ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान आयात ठप्प 

२०८० साउन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज। चामल निकासी बन्द गरेको भारतबाट धान आयात रोकिएको छ । भारतले वर्ष २०२३ का लागि नेपाललाई दिएको निकासी कोटा सकिएपछि बिहीवारदेखि धान आयात ठप्प भएको हो ।

भारतले यसअघि चामल र धान निकासीमा २० प्रतिशत कर थपेको थियो । उक्त प्रावधानअनुसार २० प्रतिशत कर तिरेर धान आयात गर्न सकिने भए पनि सो प्रक्रियाबाट आयात गर्दा चामल उत्पादन सम्भव नहुने नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । 

‘२० प्रतिशत कर तिरेर ल्याएको धानबाट चामल उत्पादन गर्दा लागत अत्यधिक बढी हुने भएपछि आजदेखि आयातकर्ताले धान भित्त्याएका छैनन्,’ गुप्ताले बिहीवार आर्थिक अभियानसित भने । नेपाल सरकारको आग्रहमा ६ लाख मेट्रिक टन धानको कोटा दिएकोमा उक्त धान आयात भइसकेपछि उताबाट निकासी रोकिएको हो ।

चामल भने कर तिरेर भए पनि आयात भइरहेको थियो । एक क्वीन्टल धानबाट ५० किलो चामल उत्पादन हुने भएकाले धानमा तिरिने २० प्रतिशत करको चामलमा दोब्बर पर्न जाने गुप्ता बताउँछन् । भारतले चामल निकासीसमेत रोकेको अवस्थामा धान आयात ठप्प भएपछि चामलको आपूर्तिमा समस्या हुने भन्दै चामल उत्पादकले सरकारको ध्यानाकर्षण गराएका छन् । 

भारतसँग धानको कोटा थपिदिन पहल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिएको गुप्ताले जानकारी दिए । 

तत्काल कूटनीतिक पहल गरेर निकास निकाल्नुपर्ने उद्यमीहरूले बताएका छन् । नेपालका लागि भारतबाट धानको कोटा कम्तीमा १० लाख मेट्रिक टन पुर्‍याउन आग्रह गर्नुपर्ने माग चामल उत्पादकको छ । सरकारले यसबारे अध्ययन भइरहेको र आवश्यक परिमाण यकीन भएपछि भारतसँग आग्रह गरिने बताएको छ । 

भारतले नेपाललाई गहुँ निकासीमा पनि ५० हजार टनको कोटा तोकेको थियो । सरकारी ढिलासुस्तीका कारण लामो समयसम्म कोटाको गहुँ आयात भएको थिएन । धानमा पनि सरकारले त्यस्तै ढिलाइ गर्ने आशंका आयातकर्तालाई छ । 

१० लाख मेट्रिक टन धान आयात गरे नेपालमा आवश्यक चामल आपूर्ति गर्न सकिने गुप्ताले बताए । धानको मुख्य उत्पादन क्षेत्र मानिएको मधेशमा यो वर्ष सुक्खाका कारण रोपाइँमा ढिलाइ भइरहेकाले उत्पादन घट्ने अनुमान गरिएको छ । तत्काल आयात सहज नबनाए खाद्यान्न संकट उत्पन्न हुने व्यवसायी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)