ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुग्लिन–नारायणगढको विकल्प त्रिशूलीपारिको सडक: बजेट नहुँदा कार्यान्वयनबाट पछि हट्यो भौतिक मन्त्रालय

२०८० साउन, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। मुग्लिन–नारायणगढ खण्डको विकल्पमा निर्माण गरिने त्रिशूलीपारिको सडक योजनाको कार्यान्वयनबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पछि हटेको छ । वर्षेनि वर्षायाममा पहिरोका कारण यो खण्डमा निकै सास्ती भएपछि मन्त्रालयले त्रिशूलीपारिको सडक प्रयोग गर्न सकिने गरी अघि बढाएको उक्त योजना बजेट अभावले रोकिएको हो ।

यो सडक योजनाका लागि मुआब्जा र निर्माणमा उस्तै–उस्तै लगानी आवश्यक पर्छ । मुआब्जा वितरणमै अधिक रकम खर्चिनुपर्ने भएपछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक निर्माण कार्यान्वयनबाट पछि हटेको हो । 

मन्त्रालयका सहसचिव ई.अर्जुनजंग थापाले प्रस्तावित उक्त सडक बनाउन र मुआब्जा दिन झन्डै २० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको जानकारी दिए । तर, बजेट नहुँदा सडक निर्माणको योजना मन्त्रालयले अहिले ‘ड्रप’ नै गरेको उनले बताए । 

कुल ३७ किलोमीटर (किमी) को यो सडक बनाउन शुरूमा विश्व बैंकले सहयोग गर्ने भने पनि मुआब्जाका लागि भने नेपाल सरकारले नै लगानी गर्नुपर्ने थियो । मुआब्जामा नै अधिकतम १० अर्ब रुपैयाँ लाग्ने भएपछि योजना कार्यान्वयनबाट मन्त्रालय पछि हटेको थापाले बताए । हाल निर्माणाधीन नागढुंगा सुरुङमार्गका प्रभावितलाई मुआब्जा दिएकै रेटमा त्यस क्षेत्रमा मुआब्जा दिने गरी मूल्यांकन गरिएको थियो । ‘यस हिसाबले मुआब्जामा मात्रै उक्त रकम खर्चिनुपर्ने देखिएको छ । ‘मुआब्जामै अर्बाैं रकम खर्च गरेर सडक बनाउन सक्ने अवस्था अहिले सरकारसँग भएन,’ थापाले भने ।

यो सडक बनाउन सडक विभागले प्रारम्भिक डिजाइन भने तयार गरेको छ । डिजाइन, सम्बद्ध क्षेत्रका गाउँपालिकासँगको सहकार्यमा तयार भए पनि ट्र्याक योजनामा थप काम अघि बढ्ने सकेको छैन । 

त्रिशूली नदीको पल्लो किनारामा बनाइने यो सडकमा बढी मोटरेबल पुल बनाउनुपर्ने हुँदा पनि लागत बढी पर्ने उनको भनाइ छ । प्रस्तावित सडक योजनाको पूर्वतर्फको खण्डमा १९ ओटा र पश्चिमतर्फ २२ ओटा पुल बनाउनुपर्ने प्रारम्भिक डिजाइन छ । 

यो सडकका लागि मन्त्रालयले शुरू बिन्दु भने नागढुंगा र अन्तिम बिन्दु फिस्लिङ तय गरेको छ । नागढुंगास्थित खत्रीपौवादेखि धार्केसम्म १२ किलोमीटर छ । धार्केबाट फिस्लिङसम्म २५ किलोमीटरसम्म यो सडक बन्नेछ । मुआब्जाबाहेक सडक निर्माणमा अधिकतम १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । यो सडक २ लेनको बनाउने मन्त्रालयको योजना छ । ‘साविकको मुग्लिन–नारायणगढ सडक विस्तार गरेर ४ लेनको बनाउँदा थप पहिरो र अन्य भौगर्भिक जोखिम पनि थपिन्छ,’ थापाले भने, ‘दीर्घकालीन रूपमै यो सडक बनाउनुको विकल्प छैन ।’

नारायणगढदेखि मुग्लिनसम्म र मुग्लिनको पल्लोपट्टी (पारि) हुँदै नौबीसे हुँदै सडक निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल पनि भइसकेको छ । यसका लागि मन्त्रालयले विश्व बैंकको सहयोगमा विशालटार (बेनीघाटभन्दा अगाडि)देखि फिस्लिङ (जोगिमारा चितवन कुरिनटारभन्दा यता) सम्म सडक सर्वेसमेत गरिसकेको छ । मन्त्रालयले ठेक्कापट्टाको काम अघि बढाउन ईआईए पनि गरिसकेको भए पनि बजेट नभएपछि योजना कार्यान्वयन हुन सकेको छैन ।

नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलबाटै तल धुनीबेँशी गएर धार्केसम्म जोड्ने र त्यसको पारिपारि हुँदै मुग्लिन खण्डसम्मै सडक बनाउने गरी योजना बनाई अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्षलगायत मन्त्रालयका अधिकारीले डेढ वर्षअघि साइट अवलोकन पनि गरेका थिए । त्यस क्रममा अहिले प्रस्तावित सडकको ट्र्याक स्थानीय गाउँपालिकाहरूले खोलिदिने र त्यो ट्र्याकलाई संघीय मन्त्रालयले २ लेनको सडकमा विस्तार गर्ने योजना बनेको थियो । 

गाउँपालिकाहरूले सडकको ट्र्याक खोलेका छन् । कुरिनटारदेखि मुग्लिनसम्मको खण्डमा भने ट्र्याक खोल्न बाँकी छ । प्रस्तावित यो खण्डमा भीर र जंगल भएकाले ट्र्याक खोल्न बाँकी रहेको हो । बाँकी धेरै स्थानमा स्थानीय गाउँपालिकाबाट काम भइरहेको छ । त्यसलाई मन्त्रालयले टेकओभर गरेर २ लेनको सडक बनाउने योजना अहिले कार्यान्वयनमा ल्याउन सकिएको छैन । 

मन्त्रालयका अनुसार मुग्लिन–नारायणगढ खण्डमा ४४ स्थानबाट पहिरो जानसक्ने भनेर पहिचान भएको थियो । त्यसअनुसार पहिरो रोकथामका लागि विभिन्न प्रविधिको प्रयोगबाट करीब ४० स्थानबाट जाने पहिरो नियन्त्रण नै गरिएको छ । बाँकी ४ स्थानबाट जाने पहिरो नियन्त्रण गर्न नसकिएको मन्त्रालयले उल्लेख गरेको छ । मौरीखोला, ४ किलोको पहिरो, १४ किलो र २६ किलोको पहिरो भने नियन्त्रण गर्न अझै सकिएको छैन ।

४ किलोमा ४०० मीटरमाथिबाट पहिरो आएको हुँदा पर्ख र हेरको अवस्था हो । त्यस ठाउँमा पहिरो रोकथामका लागि काम गर्न भने धेरै खर्चिलो हुने थापाको भनाइ छ । अहिले पहिरो झरेलगत्तै त्यसलाई सोहोरेर बाटो खुला गर्नेबाहेक अन्य विकल्प नभएको उनले बताए । मौरीखोलामा १५ वर्षअघि जाइकाले चेक ड्याम बनाएर पहिरो नियन्त्रणमा आएको भए पनि ३/४ वर्षदेखि भने त्यहाँ पहिरो जाने क्रम रोकिएको छैन । 

जाइकाले त्यसबेला प्रयोग गरेको प्रविधिबाट नै मौरीखोलाको पहिरो नियन्त्रण गर्ने योजना अघि बढाउने तयारीमा मन्त्रालय छ । आगामी वर्षको वर्षायामका लागि आउँदो हिउँदमा पहिरो नियन्त्रणको काम गर्ने मन्त्रालयको योजना छ । यो स्थानमा गतवर्ष मात्रै पनि पहिरो जाने कुनै संकेत देखिएको थिएन । तर, यो वर्ष गएको छ । 

वर्षायाम शुरू हुँदै गर्दा मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रा गर्ने यात्रुवाहक सवारीसाधनदेखि अन्य सवारीका लागि पनि यो खण्ड पार गर्न ठूलो सास्ती हुने गर्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)