काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको स्थिति खस्कँदै गएको एक प्रतिवेदनले देखाएको छ ।
अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) ले हालै जारी गरेको पारस्परिक मूल्यांकन प्रतिवेदनले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको स्थिति कमजोर रहेको देखाएको हो ।
प्रतिवेदनमा खासगरी जोखिम तथा साधारण अवस्थासम्बन्धी बुँदामा भ्रष्टाचार, राजस्व छली र मानव बेचबिखनलाई नेपालमा सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रमुख चुनौतीका रूपमा देखाइएको छ । यी कुराहरूले अर्थतन्त्रमा नकारात्मक असर र सामाजिक दुष्प्रभाव निम्त्याइरहेको बताइएको छ ।
‘लागूऔषध ओसारपसार, सुन तथा मुद्रा तस्करी र वातावरणसँग जोडिएका अपराधका लागि नेपालको खुला सिमाना मुख्य जोखिम हुन्, जसले घरेलु र विदेशी सम्भावित अपराधलाई जोड्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बैंकिङ, सहकारी, बहुमूल्य धातु र रत्नहरूका व्यापार, क्यासिनो र विप्रेषण सेवाहरू जोखिममा छन् । नेपालमा पनि हुन्डीको प्रचलन छ ।’
मङ्सिर १९ देखि पुस १ गतेसम्म नेपालमा आएर एपीजीले स्थलगत मूल्यांकन गरेको थियो । त्यस क्रममा एपीजी र नेपालको टोलीले सम्पत्ति शुद्धीकरण र आतंकवादमा आर्थिक व्यवस्थापन रोकथाममा नेपालको अवस्थाको अध्ययन गरेका थिए । नेपालमा हुने वित्तीय अपराधको अवस्था र तिनलाई नियन्त्रण गर्ने पद्धति तथा संयन्त्र र कामको आधारमा तयार उक्त अध्ययनको मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको हो ।
टोलीले अध्ययनको पहिलो मस्यौदा माघ १९ गते नेपाललाई बुझाएको थियो । मस्यौदामा सोधिएका प्रश्नको जवाफसहित नेपालले एफएटीएफको वार्षिक साधारणसभामा प्रस्तुत भई प्रतिरक्षा गरेको थियो । जुलाई ९ देखि १४ सम्म क्यानडामा भएको एपीजीको २३औं वार्षिक साधारणसभामा नेपालको अवस्थाबारे छलफल भएको थियो ।
सन् २०१३ मा एफएटीएफले मूल्यांकनका लागि प्रभावकारिताका ११ सूचक र प्राविधिक अनुपालनका ४० सूचक बनाएको छ, पारस्परिक मूल्यांकन त्यसैमा आधारित हुन्छ । यसअघि आएको प्रतिवेदनको पहिलो मस्यौदामा प्रभावकारिताका ११ सूचकमा नेपालको मूल्यांकन गरिएको थिएन । हालै सार्वजनिक भएको पारस्परिक मूल्यांकनमा भने प्रभावकारिताका ११ सूचक पनि समावेश छन्, जसमा नेपालको अवस्था सन्तोषजनक देखिँदैन । एपीजीको प्रतिवेदनअनुसार नेपालको ११ मध्ये एउटा पनि सूचकमा सन्तोषजनक नतिजा देखिँदैन । प्रतिवेदनमा ७ सूचकलाई ‘लो’ (न्यून) र ४ सूचकलाई ‘मोडरेट’ (आंशिक) प्रभावकारी भनी उल्लेख गरिएको छ ।
सूचकअन्तर्गत जोखिम, नीति तथा समन्वय, अन्तरराष्ट्रिय सहयोग, वित्तीय खुफिया संयन्त्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा अभियोजन आंशिक प्रभावकारी रहेको उल्लेख छ ।
त्यस्तै पर्यवेक्षण, रोकथामका उपायहरू, कानूनी जनशक्ति तथा व्यवस्था, जफत, अनुसन्धान तथा अभियोजन, रोकथामका उपाय तथा वित्तीय प्रतिबन्धहरू र वित्तीय प्रसारमा प्रतिबन्ध न्यून रहेको बताइएको छ ।
एफएटीएफका प्राविधिक अनुपालनका ४० सूचकमध्ये पाँचओटा सूचक सिफारिशअनुरूप र १६ ओटा धेरै हदसम्म त्यसअनुरूप रहेको पारस्परिक मूल्यांकन प्रतिवेदनले देखाएको छ । १९ ओटा सूचक सन्तोषजनक, १६ सूचक आंशिक मात्र अनुपालन भएको र ३ ओटा अनुपालन हुँदै नभएको प्रतिवेदनले देखाएको छ । प्रारम्भिक प्रतिवेदनमा पनि ४० सूचकले सम्पत्ति शुद्धीकरण तथा आंतककारी गतिविधिमा लगानी रोकथाममा नेपालको स्थिति खस्कँदै गरेको देखाएको औंल्याइएको थियो । प्राविधिक अनुपालनका ४० सूचकमध्ये एउटामा मात्र प्रगति भएको र ६ ओटामा नेपालको स्थिति झन् खस्किएको देखाइएको थियो । १८ सूचकमा नेपालको स्थिति सन्तोषजनक थियो । १७ ओटामा केही मात्र काम भएको र तीनओटा सूचक नेपालले अनुपालन नगरेको अवस्था थियो । अनुपालन नभएका सूचकहरू हतियार विस्तारमा प्रतिबन्ध, गैरसरकारी संस्था निगरानीसम्बन्धी व्यवस्था र सम्पत्ति शुद्धीकरणलाई सघाउने प्रविधिको प्रयोगलगायत थिए ।
नेपालको अघिल्लो मूल्यांकन सन् २०११ जुलाईमा भएको थियो । सन् २०१० देखि २०१४ सम्म नेपाललाई एफएटीएफले थप अनुगमनका लागि निगरानीमा राखेको थियो । नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्ने व्यवस्थामा सुधार गरेपछि २०७१ असार १३ गते खैरो सूची (ग्रे लिस्ट)बाट हटाइएको थियो ।
नेपाल अहिले एफएटीएफको खैरो सूचीमा पर्नबाट १ वर्षका लागि जोगिएको छ । तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धतापछि नेपाललाई सूक्ष्म निगरानीमा राख्दै सुधारका लागि १ वर्षको समय दिइएको हो ।
कानून निर्माणमा तदारुकता नदेखाउँदा नेपाल यसअघि एकपटक एपीजीको निगरानी सूचीमा परिसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत संरचना स्थापना गरेपछि नेपाल उक्त सूचीबाट उम्किएको थियो । विभागले हालसम्म ५८ ओटा घटनामा अनुसन्धान गरी ४५ ओटा मुद्दा दायर गरेको छ ।
नेपालले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा उच्चस्तरको प्रतिबद्धताका साथै ठूलो स्रोत परिचालन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । जनशक्ति लगायत स्रोत थपेर गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको प्रभावकारिता बढाउन, निकायबीच समन्वय बढाउन, पारस्परिक कानूनी सहायताको संयन्त्रलाई सुव्यवस्थित गर्न र अन्तरराष्ट्रिय नियामकसँग सहकार्य गर्न प्रतिवेदनमा जोड दिइएको छ ।
सम्पत्ति शुद्धीकरणको जोखिमबारे सार्वजनिक र निजीक्षेत्रको बुझाइ बढाउनुपर्ने, सम्पत्ति शुद्धीकरणविरोधी र व्यवसाय प्रवर्द्धनसम्बन्धी कानूनमा संशोधन र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ
मुख्य सुझाव