ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रिमियम मूल्यको आईपीओभन्दा दोस्रो बजारको शेयर सस्तो 

२०८० भदौ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय कम्पनीहरूले धमाधम प्रिमियम मूल्यमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिरहेका छन् । प्रिमियम मूल्यको बीमा र हाइड्रोपावर कम्पनीको शेयरभन्दा सस्तैमा धितोपत्रको दोस्रो बजारमा शेयर पाइन थालेको छ । सन नेपाल लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, मान्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रिमियमसहित प्रतिकित्ता ११६ देखि २५७ रुपैयाँसम्ममा आईपीओ विक्री गरेका छन् । यस्तै सिटिजन लाइफले पनि भदौ १५ गतेदेखि प्रिमियम मूल्यसहित प्रतिकित्ता २४४ रुपैयाँमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्दै छ । 

प्राथमिक बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने आईपीओ विक्रीमा आउँदा पनि लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । हरेक कम्पनीको आईपीओमा १२/१५ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूल्यमा शेयर पाउँदा लगानीकर्ताको आकर्षण देखिएको छैन । सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंक र हाइड्रोपावरको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो शेयर मूल्य हुने कम्पनीहरू पनि यी समूहका छन् ।

पूँजीबजार विज्ञ मुक्ति आर्याल प्रिमियमको आईपीओबाट छोटो समयमै राम्रो प्रतिफल पाइरहेकाले त्यसमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । उनले आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू.२३६ दशमलव ९१ मा आईपीओ विक्री गरेको उदाहरण दिँदै भने, ‘कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता रू.५२९ दशमलव ५० मा भएको थियो । यसले गर्दा लगानीकर्ताले छोटो समयमै राम्रो प्रतिफल पाए ।’

सूचीकृत हुनेबित्तिकै कम्पनीको शेयर मूल्य बढ्ने भएकाले लगानीकर्ताको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ । वाणिज्य बैंकको शेयर मूल्य बढे पनि कम बढ्ने र धेरै चुक्ता पूँजी भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको उनको बुझाइ छ । त्यस्तै मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् ।

त्यस्तै धेरै जनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था नभएकाले पनि लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यसकारण पनि लगानीकर्ताको रोजाइमा उनीहरूको शेयर नपरेको हो । 

समग्र शेयरबजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याले पनि बैंकको शेयर मूल्यमा प्रभाव पारेको देखिन्छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले बैंकको शेयर सस्तिँदै गएको हो । 

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, लक्ष्मी, प्राइम कमर्सियल र सिटिजन्स बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । यी ६ बैंकमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू.१५७ दशमलव ४० मा बन्द भएको छ । 

त्यस्तै प्रतिकित्ता रू.२ सयदेखि २५० दशमलव १० सम्ममा हिमालयन, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंकको शेयर पाइन्छ । यी वाणिज्य बैंकबाहेक हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै सस्तिएको छ । 

मंगलवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१३५ दशमलव ३० र नेशनल हाइड्रोपावरको कम्पनीको रू.१४६ दशमलव ४० कायम भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । यसकारण पनि उक्त समूहको शेयरमा लगानीकर्ताको चासो नपरेको अनुमान गरिको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)