ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण: पोखरा विमानस्थलको ऋण मिनाहा प्रस्ताव चीन लैजाने सरकारको तयारी

२०८० भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। चिनियाँ लगानीको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट राज्य सशंकित देखिएको छ । २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानी रहेको उक्त विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन मुश्किल परेपछि राज्य संशकित बनेको हो । 

त्यसैले सरकारले ऋण मिनाहाका लागि चीन सरकारसामु प्रस्ताव लैजाने गृहकार्य गरेको छ । उक्त ऋण मिनाहाका लागि सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका बेला प्रस्ताव लैजान गृहकार्य गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ । ‘भ्रमणका क्रममा हुने दुईपक्षीय उच्चस्तरीय बैठकहरूमा ऋण मिनाहाका लागि प्रस्ताव गर्ने गृहकार्य भएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना उच्च अधिकारीले भने । यससँग सम्बद्ध प्रस्ताव परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयको समन्वयमा बनाउने तयारी छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने उच्चस्तरीय बैठकहरूमा सरकारी अधिकारीहरूले यससम्बन्धी प्रस्ताव गर्ने तयारी भएको स्रोतको भनाइ छ । अपेक्षाअनुसार अन्तरराष्ट्रिय उडान नहुँदा पोखरा विमानस्थलको ऋणको साँवाब्याज सरकारले नै भुक्तानी गर्नुपर्ने देखिएको छ । 

सन् २०१६ मा उक्त विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै निर्माण शुरू भएको विमानस्थल गतवर्ष पुस १७ बाट सञ्चालनमा आएको हो । पहिलो ७ वर्षसम्म ऋण तिर्न नपर्ने र त्यसपछि २० वर्षमा तिरिसक्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार सरकारले पहिलो किस्ता २०७९ चैतमा ५ करोड ३० लाख २८ हजार ४६५ युआन (करीब ८५ करोड रुपैयाँ) बुझाएको थियो । सम्झौताअनुसार आउने असोज १ गते दोस्रो किस्ता बुझाउनुपर्छ ।

कुल ऋण रकममध्ये २५ प्रतिशतमा ब्याज मिनाहा छ, साँवामात्रै फर्काए हुन्छ । ७५ प्रतिशतको साँवाब्याज दुवै बुझाउनुपर्छ । वार्षिक करीब पौने २ अर्ब रुपैयाँ साँवाब्याज चीनको एक्जिम बैंकलाई बुझाउनुपर्छ । २०९२ सालसम्म हरेक ६ महीनामा साँवाब्याजको किस्ता बुझाउनुपर्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने अहिलेको स्थितिमा पोखरा विमानस्थलको कमाइबाट साँवाब्याज तिर्ने अवस्था नभएको बताउँछन् । ‘यस्तै अवस्था रहने हो भने विमानस्थलको कमाइबाट तिर्न सक्ने स्थिति रहँदैन,’ उनले भने, ‘अरू विमानस्थलको कमाइको सहारा लिर्नुपर्छ ।’ 

उनी पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा अघि बढाउनुको विकल्प नभएको बताउँछन् । तर, सञ्चालनमा आएको ८ महीना भइसक्दा नियमित अन्तरराष्ट्रिय उडानको टुंगो छैन । उक्त विमानस्थलबाट हालसम्ममा जम्मा दुईपटक अन्तरराष्ट्रिय उडान भएको छ ।

पछिल्लोपटक भदौ २३ मा अन्तरराष्ट्रिय उडान भएको छ । भुटानको पारो विमानस्थलबाट तीन जना यात्रु लिएर पोखरा विमानस्थलमा जहाज अवतरण गरेको थियो । त्यसको केही समयपछि ४२ अमेरिकी पर्यटक बोकेर उक्त जहाज भुटान फर्किएको थियो ।

यसअघि असार ६ गते फेवातालमा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’मा भाग लिने ८४ जना चिनियाँ बोकेर सिचुआन एयरलाइन्सको जहाज पोखरा ओर्लेको थियो । 

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई चीनले दिएको ऋणबारे पनि द्विविधा छ । चीनले यसलाई उसको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ सहयोगको प्रमुख परियोजना भनेको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले विमानस्थल उद्घाटनकै दिन नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै भनेका थिए, ‘पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो । नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’ तर, नेपालका अधिकारीहरूले त्यसो नभएको बताउँदै आएका छन् । 

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा थन्केर बसेका चिनियाँ जहाजको किस्ता मिनाहाको लागि पनि प्रस्ताव गर्ने तयारी छ । आसन्न चीन भ्रमणलाई लिएर प्रधानमन्त्री दाहालले आइतवार सर्वदलीय बैठक बोलाएर छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायत सहभागी थिए । बैठकमा उनीहरूले सन्तुलित छिमेक नीति र विकासका मुद्दामा ध्यान दिन सुझाएका छन् । छलफलमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको जानकारी दिनुभयो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)