ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माइस पर्यटनलक्षित प्रोत्साहन कार्यक्रम शून्य

२०८० भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले दोस्रोपटक आयोजना गरेको नेपाल भ्रमण वर्ष २०११ मा माइस पर्यटनलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम घोषणा गरेको थियो । त्यतिबेला सरकारले एकपटकमा सय पर्यटक ल्याउने टुर्स एन्ड ट्राभल कम्पनीलाई पाँच लाख रूपैयाँसम्म सहुलियत दिने घोषणा गरेको थियो ।

माइस पर्यटनमा कुनै गन्तव्य मुलुकबाट मिटिङ, प्रोत्साहन, सभा–सम्मेलन र प्रदर्शनीलगायत कार्यक्रम गर्न आउने पर्छन् । जस्तै, भदौ २ गते नेपालमा बंगलादेशको एक कम्पनीका ७०० कर्मचारी नेपाल घुम्न आए । 

उनीहरूलाई कम्पनीले प्रोत्साहनस्वरुप नेपाल घुम्न पठाएको हो । यो माइस पर्यटनको उदाहरण हो । यस्तै पर्यटक ल्याउन सरकारले २०११ को भ्रमण वर्षमा सहुलियत दिएको थियो । यसअघि चीनबाट पनि यस्तै पर्यटक आएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–प्रवक्ता टेकनारायण पौडेलले माइस पर्यटनलाई लक्षित गरी अहिले कुनै नयाँ कार्यक्रम नभएको बताए । यद्यपि पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । 

पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारको काम गर्ने संस्था नेपाल पर्यटन बोर्डले पनि यसमा उल्लेख्य काम गरेको छैन । बोर्डका निर्देशक मणिराज लामिछानेले माइस पर्यटनका लागि कुनै कार्यक्रम र बजेट विनियोजन नगरिएको बताए । 

‘अहिले कुनै देशबाट यसरी पर्यटक आए भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म बाजागाजाका साथ स्वागत गर्ने, डिनरका लागि सहयोग गर्नेलगायत काम भएका छन्,’ लामिछानेले भने, ‘अरू काम खासै भएका छैनन् । सरकारले सन् २०११ मा दिएको उक्त सहुलियत ५/७ ओटा कम्पनीले पाएको उनले बताए । 

उनका अनुसार अहिले बंगलादेशबाहेक भारतीय पर्यटक पनि यसरी आउने गरेका छन् । उनकै जस्तो भनाइ बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको पनि छ । जोशीले केही देशबाट सानो संख्यामा पर्यटक आउने गरेको बताए । हालको संसद् भवन (विरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र) मा सन् २००९ तिर भारतीय चिकित्सक, इन्जिनियरहरूको समूह आउने गरेको उदाहरण दिँदै जोशीले थपे, ‘यसमा संख्याभन्दा पनि बढी खर्च गर्ने पर्यटक नेपाल भित्त्याउने उद्देश्य थियो, कर्पाेरेट हाउसहरूले पर्यटक पठाउने गर्छन् ।’

नेपालमा माइस पर्यटनको सम्भावना प्रशस्त रहेको भन्दै उनले पूर्वाधार निर्माणलगायतमा काम गर्नुपर्नेमा जोड दिए । कोभिडपछि सन् २०२३ मा माइस पर्यटन बढेको उनको भनाइ छ । 

सरकारले सन् २०११ मा नेपाल भ्रमण घोषणा गरिसकेपछि एकैपटकमा सय जना पर्यटक ल्याए सहुलियत दिने घोषणा गरेको थियो । त्यसलाई माइस पर्यटनका लागि सरकारले शुरू गरेको पहलको रूपमा अथ्र्याउन सकिने उनले बताए । 

होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउँदा व्यवसायी उत्साहित हुने बताए । सरकारले ल्याएको भ्रमण दशकमा समेत यस्ता कुरालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए । नेपालले मार्केटिङ गर्न सक्नु पर्‍यो भन्दै शाहले दशैंअघि नै माइस पर्यटनलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको जानकारी दिए । हानलगायत टुर एन्ड ट्राभल्सलगायतका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको उनले बताए ।

ढाकाको माउन्टेन क्लब टुरसँगको सहकार्यमा बंगलादेशबाट ७०० पर्यटक ल्याएको सम्राट टुर्स एन्ड ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले आगामी पाँच वर्षभित्रमा उक्त कम्पनीका सबै कर्मचारीलाई नेपालमा ल्याउने योजना रहेको बताए । उक्त कम्पनीमा दुई लाख कर्मचारी छन् । अन्य देशबाट पनि नेपालमा पर्यटक ल्याउन सकिने अन्य व्यवसायीको भनाइ छ । 

सभा, सम्मेलन गर्न नेपालमा ठूलो संख्यामा पर्यटक आउँदा र स्वदेशमै ठूला कार्यक्रम गर्न बुटबलमा हजार, लुम्बिनीमा पाँच हजार र गोदावरीमा तीन हजार मानिस क्षमताको सम्मेलन केन्द्र बनेका छन् । चितवन र काठमाडौंमा पनि ठूला क्षमताका सम्मेलन केन्द्र बनेका छन् । मुलुकमा सञ्चालनमा आएको पुरानो र ठूलो सम्मेलन केन्द्र काठमाडौंको वानेश्वरस्थित विरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन हो । 

शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप परियारले सञ्चालनमा आएका ठूला सम्मेलन केन्द्रका लागि व्यावसायिक योजना बनाउन लागिएको बताए । गोदाबरी सनराइज सम्मेलन केन्द्र राम्रोसँग सञ्चालनमा आइसकेको उनको भनाइ छ । उनले मुलुकमा रहेका यस्ता केन्द्रहरू नियमन र सञ्चालन गर्न कार्यदेश तथा कार्यविधि बनाउने तयारी भएको जानकारी दिए । 

ठूलो संख्यामा व्यावसायिक सम्मेलन, सभा तथा कतिपय अवस्थामा प्रदर्शनी केन्द्रको रूपमा नेपाल आउने पर्यटकका लागि ठूलो संख्यामा मानिस सहभागी हुन सक्ने हल आवश्यक हुन्छ । आन्तरिक रूपमा पनि यस्ता केन्द्र उपयोगमा आएको देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)