ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न

२०८० भदौ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सडकमा सुरुङमार्ग निर्माण शुरू भइसकेको मुलुकमा थप ठाउँमा यस्ता संरचना बनाउन अध्ययन भइरहेको छ । सडक विभागले विभिन्न राजमार्ग तथा सडकमा हालसम्म एक अन्डरपाससहित १८ ओटा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन गरिरहेको छ । थप नयाँ चार स्थानमा सुरुङमार्ग अध्ययन गर्न आवश्यक देखिएको पनि विभागले औंल्याएको छ ।

विभागका अनुसार धरान–लेउती, मानेचौर–बीपीनगर खुटिया दिपायल खण्ड र बीपीनगर खुटिया दिपायल सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

अहिले नागढुंगामा सुरुङमार्ग निर्माण भइरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यसबाहेक गत आर्थिक वर्षसम्ममा विभागले उक्त संख्यामा सुरुङमार्ग बनाउन पूर्वसम्भाव्यता अध्ययन, खरीद व्यवस्थापन र थप नयाँ स्थान पहिचान गरेको हो । 

विभागका महानिर्देशक सुशीलबाबु ढकालले आवश्यक देखिएका स्थानमा सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिएको बताए । तर, अध्ययन हुनासाथ निर्माण भइहाल्ने अवस्था भने नभएको उनको भनाइ छ । ‘विभिन्न सडकमा सुरुङमार्ग बनाउन आवश्यक छ भन्ने महसूस भएको छ,’ ढकालले भने, ‘यो संरचना बनाउन धेरै प्रक्रिया पूरा गर्नुपर्छ । उदाहरणका लागि नागढुंगा सुरुङमार्ग बनाउन सन् २०१२ बाट छलफल भएको थियो, ठेक्का बल्ल सन् २०१८ मा व्यवस्थापन भयो ।’

अहिले ठाउँहरू पहिचान गरिएको र प्राथमिकताका आधारमा बनाउनैपर्ने देखिएमा स्रोत व्यवस्थापन गर्दै निर्माण अघि बढाउने उनले बताए । विभागको आव २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार अध्ययन भइरहेका सुरुङमार्ग पोखरादेखि जाजरकोट, रारा राजमार्गहरूमा पर्छन् ।

विभागले सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत विभिन्न खण्डमा अध्ययन गरेको छ । निर्माण तुलनात्मक रूपमा महँगो भए पनि सडकको दूरी घटाउन, ट्राफिक व्यवस्थापन र कतिपय अवस्थामा पहिरोका कारण हुने जनधनको क्षति कम गर्न पछिल्लो समय सरकारले सुरुङमार्ग निर्माण योजना अघि सारेको छ । ट्राफिक व्यवस्थापन र दूरी छोट्ट्याउन जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ । वर्षेनि पहिरोका कारण जनधनको क्षति हुने सिद्धबाबामा उक्त क्षति रोक्न सुरुङमार्ग निर्माण अघि बढाइएको विभागले जानकारी दिएको छ । 

उक्त आयोजना बनाउन विभागले चिनियाँ कम्पनी चाइना स्टेटसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिसकेको छ । यसको ठेक्का सम्झौता रकम ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । ५ वर्षमा यो सुरुङमार्ग सम्पन्न गर्ने भनिएको छ । 

विभागले आफ्नो प्रतिवेदनमा ठेक्का सम्पन्न गर्नुपर्ने मिति भने उल्लेख गरेको छैन । 

विभागका अनुसार सिद्धबाबा सुरुङमार्गको सर्वे सम्पन्न भइसकेको छ । यसमा ठेक्काअन्तर्गतका निर्माणको डिजाइन गर्न नक्सांकन, भौगर्भिक अध्ययनलगायत काम सम्पन्न भएका छन् । सुरुङमार्गको डिजाइन पनि विभागले स्वीकृत गरिसकेको छ । 

निर्माण व्यवसायी चिनियाँ कम्पनी साइटमा मोबिलाइज भई क्याम्प, विद्युतीय लाइन तथा ट्रान्फर्मर जडान, वर्कसप, इक्वीपमेन्ट यार्ड निर्माणलगायत काम गरिसकेको छ । विभागले चालू आवमा ४०० मीटर सुरुङमार्ग खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)