ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ओटीसी’ बजारमा कारोबार बढ्दै

२०८० भदौ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । ‘ओभर द काउन्टर (ओटीसी)’ बजारमा पछिल्ला वर्षहरूमा कारोबार बढ्दै गएको छ । विशेषगरी धितोपत्र दोस्रो बजारबाट सूचीकरण खारेज भएका तथा सूचीकरण प्रक्रियामा नआएका कम्पनीहरूको धितोपत्रको कारोबार ओटीसी बजारमा हुने गरेको छ । धितोपत्र दलाल व्यवसायीको सहयोगविना नै खरीदकर्ता र विक्रीकर्ताको सहमति मूल्यका आधारमा ओटीसी बजारमा वार्षिक अर्बौं रुपैयाँको धितोपत्र कारोबार हुने गरेको नेप्सेले जानकारी दिएको छ । धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेप्सेले छुट्टै काउन्टरमार्फत ओटीसी बजारसमेत आफ्नै कार्यालयमा सञ्चालन गर्दै आएको छ ।

नेप्सेले उपलब्ध गराएको पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा ओटीसी बजारमा आर्थिक वर्ष (आव) २०७७/७८ मा सबैभन्दा बढी धितोपत्र कारोबार भएको देखिन्छ । उक्त वर्ष २ अर्ब ९३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ८६ हजार ६५१ कित्ता धितोपत्र कारोबार भएको थियो । त्यसअघि आव २०७५/७६ मा २ अर्ब १६ करोड ६७ लाख ५५ हजार रुपैयाँँ बराबरको १ करोड ६७ लाख ८१ हजार ८५५ कित्ता धितोपत्र कारोबार भएको थियो । पाँच आवको तथ्यांक हेर्दा आव २०७६/७७ र २०७८/७९ मा भने ओटीसी बजारमा २ अर्ब रुपैयाँँभन्दा कमको धितोपत्र कारोबार भएको छ । आव २०७६/७७ मा १ अर्ब ८९ करोड ७ लाख ५५ हजार रुपैयाँँ बराबरको ७२ लाख ४८ हजार २५ कित्ता र आव २०७८/७९ मा १ अर्ब ५३ करोड ६३ लाख ७४ हजार रुपैयाँँको १ करोड १७ लाख ९ हजार ७६१ कित्ता धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

गत आव २०७९/८० मा भने २ अर्ब ८५ करोड ८४ लाख १९ हजार रुपैयाँँ बराबरको २ करोड १२ लाख ६४ हजार ९५ कित्ता धितोपत्र कारोबार भएको हो । कित्ताको हिसाबमा भने गत आवमा पाँच आवकै सर्वाधिक कारोबार भएको देखिन्छ । प्रिमियमबाहेक प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को शेयर खरीद गर्न पाउने व्यवस्था धितोपत्रको प्राथमिक बजारमा हुन्छ । ओटीसी बजारमा खरीदकर्ता तथा विक्रीकर्ताको सहमति मूल्यका आधारमा कारोबार हुने भएकाले मूल्यमा निश्चितता हुँदैन । 

ओटीसी बजारमा बढी मूल्यमा शेयर कारोबार भएको कम्पनीले आईपीओ जारी गर्दा त्योभन्दा कम मूल्यमै विक्री गरेको अवस्था पनि छ । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणमा प्रतिकित्ता ५० रुपैयाँँ अंकित मूल्यमा शेयर विक्री गरेको छ । ओटीसी बजारमा प्रतिकित्ता ८६ रुपैयाँँमा कारोबार भएको कम्पनीले उक्त मूल्यभन्दा कममै आईपीओ विक्री गरेको हो । गत जेठ २३ गतेको ओटीसी बजारको कारोबार हेर्दा हाथवे इन्भेष्टमेन्टको प्रतिकित्ता ८६ रुपैयाँँमा ३ लाख ५७ हजार २९५ कित्ता शेयर कारोबार भएको देखिन्छ ।

ओटीसी बजारको इतिहास

नेपालमा २०६५ जेठ २२ गतेदेखि ओभर द काउन्टर (ओटीसी) बजार सञ्चालनमा आएको हो । धितोपत्रको दोस्रो बजारमा सूचीकृत हुन नसकेका र सूचीकरण खारेज भएका कम्पनीहरूको धितोपत्र लगानीमा तरलता उपलब्ध गराउने उद्देश्यले ओटीसी बजार सञ्चालनमा ल्याइएको हो । ओटीसी बजारसम्बन्धी विनियमावली, २०६५ बमोजिम धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई उक्त बजार सञ्चालनका लागि २०६५ साल जेठ १४ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । नेप्सेले आफ्नो स्वचालित कारोबारबाहेक छुट्टै काउन्टर खोलेर खरीदकर्ता र विक्रीकर्ताको आपसी समझदारीमा ओटीसी बजारमार्फत धितोपत्र कारोबार गराउँदै आएको छ ।

शनिवार र सार्वजनिक बिदाबाहेकका दिन कार्यालय समयमा ओटीसी बजारमा कारोबार हुन्छ । धितोपत्र दलाल व्यवसायीविना नै यो बजारमा कारोबार हुने गरेको छ । धितोपत्रको दोस्रो बजार पनि नेप्सेले शुक्रवार, शनिवार तथा सार्वजनिक बिदाबाहेकका दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्छ । धितोपत्र बजार सञ्चालन विनियमावलीमा भएको व्यवस्थाबमोजिम धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीको धितोपत्र, सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक लिमिटेड कम्पनी तथा सरकारी संस्थाले सार्वजनिक गरेका धितोपत्रहरू ओटीसी बजारमा कारोबार हुने गर्छ । धितोपत्र बजारले खारेज गरेका कम्पनीको धितोपत्र स्वत: ओटीसी बजारमा कारोबार हुन्छ भने त्यसबाहेकका संगठित संस्थाले कारोबारका लागि धितोपत्र ओटीसी बजारमा सूचीकृत गराउनुपर्छ । 

ओटीसी बजारको विकास योजना

नेप्सेले ओटीसी बजारको थप विकास र विस्तारका लागि विशेष ध्यान दिएको छ । यस वर्षको नीति तथा कार्यक्रममै नेप्सेले ओटीसी बजार विस्तार गर्ने उल्लेख गरेको छ । ओटीसी बजारको थप विकास र विस्तारका लागि आवश्यक विषय अध्ययन गर्न परामर्शदाता छनोट र परामर्शदाताबाट अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेश गर्ने योजनाबमोजिम काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिएका छन् । नेप्सेले ओटीसी बजार विनियमावली संशोधन गर्ने योजनासमेत बनाएको पराजुलीको भनाइ छ । धितोपत्र बजारलाई पूर्ण प्रविधिमैत्री अवस्थामा पुर्‍याइसकेको नेप्सेले ओटीसी बजारलाई प्रविधिसँग जोड्ने विषयसमेत प्राथमिकतामा राखेको पराजुलीले बताए । काजगी रूपमै कारोबार हुँदा समेत वार्षिक अर्बौं रकमको कारोबार हुने ओटीसी बजारलाई समेत प्रविधिमैत्री बनाउनुपर्ने माग लगानीकर्ताको छ । 

सर्वसाधारणमा ओटीसी बजारबारे धितोपत्रको प्राथमिक बजार र दोस्रो बजारको जस्तो जानकारी नभएको पराजुलीले बताए । अन्य देशमा बजार सञ्चालकबाहेकले ओटीसी बजार चलाउने गरे पनि नेपालमा नेप्सेले नै यो काम गरिरहेको छ । सूचीकृत नभएका वा हुन नचाहने कम्पनीका शेयरधनीका लागि ओटीसी बजार प्रभावकारी हुने भएकाले यो बजारको विकासको लागि आवश्यक नीति ल्याउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने नेप्सेको भनाइ छ । धितोपत्र बजारको विकास र विस्तारका लागि पहिलो प्राथमिकतामा रहेको वित्तीय साक्षरता अभियानामा धितोपत्रको प्राथमिक बजार र दोस्रो बजारसँगै ओटीसी बजारका विषयसमेत राख्नुपर्ने नेप्सेको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)