ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी नीतिको मारमा स्वीट सुपारी उद्योग : भन्सारबाट भित्रिँदैन, बजारमा जताततै

२०८० भदौ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्जको अरबिन्द उद्योग एक दशकसम्म राम्रै चलेको थियो । २०६० सालमा खुलेको सुर्तीरहित सुगन्धित सुपारी (स्वीट सुपारी) उत्पादन गर्ने यो उद्योगको उत्पादन अहिले बन्द छ । उद्योगका उपकरणमा खिया लागेको छ । उद्योग सञ्चालक निरञ्जन अग्रवालले ती उपकरण बेच्न पनि खोजे, तर विक्री भएन । 

यस्तो समस्या भोग्ने अग्रवाल एक्ला उद्योगी होइनन्, देशका विभिन्न शहरमा खुलेका १७ ओटा स्वीट सुपारी उद्योग अहिले उत्पादन बन्द गरेर थन्किएका छन् । एक समय यस्ता उद्योगले राम्रो कमाइ गरेका थिए । सरकारले आर्थिक वर्ष २०६९/७० देखि यस्ता उद्योगसँग अन्त:शुल्क लिन थालेपछि दुर्दशा शुरू भएको अग्रवाल बताउँछन् । 

‘प्रतिकिलो ५० रुपैयाँबाट शुरू भएको अन्त:शुल्क अहिले ३६५ रुपैयाँ पुर्‍याएको छ । त्यसमा ४० रुपैयाँ स्वास्थ्य कर पनि थपिन्छ । कच्चा पदार्थ भित्त्याउँदा भन्सारमा किलोको सय रुपैयाँ भन्सार महशुल तिर्नुपर्छ,’ उनले भने, ‘उता भारतीय उत्पादनमा ५ प्रतिशत वस्तु तथा सेवा करबाहेक केही छैन । भारतबाट सस्तो उत्पादन भित्रिएपछि यताका उद्योगमा ताला लाग्यो ।’

सरकारले स्वीट सुपारीको आयातमा पनि प्रतिकलो सय रुपैयाँ भन्सार महशुल र ३६५ रुपैयाँ अन्त:शुल्क तोकेको छ । तर, भन्सारबाट स्वीट सुपारी भित्रिएको तथ्यांक छैन । स्वदेशी बजारमा भने भारतमा बनेको स्वीट सुपारी जताततै भेटिन्छ । 

सरकारले लगाएको अत्यधिक करका कारण स्वदेशमा उत्पादित स्वीट सुपारीको लागत महँगो पर्दा भारतमा उत्पादित सस्तो वस्तु अनधिकृत रूपमा भित्रिएको उद्योगी बताउँछन् । 

वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले भन्सारबाट स्वीट सुपारी नभित्रिएको बताए । भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ किलो स्वीट सुपारी आयात भएको देखाउँछ । 

स्वदेशी उत्पादकहरू वार्षिक दुई हजार टन खपत हुने दाबी गर्दछन् । भारतसँगको खुला सिमानाबाट अवैध रूपमा भित्रिने स्वीट सुपारीले स्वदेशी बजारमा कब्जा जमाएको छ । सरकारले उच्च दरमा कर लिन थालेपछि अहिले स्वदेशमा उत्पादित स्वीट सुपारी खुद्रा व्यापारीलाई प्योकटको १ सय ४५ रुपैयाँ पर्ने उत्पादक बताउँछन् । भारतबाट अवैध रूपमा भित्रिएको यस्तो उत्पादन भारतीय रुपया (भारु) ३० (४८ रुपैयाँ) मा व्यापारीकहाँ पुग्ने भएपछि स्वदेशी उत्पादन बन्द भएको हो । 

सरकारले अनधिकृत आयात नियन्त्रणका लागि सिमानामा भन्सार र सशस्त्र प्रहरी खटाएको छ । नेपाल प्रहरीले पनि यसमा निगरानी राखेको हुन्छ । सीमावर्ती जिल्लामा खटिएको प्रहरीले दिनहुँजसो तस्करीका सामान समातिएको विवरण सार्वजनिक गर्छ । तैपनि अवैध आयातकै कारण स्वदेशका डेढ दर्जन उद्योग बन्द भएको उद्योगीहरूको गुनासो छ । 

वीरगञ्ज, विराटनगर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत स्थानमा खुलेका १७ स्वीट सुपारी उद्योगमध्ये आठओटा बन्द भइसकेका छन् । ९ ओटाले उत्पादन बन्द गरे पनि नीतिगत सुधारको आशमा उद्योग नवीकरण गराउन भने नछोडेको अग्रवालले जानकारी दिए । उद्योग बन्द भएपछि कम्तीमा १५ सय जनाको रोजगारी गुमेको अनुमान उद्यमीहरूको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)