काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा बैंकले ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा नाफा ३९ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ३० प्रतिशतले घटेको छ । गतवर्ष खुद ब्याज आम्दानीबाट बैंकले ८ अर्ब ८ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले यो शीर्षकमा ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो । सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा २६ दशमलव शून्य ७ प्रतिशतले बढेको छ । गतवर्षको अन्त्यसम्म बैंकले सञ्चालन मुनाफाबापत ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ६० करोड ४४ लाख रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको थियो ।
बैंकको खराब कर्जा भने शून्य दशमलव ३९ प्रतिशत विन्दुले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा २ दशमलव ४८ प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा २ दशमलव शून्य ९ प्रतिशत थियो । त्यस्तै बैंकले गतवर्षको अन्त्यसम्म १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षसम्म १ खर्ब ७३ अर्ब ३१ करोड ४९ लाख कर्जा लगानी गरेको थियो ।
गतवर्षको असार मसान्तसम्म बैंकले १ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष भने बैंकले १ खर्ब ६६ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । गतवर्षको अन्त्यसम्म वितरणयोग्य मुनाफा ४३ दशमलव शून्य १ प्रतिशतले घटेको छ । गतवर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ५२ करोड १७ लाख रुपैयाँ थियो । गतवर्षको वितरणयोग्य मुनाफाबाट बैंकको लाभांश क्षमता १९ दशमलव ८९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै कम्पनीको चुक्तापूँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ सञ्चित गरेको छ ।