काठमाडौं । नेपालको पश्मिना निर्यात गत आर्थिक वर्ष (आव) २०७९/८० मा १५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार गत वर्ष नेपालले ३ अर्व २४ करोड रुपैयाँको पस्मिना निर्यात गरेको छ । नेपालले उक्त मुल्यको १८ लाख ५० हजार ५०२ पिस पस्मिना निर्यात गरेको हो । नेपालको निर्यातमा अहिले नै सुधार आइसकेकाले आउने दिनहरुमा निर्यात अझै बढ्ने व्यवसायी बताउँछन् ।
विभागले आर्थिक वर्ष २०७८/७९ मा २ खर्व ८२ करोड रुपैयाँको ५८ लाख ७३ हजार ३२२ पिस पस्मिना निर्यात गरेको थियो । विभागका अनुसार गत आवमा नेपालबाट निर्यात हुने वस्तुको १२ औं स्थानमा पस्मिना रहेको छ ।
बढ्दो व्यापारघाटालाई पश्मिना निर्यातमा भएको वृद्धिले नेपाली अर्थतन्त्रका लागि सकारात्मक संकेत पनि गर्छ । यसले स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजारमा निकै माग रहेको देखाउँछ ।
६ वर्षको पस्मिना निर्यात
आव | परिणाम (पिस) | मूल्य (रु हजारमा) |
74/75 | 3863012 | 2485156 |
75/76 | 2988755 | 2514200 |
76/77 | 1479255 | 2267949 |
77/78 | 1307479 | 2700083 |
78/79 | 5873322 | 2821131 |
79/80 | 1850502 | 3249301 |
स्रोत: भन्सार विभाग
नेपाल पस्मिना उद्योग संघका अध्यक्ष विजय कुमार दुगड कोभिड पछि पस्मिना उद्योगमा धेरै सुधार आएको बताउँछन् । दुगडका अनुसार अहिले नेपाली पस्मिनाको व्यापार विदेशि मुलुकहरुमा मात्र नभएर नेपाल भित्रै पनि सुधार आएको छ । नेपालमा कोभिड पछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेसँगै ठमेल, पाटन, पोखरा जस्ता पर्यटकिय गन्तव्यहरुमा पस्मिनाको व्यापार बढेको छ, उनले भने ।
नेपालको निर्यातमा पनि सुधार आएको उनी बताउँछन् । ‘विगतका वर्षहरुमा नेपालबाट सल र स्कार्फमात्र निर्यात हुने गरेको थियो । तर अहिले निर्यातको प्याटर्न परिवर्तन भएको छ । अन्तराष्ट्रिय बजारमा सल र स्कार्फको मात्र नभएर बुनाइको स्वेटर, मोजा, ब्लाउज लगायत क्षण्डै २० ओटा बुनाइको वस्तुहरुको माग पनि बढेको छ’, उनले भने ।
दुगडका अनुसार नेपाली पस्मिना अमेरिका, जापान र अन्य युरोपियन मुलुकहरुमा बढी निर्यात हुने गरेको छ । दुगड नेपालको पस्मिना निर्यातमा ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ को पनि महत्वपूर्ण भूमिका रहेको बताउँछन् । सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित 'पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति' ल्याएको छ ।
उक्त रणनीति अन्तर्गत नै सरकारले नेपालमा नै पस्मिनाको धागो उत्पादन बढाउन मुस्ताङ, मनाङ, डोल्पा लगायतमा च्याङ्ग्राको ऊन संकलन केन्द्र पनि सुरु गरेको छ । त्यहाँको किसानहरुलाई च्याङ्ग्राबाट ऊन कसरी निकाल्ने भनेर विदेशबाट विज्ञहरु ल्याएर तालिम पनि दिएको दुगडले बताए । दुगडका अनुसार नेपालको उन्नत जातको च्याङ्ग्राहरु पहिचान गर्न मुस्ताङको ४ ओटा गाउँपालिकाबाट ८०० ओटा च्याङ्ग्राको ऊनको स्याम्पल परिक्षण गर्न मंगोलिया पनि पठाइएको छ । नेपालले अहिले मंगोलिया, चीन लगायतको मुलुकहरुबाट पस्मिनाको कच्चा पदार्थ आयात गरिरहेको अवस्था छ ।
दुगड आउने दिनहरुमा पस्मिना उद्योगमा सुधार आउनुका साथै निर्यात अझ बढ्ने बताउँछन् । सरकारले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति अन्तर्गत धेरै कामहरु अघी बढाइसकेको छ । निर्यातमा अहिले नै सुधार आइसकेकाले आउने दिनहरुमा निर्यात अझै बढ्ने देखिन्छ, उनले भने ।
पश्मिना उद्योग नेपालका धेरै नागरिकहरूको आम्दानीको प्रमुख स्रोत बन्दै आएको दुगडले बताए । उनका अनुसार करिब १५ हजार उद्योग रहेको यस उद्योगमा झण्डै ५० हजार नागरिकहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेको अवस्था छ ।