ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन वर्षभित्र १२ लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने लक्ष्य

२०८० साउन, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा ३ वर्षभित्र १२ लाख श्रमिकलाई समेट्ने लक्ष्य तय गरेको छ । सरकारले यसै वर्ष तयार गरेर लागू गरेको त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म ५० हजार रोजगारदाता र प्रतिष्ठानलाई सामाजिक सुरक्षा योजनामा समावेश गर्ने र तिनमा कार्यरत १२ लाख श्रमिकलाई कोषमा सूचीकृत गर्ने लक्ष्य छ ।

चालू आर्थिक वर्ष (आव) २०८०/८१ भित्रै १० लाख श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्ने लक्ष्य छ । आव २०८१/८२ सम्ममा ११ लाख र २०८२/८३ भित्र १२ लाख श्रमिकलाई योजनामा समावेश गर्ने भनिएको छ ।

सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको तथ्यांकअनुसार साउन २१ गतेसम्म औपचारिक क्षेत्रमा कार्यरत ४ लाख २९ हजार ९५७ कामदार/कर्मचारी कोषमा आबद्ध भई योगदान गरिरहेका छन् । १८ हजार ११९ रोजगारदाता तथा प्रतिष्ठान कोषको दायरामा आएका छन् । योगदानकर्ताको ३९ अर्ब ६० करोड रुपैयाँ कोषमा जम्मा भइसकेको छ । कोषले हालसम्म ५ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको देखिन्छ । कोषमा पछिल्लो समय सूचीकृत हुने योगदानकर्ताको संख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरू अनिवार्य कोषमा आबद्ध हुनुपर्ने नियम ल्याएपछि सूचीकृत हुनेको संख्या बढ्दै गएको देखिन्छ । 

कोषका अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा गएका २ लाख ६५ हजार ९७० जनाले योगदान गर्न थालिसकेका छन् । यो संख्यासमेत जोड्दा अहिलेसम्म स्वदेश र विदेशका कम्पनीमा काम गरेर योगदान गर्ने श्रमिकको संख्या ६ लाख ९५ हजार ९३३ नाघेको छ ।

सामाजिक सुरक्षा कोषमा सहभागिता बढाउन सरकारले चालू आव २०८०/८१ मै अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई योगदानमा समावेश गराउँदै छ । योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रका व्यक्तिलाई समेट्ने प्रक्रिया छिट्टै शुरू गर्ने सामाजिक सुरक्षा कोषका अधिकारी बताउँछन् । उनीहरूका अनुसार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरिसकेको छ ।

कोषले शुरुआती चरणमा घरेलु, कृषि, निर्माण र यातायात क्षेत्रमा काम गर्ने श्रमिकलाई आबद्ध गराउने योजना बनाएको छ । सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर योगदान गर्न सकिने, स्वरोजगार श्रमिकले पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्न सक्ने, सरकारले तोकेको न्यूनतम रकमको तीन गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था कार्यविधिमा छ । उक्त व्यवस्थाअन्तर्गत योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सन पाउँछ ।

कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीका अनुसार अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिकसरह सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ । कोषले उपलब्ध गराउने कतिपय सुविधामा असीमित दायित्व पनि छ । अनौपचारिक/स्वरोजगार श्रमिकहरू ऐच्छिक रूपमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको छ । मध्यकालीन खर्च संरचनाको लक्ष्य समेट्ने गरी नै कोष अघि बढेको पन्थीले बताए । 

बैंक, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी भने कोषमा आउन मानिरहेका छैनन् । खाइपाई आएको सुविधा नघट्ने सुनिश्चितता नहुँदासम्म उक्त योजनामा सहभागी नहुने उनीहरूको अडान छ । आफूहरू अनिच्छुक हुँदाहुँदै पनि कोषले सहभागी हुन ताकेता गरिरहेपछि बैंक, वित्तीय क्षेत्रका कर्मचारी अदालत पुगेका छन् । उक्त मुद्दाको छिनोफानो हुन बाँकी छ । यसले गर्दा कोषले योगदानलाई बाध्यात्मक बनाउन सकेको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)