ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्दो बजारको असर सार्वजनिक निष्कासनमा

साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्नै गाह्रो

२०८० भदौ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्रको दोस्रो बजार निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक निष्कासनका धितोपत्रमा परेको छ । बजार घट्दै जाँदा सूचीकृत धितोपत्रको मूल्यमा कमी आएसँगै सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्न समस्या भएको विक्री प्रबन्धकहरू बताउँछन् ।

धितोपत्रको दोस्रो बजार घट्दै जाँदा राम्रा कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले साधारण शेयरबाहेक अन्य धितोपत्रमा लगानीकर्ताको आकर्षण कम भएको बुझाइ विक्री प्रबन्धकहरूको छ । जानकार लगानीकर्ता भने बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले लगानी कम भएको प्रतिक्रिया दिन्छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पछिल्लो समय आर्थिक संकटको अवस्थामा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेकाले लगानी घटेको बताउँछन् । सार्वजनिक निष्कासनले निरन्तरता पाउनु सकारात्मक पाटो रहे पनि अहिलेको अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको तीव्रतालाई घटाउनुपर्ने फुल्लेलले सुझाए । 

बजारलाई माग र आपूर्तिले सन्तुलनमा राख्ने हुँदा माग बढ्ने गतिविधि नभइरहेको बेला आपूर्ति कम गरेर भए पनि बजारको विकासमा ध्यान दिनुपर्ने फुल्लेल बताउँछन् । बैंक, वित्तीय संस्थामा पर्याप्त तरलता भई कर्जा लिनका लागि बोलाइरहेको अवस्थामा पनि लगानीकर्ता चर्को ब्याजदरका कारण कर्जा लिन डराइरहेको फुल्लेलले बताए । मार्जिन कर्जामा १२ करोडको सीमाका कारण ठूला लगानीकर्ताले लगानी बढाउन नसकेको गुनासोसमेत फुल्लेलले गरे । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आउने धितोपत्र दोस्रो बजारसँग जोडिने हुँदा दोस्रो बजारले गति लिन आफूले सुझाएका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा फुल्लेलले जोड दिए । 

अपि पावर, अरुण काबेली पावर, मल्टिपर्पस फाइनान्स र सिनर्जी पावरको हकप्रद शेयर, स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको साधारण शेयर र हिमालयन ८०–२० को एकाइ हाल सार्वजनिक निष्कासन तथा विक्रीमा छन् । भदौ १० गतेदेखि सर्वसाधारणलाई शेयर विक्री गरिरहेको मान्डु हाइड्रोपावरको आईपीओमा भने मागभन्दा बढी आवेदन परेपछि छिटो अवधि भदौ १३ गते नै निष्कासन तथा विक्री बन्द भइसकेको छ । मान्डुको आईपीओमो छिटो अवधिभित्र मागभन्दा झन्डै नौ गुणा बढी आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आए पनि सोही आईपीओ स्थानीयमा भने कतिपय कम्पनीको विकेको छैन । सर्वसाधारणमा विकेको मान्डु हाइड्रोपावरको आईपीओ पनि स्थानीयमा ७९ हजार ३० कित्ता विक्री हुन सकेको थिएन । कम्पनीले स्थानीयमा २ लाख ७२ हजार ७३० कित्ता आईपीओ छुट्ट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको उक्त आईपीओ समेत सर्वसाधारणमा विक्री भएको छ ।

अहिले आयोजना प्रभावित स्थानीयमा सोनापुर मिनरल्स् एन्ड आयलको आईपीओ विक्रीमा छ । साउन २९ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओ छिटो अवधि भदौ ११ गतेसम्म स्थानीयमा नबिकेपछि अवधि थप गरी भदौ २६ गतेसम्मको मिति तय गरिएको छ । यो कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रूपैयाँ थप गरी प्रतिशेयर २२५ रुपैयाँमा आईपीओ विक्रीमा ल्याएको हो ।

त्यस्तै प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यमा साउन ३२ गतेदेखि विक्रीमा आएको हिमालयन ८०–२० योजनाको एकाइ पनि छिटो अवधि भदौ ४ गतेसम्म नबिकेपछि भदौ १५ गतेसम्मको विक्री मिति तय गरिएको छ ।

चार कम्पनीको हकप्रद शेयर खरीदका लागि परेको आवेदनको तथ्यांक हेर्दा पनि तोकिएको अवधिभित्र सम्पूर्ण कित्ता बिक्ने सम्भावना कम देखिन्छ । यसअघि हकप्रद जारी गरेको नेशनल हाइड्रोपावरको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता हकप्रद शेयर नबिकेपछि भदौ १३ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले ५० प्रतिशत दरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ६८ लाख ८४ हजार ७१७ कित्ता मात्र वितरण भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म जेठ ३२ गतेसम्म कायम शेयरधनीका लागि हकप्रद शेयर जारी गरेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारणतर्फ वितरण हुन नसकेको १३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)