ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेको नीति तथा कार्यक्रम प्रणाली विकास प्राथमिकतामा

२०८० साउन, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। नेपालको एक मात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यस वर्षको नीति तथा कार्यक्रममा प्रणाली विकास तथा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको छ । नेप्सेले यस वर्ष प्रणाली विकास तथा व्यवस्थापनसँगै कर्मचारी तथा संगठन व्यवस्थापन, पूूँजी बजार सचेतना, भौतिक पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापन, संस्थागत सुशासन सुदृढीकरण, अध्ययन अनुसन्धान, कारोबार अनुगमन तथा सुपरिवेक्षण, विनियम तथा कार्यविधि तर्जुमा एवम् परिमार्जन र जोखिम व्यवस्थापन तथा अनुपालनका शीर्षकमा विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ ।

धितोपत्र दोस्रो बजारलाई अनलाइन प्रविधिमार्फत सबै नेपालीलाई सहज रूपमा विश्वभरबाट कारोबार गर्न सक्ने अवसर प्रदान गर्दै आएको नेप्सेले यस वर्ष प्रणाली विकासका लागि अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर किन्ने योजना अघि सारेको छ । नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मत सम्भार सम्झौता गर्ने योजनासमेत नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा रहेको छ । कार्यालय उपकरण सञ्चालनका लागि आवश्यक लाइसेन्स, सफ्टवेयर, हार्डवेयर किन्ने योजना पनि नेप्सेको रहेको छ । नेप्सेले नयाँ डेटा सेन्टर निर्माण गर्ने कार्यक्रमसमेत यस वर्ष समेटेको छ ।

डिम्याट खाता खोल्नेको संख्या ५८ लाखभन्दा बढी पुगिसकेको र धितोपत्र दोस्रो बजारमा समेत १६ लाखभन्दा बढी लगानीकर्ता सहभागी भइसकेको अवस्थामा प्रविधिको विकासलाई नेप्सेले विशेष प्राथमिकतामा राखेको सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ । 

विगत २ वर्षदेखिको आईपीओ निष्कासनको योजनालाई समेत यस वर्ष पूरा गर्ने योजनामा नेप्से रहेको जानकारीसमेत पराजुलीले दिएका छन् । अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी आईपीओ जारी गर्ने पराजुलीको भनाइ छ । हाल नेप्सेको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । नयाँ स्टक एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्डले ३ अर्ब चुक्ता पूँजीको व्यवस्था गरी लाइसेन्स वितरणको तयारी भइरहेको छ । यो व्यवस्था नेप्सेका लागि लागू नभए पनि प्रतिस्पर्धी रूपमा अघि बढ्न पनि नेप्सेले आईपीओ जारी गरी सर्वसाधारणको समेत स्वामित्व कायम गर्न आवश्यक देखिन्छ ।

नेप्सेको नीति तथा कार्यक्रममा समेटिएका महत्त्वपूर्ण बुँदा :

  •  अन्तरराष्ट्रियस्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर खरीद गर्ने, 
  •  नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मत सम्भार सम्झौता गर्ने,
  •  नयाँ डाटा सेन्टर निर्माण गर्ने, 
  •  एसएमईज प्लेटफर्म सञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने,
  •  अर्थ मन्त्रालयबाट स्वीकृति लिई आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने, 
  •  इन्ट्रा डे तथा ओटीसी बजार विस्तारसम्बन्धी अध्ययन गर्ने र
  •  प्रदेश तथा स्थानीय सरकारले जारी गर्न सक्ने ऋणपत्रसम्बन्धी अध्ययन गर्ने ।

नेप्सेले इन्ट्राडे ट्रेडिङ तथा ओटीसी बजार विस्तार गर्ने नीतिसमेत यस वर्ष लिएको छ । यसका लागि अध्ययन गर्न परामर्शदाता छनोट र परामर्शदाताबाट अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्ने योजना नेप्सेको छ । ओटीसी बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली संशोधन गर्ने कार्यक्रमसमेत नेप्सेले यस वर्षका लागि तय गरेको छ । यसका साथै जोखिम व्यवस्थापन तथा सम्पत्ति दायित्वसम्बन्धी कार्यविधि, २०७६ मा संशोधन, एसएमईज प्लेटफर्म सञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने योजना पनि नेप्सेको छ । नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारले जारी गर्न सक्ने ऋणपत्रसम्बन्धी अध्ययन गर्ने उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)