ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेल उद्योग संकटमा 

२०८० भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज। भारतीय भन्सार महशुल (सीमा शुल्क) नीतिको भरमा लगानी बढाएका स्वदेशका खानेतेल उद्योग अहिले संकटमा परेका छन् । एक समय भारत निकासी गरेर राम्रै कमाइ गरेका स्वदेशका करीब २ दर्जन खानेतेल उद्योग अहिले नाफा कमाउन होइन, घाटा कम गर्न जसोतसो सञ्चालनमा छन् । 

भारतले आफ्नो देशका तेलहन उत्पादक र किसानलाई संरक्षण गर्न आयातमा उच्च दरको शुल्क लगाउँदा त्यसको फाइदा उठाउन धमाधम लगानी गरेका उद्योगी अहिले समस्यामा परेका हुन् । भारतले अप्रशोधित खानेतल आयातमा ४० प्रतिशतसम्म शुल्क लगाउँदा नेपालबाट ठूलो परिमाणमा तेल निकासी भएको थियो । त्यसबेला तेलको भाउ निकै उकालो लागेको थियो ।

नेपालका उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । नेपालमा कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) तिर्नुपर्छ । त्यो पनि तेल निकासी गरेपछि उद्योगीले फिर्ता पाउँछन् । भारतमा अन्य देशबाट तेल आयातमा ४० प्रतिशत शुल्क तोकिए पनि नेपालबाट साफ्टा सुविधामा शून्यदेखि ५ प्रतिशतसम्म शुल्क तिरेर निकासी हुने गरेको थियो । कोरोना महामारी र त्यसैबीच शुरू भएको रूस–युक्रेन युद्धले खाद्यान्न आपूर्तिमा देखिएको अवरोधपछि नेपाली तेल उद्योगका संकटका दिन शुरू भएको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानको भोगाइ छ । 

एक समय भारतीय तेल उत्पादक र त्यहाँका किसानको हित संरक्षणका लागि आयातमा उच्च दरको शुल्क लगाएको भारतले पछिल्लो समय मूल्य नियन्त्रणका लागि अप्रशोधित तेल आयातमा शून्य शुल्कको नीति अपनाएको छ । 

भारतले वर्ष २०२२/२३ र २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर पूर्णरूपमा हटाएको छ । यी दुई आर्थिक वर्षमा भारतमा ८० लाख टन अर्धप्रशोधित तेल आयात शुल्क नतिरी भित्रिनेछ । यो परिमाणबाहेकको आयातमा २ दशमलव ५ प्रतिशत शुल्क लिने नीति छ । अहिले स्वदेशी उद्योगीले लागतभन्दा पनि कम मूल्यमा तेल निकासी गरिरहेका छन् । उत्पादन बन्द गर्दा झन् धेरै नोक्सानी हुने भएपछि कम मूल्यमा निकासी गरेरै भए पनि घाटा कम गर्ने उपाय अपनाउनुपरेको एक उद्योगीले बताए । अहिले निकासी निकै घटेको छ । स्वदशी बजारमा पनि खानेतेलको भाउ घटेको छ । 

नेपालमा अहिले २२ ओटा उद्योगले तेल उत्पादन गर्छन् । तीमध्ये वीरगञ्ज क्षेत्रमा १४ र अन्य विराटनगर र भैरहवामा छन् । स्वदेशी उद्योगको वार्षिक उत्पादन क्षमता २५ लाख टन पुगिसकेको छ । स्वदेशी बजारको खपत भने ५ लाख टनमात्रै रहेको उद्योगी चाचान बताउँछन् । 

भारत निर्यातलाई लक्षित गरी नयाँ उद्योग आएका थिए । पुराना अधिकांशले लगानी थपेका थिए । निकासी प्रभावित भएपछि पाइप लाइनमा रहेका पाँचमध्ये केही उद्योग पछि हटेका छन् । अहिले सञ्चालनमा रहेका सबै उद्योगले उत्पादन खुम्च्याएका छन् । यस्ता उद्योगले अहिले क्षमताको १० देखि १५ प्रतिशतमात्र उत्पादन गरिरहेको उद्योगीहरू बताउँछन् । 

भारतले तेल आयातमा शून्य शुल्कको नीति लिएपछि नेपालबाट निकासी ओरालो लागेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । बाहिरबाट कच्चा पदार्थ ल्याएर निकासी गर्दा अब फाइदा नहुने उनी बताउँछन् । ‘ढुवानी र भन्सार महशुलका कारण यो सम्भव छैन । स्वदेशमै कच्चा पदार्थ उत्पादनलाई प्रोत्साहन गर्ने हो भने भविष्यमा सम्भव हुन पनि सक्छ । यसका लागि सरकारले भटमास, सूर्यमुखी र तोरीलायत तेहहन खेतीमा किसानलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ,’ उद्योगी रुंगटाको सुझाव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)