ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लम्पी स्किन रोगले चितवनमा दुग्ध उत्पादन घट्यो 

२०८० साउन, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। पशुहरूमा लम्पी स्किन रोगका कारण चितवनमा दूध उत्पादनमा ह्रास आएको छ । जिल्लाका सहकारीबाट मात्र दैनिक १ लाख ५० लिटर दूध संकलन हुने गरेकोमा अहिले १ लाख ३४ हजार लिटर मात्र संकलन भइरहेको बताइएको छ ।

अन्य पशुभन्दा गाई र भैंसीमा लम्पी स्किन रोग बढी देखिएकाले दूध उत्पादन घटेको किसानको भनाइ छ । यद्यपि चितवनमा यो रोगको प्रकोप अन्य जिल्लाको तुलनामा धेरै फैलिन नपाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । ‘चितवनमा पशु प्राविधिक, चिकित्सकको पहुँच राम्रो छ । किसान पनि बढी सचेत छन्,’ उनले भने, ‘जसकारण पशु मृत्युको संख्या बढ्न पाएन । यो रोग दूध दिने र नदिने पशु दुवैमा भए पनि दूध दिनेको बढी स्याहार सुसार गरिएकाले उत्पादन कम घटेको हो ।’

चितवनका दुग्ध सहकारीमा संकलित दूध काठमाडौं, पोखरा, हेटौंडालगायत शहरमा निकासी हुन्छ । उनले भने, ‘दैनिक डेढ लाख लिटर दूध चितवनबाट बाहिरी जिल्लामा निकासी भइरहेको थियो, तर अहिले १ लाख ३४ हजार लिटर मात्र गइरहेको छ ।’ रोग नियन्त्रण नभए दूध उत्पादनमा अझै कमी आउने उनले बताए । चितवनमा दूध उत्पादनको प्रचुर सम्भावना भए पनि कोरोना कहरपछि गाईभैंसी फार्म नथपिएको र भएका गाईभैंसी फार्म समेत बन्द भएको उनले बताए । ‘एकातिर दूधको भुक्तानी समयमै पाइएको छैन, अर्कोतिर पशुहरूमा लम्पी स्किन रोग लाग्दा किसान दोहोरो मारमा छन्,’ उनले भने ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनकी सजना राईले चितवनमा लम्पी स्किन पूरा नियन्त्रणमा नआए पनि फैलिनबाट भने रोकिएको बताइन् । ‘सातओटा पालिकामा भ्याक्सिन चलाएका छौं, यो रोग नियन्त्रण उन्मुख नै छ । क्षतिको दर पनि कम भएको पाएका छौं,’ राईले भनिन् । लम्पी स्किन रोग निको भए पनि पहिलेको अनुपातमा दूध दिन गाईभैंसीलाई समय लाग्ने विज्ञहरूको भनाइ छ । पछिल्लो तथ्यांक अनुसार चितवनमा ११ हजार पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएकोमा दूध दिने करीब ३०० पशु मरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)