ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धमाधम पलायन हुँदै उद्यमी

२०८० भदौ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। पछिल्लो समय मुलुकमा देखिएको आर्थिक सुस्तीका कारण चितवनका उद्योगी व्यवसायी पलायन हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याज, विभिन्न कर, भाडालगायत खर्च धान्न नसकेपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन् भने कतिपयले व्यवसाय छाडेर विकल्पको खोजी गरेका छन् ।

उत्पादनअनुसार बजार माग नहुँदा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । चितवनमा विशेषगरी पोल्ट्री, निर्माण सामग्रीका उद्योग व्यवसाय एवं फेन्सी पसलमा आर्थिक सुस्तीको बढी असर परेको व्यवसायी बताउँछन् । कोराना महामारीपछि अधिकांश व्यवसाय धराशयी बन्दै गएका थिए । त्यसपछि व्यवसाय छाड्ने र विदेश पलायन हुनेहरू बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । ‘उद्योगी व्यवसायी आशावादी भए पनि व्यवसायमा कुनै सुधार भएन, जसले गर्दा कतिपयले व्यवसाय नै परिवर्तन गर्न थालेका छन् । केही उद्यमी व्यवसायी विदेशिएका छन् ।’

बैंकको चर्को ब्याज, दोहोरो तेहरो कर, भाडा र अन्य सञ्चालन खर्च धान्न नसकेपछि व्यवसाय नै छाडेर अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायत मुलुक जानेहरू बढेको उनले बताए । ‘आर्थिक व्यावसायिक गतिविधिमा सुधार नभए धेरै उद्योगी व्यवसायी विदेश पलायन हुनेछन्,’ उनले भने ।

उपभोक्ताको क्रयशक्ति घटेकाले उत्पादित वस्तुको विक्री तथा खपतमा ह्रास आएको र सोही कारण उद्योग व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेको श्रेष्ठले बताए । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ, अर्कोतिर सरकारको नीति उद्योग व्यवसायमैत्री छैन । व्यवसाय गरेर टिक्नै नसक्ने अवस्थामा आएपछि विदेश पलायन हुनु, विकल्प खोज्नु स्वाभाविक हो,’ उनले भने, ‘तर यसले निम्त्याउने असरबारे सरकारले केही सोचेको छैन । यसले सरकारको राजस्वमा मात्रै होइन, समग्र अर्थतन्त्रमै गम्भीर प्रभाव पर्नेछ ।’ हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकाले उद्योग व्यवसाय थप प्रभावित हुने उनको भनाइ छ ।

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले केही महीना अघिदेखि नै उद्योगी व्यवसायी विदेश पलायन हुन र विकल्प खोज्न थालेको बताए । उनका अनुसार आर्थिक सुस्तीको सबैभन्दा बढी असर पोल्ट्री व्यवसायमा परेको छ । त्यसपछि निर्माण सामग्री उद्योग धेरै मारमा परेका छन् । हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाइ छ ।

आर्थिक सुस्तीको असर खुद्रा तथा साना व्यवसायमा समेत परेको छ । बाह्रै महीना भीडभाड हुने पसलहरू हिजोआज सुनसानप्राय: देखिन्छन् । लत्ताकपडा, सुनचाँदी, खाद्यान्नलगायत पसलमा ग्राहक फाट्टफुट्ट मात्र आउने गरेको व्यवसायी बताउँछन् ।

चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराई चितवनका उद्योगी व्यवसायीले विदेश गएर व्यापार व्यवसाय गर्न थालेको बताए । 

‘व्यवसायमा सुधार हुन्छ भन्ने आशा र सम्भावना नै देखिएन,’ उनले भने, ‘मुनाफा कमाउनु त परको कुरा, चालू खर्चसमेत धान्न नसकिने भएपछि उद्योगी व्यवसायी विदेशिन र स्वदेशमै अन्य विकल्प खोज्न बाध्य भए ।’

अधिकांश व्यवसायी सञ्चालनमा रहेका उद्योग व्यवसाय छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा रहेको भट्टराईले बताए । ‘व्यवसाय छाडौं, के गर्ने विकल्प छैन, तत्काल छाड्न सकिँदैन, नछाडौं दैनिक घाटामा चल्नुपरेको छ,’ उनले भने । 

अर्थतन्त्रमा तत्काल सुधार आउने संकेत नदेखिएको, सरकारको बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिले समेत अपेक्षित सम्बोधन नगरेको लगायत कारण भविष्य नदेखेपछि उद्योगी व्यवसायी विदेश पलायन भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)