ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यसञ्चालनमा भन्दा वित्तीय व्यवस्थामा ठूलो रकम खर्च

२०८० भदौ, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महीना पूरा हुँदा गतवर्षको तुलनामा सरकारको बजेट खर्च केही बढेको र आम्दानी घटेको देखिएको छ । भदौ १ गतेसम्म सरकारले ७९ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । गतवर्षको यही अवधिमा सरकारले ८० अर्ब ८२ करोड राजस्व उठाएको थियो ।

सरकारी खर्च गतवर्षको तुलनामा निकै बढेको देखिन्छ । गतवर्ष भदौ १ सम्ममा सरकारले २३ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेकोमा यो वर्ष उक्त अवधिमै ४१ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । 

रोचक कुरो त सरकारले चालू शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा ठूलो रकम खर्च गरेको देखिन्छ । भदौ १ सम्ममा सरकारले चालू शीर्षकमा १४ अर्ब ६१ करोड रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा २५ अर्ब ८६ करोड खर्च गरेको देखिन्छ । पछि ब्याजको भार बढी पर्ने भन्दै सरकारले साउनबाटै आन्तरिक ऋण उठाउन थालेको थियो । अघिल्ला वर्षहरूमा आवको शुरूमै ऋण लिने प्रचलन थिएन । 

आम्दानीतर्फ गत साउनमा भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई लक्ष्य भेट्न मुश्किल परेको देखिएको छ । साउनमा भन्सार विभागले ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ६६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । चालू आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न गतवर्षभन्दा ६० दशमलव ३६ प्रतिशत बढी राजस्व संकलन गर्नुपर्नेमा विभागले साउनमा पोहोरको तुलनामा १ दशमलव ४४ प्रतिशतमात्रै बढी राजस्व संकलन गरेको छ ।

विभागले गतवर्ष साउनमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । गतवर्ष साउनमा ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । चालू आवको साउनमा गतवर्षभन्दा केही बढी राजस्व संकलन भए पनि समग्रमा राजस्व लक्ष्य प्राप्त गर्न यो वृद्धिदरले पुग्दैन । गत आवमा ३ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागलाई चालू आवमा ६ खर्ब २७ अर्ब रुपैयाँ उठाउने लक्ष्य दिइएको छ । 

लक्ष्यअनुसार राजस्व संकलन गर्न विभागलाई ६० दशमलव ३६ प्रतिशतको वृद्धिदर आवश्यक पर्छ । भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का आयात नबढ्दासम्म विभागले राजस्व बढाउन नसक्ने बताउँछन् । गत वर्षहरूमा लक्ष्यको ५६/५७ प्रतिशत राजस्व संकलन भएकोमा चालू आवमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन हुनुलाई सकारात्मक मान्नुपर्ने खड्का बताउँछन् । उनका अनुसार भन्सार जाँचपास हुने ट्रकको संख्या नबढ्दासम्म राजस्व बढ्ने सम्भावना हुँदैन । विभागले चोरीतस्करी र गलत मूल्यांकनबाट राजस्व प्रभावित हुन नदिन भन्सार बिन्दुमा कडाइ गरेको उनले बताए । 

त्यस्तै साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको आन्तरिक राजस्व विभागले ४० अर्ब ५० करोड रुपैयाँमात्रै उठाएको छ । चालू आवमा गतवर्षभन्दा ४१ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको विभागले गतवर्षभन्दा १ दशमलव ६ प्रतिशत मात्रै बढी राजस्व उठाउन सकेको छ ।

गतवर्ष पनि साउनमा विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । विभागले पोहोर साउनमा ४३ अर्ब ७० करोड उठाउने लक्ष्य लिएकोमा ३९ अर्ब ८६ रुपैयाँ उठाएको थियो । यसपालि साउनमा पोहोरको भन्दा ६४ करोड रुपैयाँ बढी राजस्व संकलन भए पनि लक्ष्यभन्दा १८ प्रतिशत कम हो । गतवर्ष ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागले चालू आवमा ६ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको छ । विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न गतवर्षको तुलनामा ४१ प्रतिशत बढी उठाउनुपर्छ । तर, चालू आवको पहिलो महीनामै लक्ष्यअनुसार राजस्व संकलन नहुँदा विभागलाई लक्ष्य प्राप्त गर्न कठिन हुने देखिन्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थतन्त्र चलायमान हुँदै गएकाले आगामी दिनमा लक्ष्यअनुसार राजस्व संकलन हुने बताउँछन् । गतवर्ष साउनमा लक्ष्यको ७६/७७ प्रतिशत राजस्व संकलन भएकोमा यसपालि ८२ प्रतिशत संकलन भएको बताउँदै उनले घरजग्गा कारोबार बढ्दै गर्दा अर्थतन्त्र थप चलायमान हुने र राजस्व बढ्ने अपेक्षा राखे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)