काठमाडौं । गत शनिवार भदौरे झरी परिरहेका बेला काठमाडौंको मैतिदेवी मन्दिरअगाडि विक्रम शाहीसहित अन्य युवाहरू लाखे नाच प्रदर्शनीको तयारी गर्दै थिए । तीमध्ये कोही नायः खिं बाजा बजाउँदै थिए त कोही भुस्या । मैति लाखे नाचमा नायः खिं बाजा र भुस्या बजाउने गरिन्छ ।
लाखे नाच प्रदर्शन गर्ने टोलीमा रहेकामध्ये जिजस शाही दोस्रो पटक लाखे बन्दै थिए भने झ्यालिन्चा विशाल खड्गी थिए ।
त्यसको केही समयपछि मैति लाखे नाच प्रदर्शन गरियो । लामो समयदेखि बन्द भएको उक्त नाच देखेर स्थानीय दंग बने ।
स्थानीय तथा लाखे नाचसम्बन्धी जानकार एवं नाच सञ्चालनका लागि खटिएका (कृष्ण) निरव शाहीका अनुसार यो नाच २०५० सालतिर बन्द भएको थियो । यस आधारमा उक्त नाच बन्द भएको तीन दशक भइसकेको छ । आर्थिक भार र नाच निकाल्न चाहिने जनशक्ति नहुँदा त्यतिबेला उक्त नाच बन्द भएको जानकार बताउँछन् ।
तर, मैतिदेवी परिसरका स्थानीय युवा र अग्रज तथा स्थानीय मैतिदेवी युनाइटेड क्लबको जमर्काेमा र केही दातृ निकायहरूको आर्थिक सहयोगमा यो वर्ष उक्त नाच फर्किएको छ ।
यही भदौ ४ गते (नाग पञ्चमी)देखि शुरु भएको उक्त नाच जारी छ । नाच शुरु हुनुअघि ललितपुरबाट बनाइएको लाखे मुकुटको विधिअनुसार तान्त्रिक पूजा गरिएको थियो । उक्त नाचमा झुमेको छ काठमाडौं । नाच यही भदौ २० गते (कृष्ण अष्टमी)मा लाखेको वधसँगै समापन हुनेछ ।
यो वर्ष लाखे नाच प्रदर्शनका लागि १० जना र बाजा बजाउनका लागि अन्यले प्रशिक्षण गरेका छन् । उनीहरूलाई असनका अनुप खड्गीले नाच तथा बाजा प्रशिक्षण दिएका हुन् ।
नाच सञ्चालनका लागि खटिएका स्थानीय अगुवा शाहीले आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिने बताए ।
नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन् । तीमध्ये प्रायः नाच देवीदेवताका हुन्छन् । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौंमा देखाइन्छ ।