ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमसीसी कार्यान्वयनको घोषणा आज

व्याख्यात्मक घोषणा स्वीकार्य छ : अमेरिका

२०८० भदौ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनको घोषणा आज (बुधवार) हुुँदै छ ।

अर्थ मन्त्रालयमा नेपाली र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी गरिएको छ । यसपछि एमसीसी कार्यान्वयनको पाँचवर्षे अवधि शुरू हुनेछ । सहमतिअनुसार उक्त समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसपछिको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नुपर्ने सहमति छ । कार्यान्वयन घोषणाका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशनका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीनदिने भ्रमणका लागि मंगलवार काठमाडौं आएका छन् । अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुनेछन् । नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेतासँग भेटघाट गर्नेछन् । उनी १५ गते स्वदेश फर्किने बताइएको छ ।

एमसीसी अनुदानको परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सञ्चालक समिति बैठकले ‘इन्ट्री इन्टु फोर्स’को मिति तय गरेको थियो । एमसीएको बोर्डमा पर्यवेक्षक रहेका एमसीसीका प्रतिनिधि पनि सकारात्मक भएपछि लेटर अफ एक्सचेन्जमार्फत एमसीसी कार्यान्वयनको घोषणा हुन लागेको अर्थ मन्त्रालयस्थित उच्च स्रोतले बतायो । यता व्याख्यात्मक टिप्पणीलाई दिएर अनेक आशंका उब्जिएका बेला कार्यान्वयन जानुभन्दा अघिल्लो दिन मंगलवार अमेरिकाले एक वक्तव्यमार्फत व्याख्यात्मक घोषणा स्वीकारेको बताएको छ । नेपालको संघीय प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त कदमको स्वागत गरेको थियो ।

एमसीसी कार्यान्वयनमा जानुभन्दा अघिल्लो दिन नेपालमा भइरहेको टीकाटिप्पणीलाई दृष्टिगत गरेर अमेरिकी दूतावासले वक्तव्यमार्फत व्याख्यात्मक घोषणा स्वीकारेको बताएको हो । ‘एमसीसीले गतवर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्नेलगायत कम्प्याक्टका शर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ दूतावासको भनाइ छ । 

एमसीसीले गतवर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्नेलगायत कम्प्याक्टका शर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ : अमेरिकी दूतावास 

अमेरिका व्याख्यात्मक घोषणाबारे मौन रहँदा आशंका उब्जिएको थियो । त्यसमा सत्तारूढ दलदेखि प्रधानमन्त्रीसम्मले चासो राख्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीकै अंग बनाएर आफूहरूले सदनबाट पारित गरेको बताउनुभयो । उहाँले १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था रहेको उहाँले बताउनुभएको थियो । सोही दिन सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकाले एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा अस्वीकार गरेको भए जनतालाई भन्न आग्रह गरेका थिए । यसबारे स्पष्ट पार्न चौतर्फी दबाब आएपछि अमेरिकाले स्पष्टीकरण दिएको ठानिएको छ । 

सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोनुपर्नेछ । एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिनेछ । नेपालले पनि एमसीसी परियोजनाका लागि आफ्ना तर्फबाट १३ करोड डलर लगानी गर्नुपर्ने सम्झौता छ । नेपाल र अमेरिकाबीच ५ वर्षअघि एमसीसी कम्प्याक्टको एमओयूमा हस्ताक्षर भएको थियो । लामो समय विवादमा फसेको एमसीसी नेपाली संसद्ले अनुमोदन गरेको १८ महीनापछि कार्यान्वयनमा गएको छ । आयोजनाहरूको ठेक्काको प्रक्रिया र जग्गा अधिग्रहणका सूचना प्रकाशित गर्ने क्रम शुरू भइसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)