ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण घट्दो

२०८० भदौ, २५  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। कुनै समय धितोपत्रको दोस्रो बजारमा आकर्षक मानिने वाणिज्य बैंकको शेयरमा केही वर्षयता लगानीकर्ताको रुचि घटिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको ३ आर्थिक वर्ष (आव) को तथ्यांकले यस्तो देखाएको हो । बजार पूँजीकरणको हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा सबैभन्दा सस्तामा दरिएका छन् । 

अनलाइन कारोबार आउनेबित्तिकै लगानीकर्ता वाणिज्य बैंकको शेयर त शेयर नै होइन भनेझैं छोटो समयमा धेरै प्रतिफल पाउने अन्य क्षेत्रतिर आकर्षित हुँदा वाणिज्य बैंकमा आकर्षण घटेको लगानीकर्ता नवराज दाहाल बताउँछन् । 

यसमा शेयर धितो कर्जा सीमाको प्रभाव पनि परेको उनको भनाइ छ । शेयर कर्जाको सीमाप्रति लगानीकर्ताको धारणा सकारात्मक छैन । उनीहरूमा शेयर धितोमा कर्जा लिँदा जुनसुकै बेला दबाबमा परेर बेच्नुपर्छ त्यसैले किनेर काम छैन भन्ने बुझाइ छ । ‘हामीले वाणिज्य बैंकको शेयर खरीद गर्ने भनेको कर्जा लिन हो । त्यसबाट कर्जा बढी पाइन्छ, बैंकले विश्वास गर्छ भनेर होे । तर, राष्ट्र बैंकले केही नीतिगत परिवर्तन गरिदियो भने दबाबमा परेर विक्री गर्नुपर्ने हुन्छ । त्यसैले त्योभन्दा सुरक्षित क्षेत्र रोजेका हुन्,’ दाहालले भने, ‘अर्को कारण वाणिज्य बैंकको घट्दो लाभांश पनि हो । पहिला उनीहरूले राम्रो लाभांश दिन्थे । अचेल मर्जरपछि बढेको पूँजीअनुसार व्यवसाय वृद्धि नहुँदा त्यसो गर्न सकिरहेका छैनन् । हिजो वाणिज्य बैंकले दिने प्रतिफल अहिले साना कम्पनीले नै दिन्छन् ।’ 

अर्का लगानीकर्ता मञ्जु पराजुली अन्य क्षेत्रका कम्पनीको शेयर संख्याको तुलनामा वाणिज्य बैंकको धेरै भएकाले लगानीकर्ताको आकर्षण कम देखिएको बताउँछिन् । उनका अनुसार वाणिज्य बैंकको शेयर धेरै जनाको हातमा भएकाले यसलाई अन्य क्षेत्रको शेयर जस्तो चलखेल गरेर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था छैन । पछिल्लो त्रैमासिक वित्तीय विवरणहरूले वाणिज्य बैंकहरुको खराब कर्जा निकै बढेको देखाएका छन् । यसकारण पनि लगानीकर्ताको रोजाइमा तिनको शेयर नपरेको हो । 

नेप्सेको पछिल्लो ३ आवको तथ्यांक हेर्दा वाणिज्य बैंकको शेयर कारोबार अंश निकै घटेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा कुल कारोबारमा वाणिज्य बैंकको अंश २५ दशमलव ९९ प्रतिशत रहेकोमा आव २०७९/८० मा आइपुग्दा १४ दशमलव ३१ प्रतिशतमा झरेको छ ।

शेयर धितो कर्जामा सीमा, घट्दो लाभांश दर, ठूलो सेयर संख्या र बढ्दो खराब कर्जा मुख्य कारण

आव २०७७/७८ मा वाणिज्य बैंकको कुल ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको ९५ करोड १ लाख कित्ता शेयर कारोबार भएकोमा गत आवमा आउँदा ६६ अर्ब ८५ करोड बराबरको २१ करोड ७२ लाख ४० हजार कित्ता मात्र कारोबार भएको देखिन्छ । 

जलविद्युत् समूहको शेयर कारोबार भने बढ्दो छ । आव २०७७/७८ मा कुल कारोबारमा यो समूहको अंश १५ दशमलव २७ प्रतिशत रहेकोमा गत आवमा बढेर २७ दशमलव ८८ प्रतिशत पुगेको छ । पछिल्लो समय सूचीकृत जलविद्युत् कम्पनीको संख्या बढेसँगै शेयर कारोबार बढेको हो । यस समूहका कम्पनीको शेयर संख्या कम भएकाले चलखेल गरेर मूल्य घटबढ गराउन सक्ने स्थिति पनि छ । यसकारण पनि यस्ता कम्पनीका शेयर बढी किनबेच भएको ठान्छन् लगानीकर्ता । 

होटेल तथा पर्यटन समूहको शेयर कारोबार पनि पछिल्लो समय बढिरहेको छ । आव २०७७/७८ मा कुल कारोबारको शून्य दशमलव ८१ प्रतिशत अंश होटेल समूहले ओगटेकोमा गत आवमा बढेर ३ प्रतिशत पुगेको छ । 

कोरोना महामारीले थला परेको होटेल तथा पर्यटन क्षेत्र अहिले उल्लेख्य रूपमा अगाडि बढेको छ । गत आव २०७९/८० को शुरूमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटेल व्यवसाय खस्किएको थियो । वर्षको अन्त्यतिर आइपुग्दा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा विदेशी पर्यटक आगमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको कारोबार उल्लेख्य बढ्दा यी कम्पनीको नाफा पनि बढेको छ । यसले पनि यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढाएको मानिएको छ । केही महीनायता यस समूहका कम्पनीको शेयर मूल्य दोब्बर भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)