काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट गरिएको छ । विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि यसअघि खुलेको सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर बाँडफाँट गरेको हो । जारी पूँजी ३ अर्ब ७५ करोडमध्ये ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्तामा १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर अंकित मूल्य १०० मा प्रिमियम बापत १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँको दरमा आईपीओ खुलाइएको थियो ।
सोमवार क्यापिटलको कार्यालयमा भएको बाँडफाँटअनुसार न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ आवेदकलाई मागबमोजिम नै १ लाख ५४ हजार ९९० कित्ता शेयर प्रदान गरिएको बताइएको छ । त्यस्तै, ५० देखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ आवेदकलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता शेयर प्रदान गरिएको क्यापिटलले जानकारी दिएको छ । सो बाँडफाँटपश्चात् बाँकी रहेको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० देखि २ हजार कित्तासम्म माग गर्ने आवेदक मध्येबाट निर्देशिका बमोजिम गोलाप्रथा गरिएको बताइएको छ । गोलाप्रथा विधिद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जनालाई १ लाख ८० हजार २९० कित्ता बाँडफाँट गरिएको छ ।