ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवलपुरका तीन स्थानमा सवारी साधन स्क्यानर राखिने

२०८० भदौ, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

नवलपुर (नवलपरासी पूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । 

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षाका लागि तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिए ।  

गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एक मात्रै जिल्लाका रूपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैंडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान गर्ने अत्याधुनिक मेसिन राख्न र सीसीटीभी क्यामेरा जडान गर्न तयारी भएको तिवारीले बताए ।  

देशकै सबैभन्दा लामो राजमार्ग पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने जिल्लाका तीनओटै स्थानमा राखिने सवारीसाधन स्क्यान मेसिनले सवारीसाधनसहित चालक एवं आवश्यकता अनुसार यात्रुको पनि स्वचालितरूपमा स्क्यानिङ गरी अभिलेख राख्ने उनले बताए । 

स्क्यान मेसिन जडान भएपछि जिल्लाको समग्र सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । राजमार्गमा सवारीसाधन स्क्यान मेसिन राख्नका लागि जिल्ला प्रहरी कार्यालय, नवलपुरले यसअघि नै सरकारलाई आग्रह गरेको उनले जानकारी दिए । 

जिल्ला प्रहरी प्रमुख तिवारीले सरकार र सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरण राखिदिन सहमति जनाएको बताए । 

सवारीसाधन स्क्यान गर्ने मेसिन र सीसीटीभी क्यामेरा जडान गर्न र चेकपोस्ट राख्न झण्डै रु ६ करोड लाग्ने अनुमान गरिएको उनको भनाइ छ । 

राजमार्गमा जडान गर्न लागिएको स्क्यान मेसिनसहित चेकपोष्ट र सीसीटीभी क्यामेरा जडानको सबै खर्च एशियाली विकास बैंक (एडीबी)ले व्यहोर्ने सहमति भएको तिवारीले जानकारी दिए । 

नारायणगढ–बुटवल सडकखण्ड विस्तारले पूर्णता पाएसँगै तीनओटै स्थानमा सवारीसाधन स्क्यान मेसिन तथा सीसीटीभी क्यामेरा जडानको काम हुनेछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)