड नबनेको, रेलवेको कार्यालय नभएको र भन्सारले जाँचपास प्रक्रियाबारे जानकारी नगराएकाले उद्योगी व्यवसायी नयाँ रुटबाट सामान ल्याउन अनिच्छुक देखिएका छन् । 

त्यसैले उनीहरूले बथनाहाबाट आईसीपीमा नभई जोगवनी रेलवे स्टेशनमै सामान मगाएर अनलोड गरिरहेका छन् । 

रेलवेका साइट इन्जिनीयर रोशन देवले सामान अनलोडका लागि यार्ड बनाउने काम भइरहेको र सामान्य कार्यालयबाट पनि काम सञ्चालन गर्न सकिने बताए । उद्योगी व्यवसायीले कार्गाे ल्याए समस्या नहुने उनले भनाइ छ । 

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रेलवे कम्पनीको कार्यालय काठमाडौंमा रहेको र विराटनगरमा माल मगाउन काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । अध्यक्ष सुराना विराटनगरमा नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले तुरुन्त कार्यालय खोलेर कार्गो रेल ल्याउने काममा सहयोग गर्नुपर्ने बताउँछन् । पूर्वाधारलगायत कुरा चाँडो सम्पन्न गरेर दुवै कम्पनीले विराटनगरमा कार्यालय खोलेपछि कस्टम यार्डसम्म वस्तु ढुवानी गर्न समस्या नहुने उनले बताए । 

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले नयाँ कस्टम यार्डमा सबै सुविधा उपलब्ध नभएकाले आफूले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन जोगवनी रेलवे स्टेशनको यार्डमा पल्टी गरेर ट्रकमार्फत उद्योगमा ल्याइरहेको बताए । राठीले जोगवनीको यार्ड गहिरो ठाउँमा भएको हुँदा सामान्य पानी पर्दा पनि पोखरी बन्ने समस्या रहेको र यसअघि स्पन्ज आइरन पानीमा ढुबेकाले ढुवानी गर्न निकै कठिनाइ भएको बताए । 

कस्टम यार्डमा रेलवे र इन्टरमोडल यातायात विकास समितिको कार्यालयसमेत छैन

स्पन्ज आइरन पानी जमेको ठाउँमा अनलोड गर्दा पानीले यसको स्ट्रेन्थ नष्ट हुने उनले बताए । त्यसैले आईसीपीसम्म कार्गो रेल ल्याउन सरकारी निकायले चासो देखाउनैपर्ने उनको माग छ ।

संघका उपाध्यक्ष विकास बेगवानी सरकारी निकायले कार्गो रेल सञ्चालनमा चासो नदिँदा उद्योगी व्यवसायीलाई मात्रै नभएर नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास कम्पनीलाई समेत घाटा भइरहेकोतर्फ सोच्नुपर्ने बताउँछन् । कार्गो रेल सञ्चालनबाट उद्योगी व्यवसायीलाई लाभ हुने त छँदै छ, यी दुई सरकारी निकायले पनि राजस्व संकलन गर्न पाउँछन् । 

सरकारी निकायको अम्दानी बढाउन पनि कार्गो रेल चाँडो सञ्चालन गर्नुपर्ने उनले बताए ।

संघका सचिव एवं पायोनियर वायरका सञ्चालक अनिल शारडाले कस्टम यार्डसम्म रेलवे सञ्चालनको उद्घाटन भइसक्दा पनि आफूहरूले पुरानै रुटबाट माल ढुवानी गरिरहेको बताए । उनका अनुसार पूर्वका फलाम उद्योगले अझैसम्म भारतको जोगवनी रेलवे स्टेशनको यार्ड प्रयोग गरेर कच्चा पदार्थ ढुवानी गरिरहेका छन् । 

उद्योगी शारडाले सरकारी पक्षले विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तदारुकता नदेखाएको आरोप लगाए । उनले सरकारको यही अकर्मण्यताका कारण जोगवनी यार्डमार्फत कच्चा पदार्थ आयात गर्न बाध्य हुनुपरेको गुनासो गरे ।

शारडाका अनुसार दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेकोे बथनाहा–आईसीपी खण्डमा कार्गो रेल पहिलो दिन आयो, सबैले फोटो खिचाए, त्यसपछि त्यो बन्द भयो । फोटो खिचाउनमात्र उद्घाटन गरिएको हो कि भन्ने भान हुन थालेको बताउँदै सारडाले अगाडि थपे, ‘सरकारका सम्बद्ध निकायले दुई देशका प्रधानमन्त्रीको उद्घाटनलाई नै निष्प्रभावी सिद्ध गरिदिए । दुई–दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको संरचना त सञ्चालन हुने वातावरण बनाइँदैन भने अरू निर्णय कार्यान्वयन हुन्छन् भनेर कसरी विश्वास गर्ने ?’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)