ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षमा ४० प्रतिशतले घट्यो जुट खेती, कच्चा पदार्थ र बजार समस्याले आधाभन्दा बढी उद्योग बन्द

२०८० साउन, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो १० वर्षमा जुट खेती ४० प्रतिशतले घटेको छ । बजार अभाव र पर्याप्त मूल्य नपाउँदा जुट खेतीमा किसानहरूको आकर्षण घटेको विज्ञहरू बताउँछन् ।  

कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०६९/७० मा नेपालको ११ हजार ३ सय क्षेत्रफलमा १५ हजार ५०० मेट्रिकटन जुट उत्पादन हुन्थ्यो । १० वर्षमा खेती ४० दशमलव १७ प्रतिशतले घटेर ७ हजार १९५ मेट्रिक टन पुगेको छ । यस्तै उत्पादन पनि ३४ दशमलव ०८ प्रतिशतले घटेर १० हजार २१७ मेट्रिक टन पुगेको छ ।  

आव अनुसार उत्पादन भएको क्षेत्रफल र परिणाम

आर्थिक वर्ष क्षेत्रफल (हेक्टरमा) परिणाम (मेट्रिक टनमा) 
२०६९/७० 11,300 15,500
२०७०/७१ 8,787 12,659
२०७१/७२ 11,400 16,530
२०७२/७३ 8,011 11,633
२०७३/७४ 7,477 11,018
२०७४/७५ 7,607 11,159
२०७५/७६ 7,285 10,585
२०७६/७७ 7,555 10,165
२०७७/७८ 7,415 10,451
२०७८/७९ 7,195 10,217

स्रोत : कृषि मन्त्रालय ।

मन्त्रालयका अनुसार नेपालमा आव २०७९/८० मा इलाम, झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा जुट खेती भएको छ । उक्त आवमा सबैभन्दा बढी जुट खेती मोरङमा ५ हजार ७ क्षेत्रफलमा भएको छ । उक्त क्षेत्रफलमा ७ हजार २ सय ५२ मेट्रिकटन जुट उत्पादन भएको छ । त्यस्तै सबैभन्दा कम इलाममा १० हेक्टरमा १२ मेट्रिकटन जुट उत्पादन भएको छ ।  

जिल्ला अनुसार उत्पादन भएको क्षेत्रफल र परिणाम

जिल्ला क्षेत्रफल (हेक्टरमा) परिणाम (मेट्रिक टनमा)
इलाम 10 12
झापा 533 650
मोरङ 5,007 7,252
सुनसरी 1,317 1,947
सिराहा 117 135
सप्तरी 211 221
कुल 7,195 10,217

स्रोत: कृषि मन्त्रालय

कृषिविज्ञ केदार बुढाथोकी बजार नहुँदा नेपालमा किसानहरूको जुट खेतीमा आकर्षण घटेको बताउँछन् ।  'आजभन्दा झण्डै दुई वर्षअगाडि सर्लाहीमा जुट विकास समितिमा कार्यरत हुँदा जुटको बीउ नै अभाव हुन्थ्यो । त्यसबेला जुटलाई नगदे बाली भनिन्थ्यो । अहिले भने किसानहरूलाई उक्त नगदे बालीको बजार पाउन नै मुश्किल छ,' उनले भने । 

उनले थपे, ‘अहिले जुटको प्रडक्टलाई प्लास्टिकले विस्थापित गरिसकेको अवस्था छ । त्यसैले नेपालमा जुटको उत्पादनको बजार नै नभएको अवस्था छ । यस्तै जुट उत्पादन गर्दा खोलाको पानीमा पनि डुबाउनुपर्छ । तर, अहिले सबै खोलानालाहरू सुक्दै गएका छन् । त्यसैले अहिले किसानहरूलाई जुट उत्पादन गर्न नै समस्या छ ।’ 

जुटको उत्पादन बढाउन सरकारले जुटका उत्पादनहरूलाई प्रोत्साहन गर्नुका साथै उद्योगलाई  सहुलियत दिनु पर्ने बुढाथोकी बताउँछन् ।

जुट उद्योग संकटमा : गोल्छा 

नेपाल जुट उद्योग संघका अध्यक्ष राज कुमार गोल्छा नेपालमा जुट उद्योगहरू संकटमा भएको बताउँछन् । गोल्छाका अनुसार उद्योगमा काम गर्ने श्रमिकदेखि कच्चा पदार्थसम्मको अभाव हुँदा सञ्चालनमा रहेका ११ जुट उद्योगमध्ये ६ ओटा बन्द भइसकेका छन् । 

अध्यक्ष गोल्छाका अनुसार उद्योगमा चाहिने पर्याप्त कच्चा पदार्थ र बिजुली नहुँदा उद्योगीहरू मर्कामा छन् । ‘नेपालमा अहिले उद्योगलाई चाहिने ३० देखि ४० प्रतिशत कच्चा पदार्थ मात्र उत्पादन हुने गरेको छ । बाँकी कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्छ । यहाँ उत्पादन भएको वस्तु पनि भारतमा नै विक्री हुने हो,’ गोल्छाले भने, ‘कच्चा पदार्थ र बजारको लागि भारतमा निर्भर हुनुपरेको अवस्था छ ।‘ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)