काठमाडौं। वाणिज्य बैंकहरूले पूँजी वृद्धिअनुसार लगानी विस्तार गर्न नसक्दा बैंकहरूको ‘रिटर्न अन इक्वीटी’ अर्थात् इक्वीटीमा प्रतिफल घट्दो देखिएको छ ।
मर्जर तथा प्राप्ति र बोनस शेयर वितरणबापत बैंकहरूको पूँजी धेरै पुगिसकेको छ । पूँजी बढाइरहँदा त्यहीअनुसार उक्त पूँजीलाई लगानी गर्न भने सकेका छैनन् । जसका कारण शेयर लगानीकर्ताको रिटर्न भने घटेको छ । इक्वीटीमा प्रतिफल घट्नुले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका शेयरधनीहरूको प्रतिफल घटेको बुझिने विश्लेषकहरू बताउँछन् ।
रिटर्न अन इक्विटी (आरओई) लाई वारेन बफेटलगायत अधिकांश भ्याल्यू इन्भेस्टरहरूले ठूलो महत्त्व दिने गरेका छन् । आरओईले शेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन भ्याल्यू इन्भेस्टरहरूले आरओई विश्लेषण गर्छन् ।
कुल सम्पत्तिबाट बाह्य दायित्व (शेयरहोल्डरबाहेकको दाबी) घटाउँदा इक्विटी प्राप्त हुन्छ । र गणितीय हिसाबमा, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । कम्पनीले इक्विटीमा प्रतिफल जति लामो समयसम्म राम्रो दिइरहेको छ, लगानीका लागि त्यो त्यति नै राम्रो मान्नुपर्छ । आरओईले कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन् । आरओई तुलना गर्दा एउटै सेक्टरका कम्पनीहरूबीच तुलना गर्नुपर्छ । सामान्यतया यो सूचक १५–२० प्रतिशत भएको कम्पनीलाई राम्रो मानिन्छ ।
गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको आरओई औसतमा १० दशमलव ७६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यी बैंकहरूको आरओई ११ दशमलव शून्य ५ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा गत आवमा केही बैंकको आरओई बढेको छ भने अधिकांश बैंकको घटेको देखियो । इक्वीटी बढेअनुसार नाफा गर्न नसक्दा आरओई घटेको अधिवक्ता तथा धितोपत्र विज्ञ ज्योति दाहाल बताउँछन् ।
गत आवमा २० बैंकहरूमध्ये सबैभन्दा बढी आरओई स्ट्याण्डर्ड चार्टर्ड बैंकको १७ दशमलव ४७ प्रतिशत रहेको छ । त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंकको १५ दशमलव ६९ प्रतिशत रहेको छ । यी बैंकहरूमध्ये सबैभन्दा कम आरओई कुमारी बैंकको ५ दशमलव ३१ प्रतिशत रहेको छ । औसतभन्दा बढी १० बैंकको आरओई रहेको छ भने १० नै कम्पनीको आरओई औसतभन्दा कम रहेको छ ।
उदाहरणको लागि आर्थिक वर्ष २०६९/७० मा एभरेष्ट बैंकको आरओई ३० दशमलव ४७ प्रतिशत थियो । १० वर्ष पछि अर्थात आव २०७९/८० सम्ममा आईपुग्दा बैंकको १३ दशमलव ३१ प्रतिशतमा झरेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको आव २०६९/७० मा आरओई २६ दशमलव ३७ प्रतिशत रहेकोमा गत आवमा १७ दशमलव ४७ प्रतिशतमा झरेको हो ।
पछिल्लो समय वाणिज्य बैंकको रिटर्न घट्दै गएका कारण नै यस क्षेत्रमा लगानीकर्ताको आकर्षण कम हुँदै गएको छ । बैंकमा भन्दा अन्य क्षेत्रमा गरेको लगानीमा बढी प्रतिफल देखिन थालेपछि बैंकमा लगानीकर्ताको कम आकर्षण देखिएको हो ।