ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६१ औं वार्षिकोत्सव विशेष: सेवा र व्यापारमा सफलताको ६ दशक

२०८० भदौ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

कृषकले सहज रूपमा युरिया मल पाउन नसकेका बेला उक्त जिम्मेवारी पूरा गर्न कर्पोरेशन पछि परेन । जिम्मेवारी पाएका अन्य निकायले मल आयात गर्न नसकेको अवस्थामा कर्पोरेशनले मल आपूर्तिलाई तत्कालीन समयमा प्राथमिकतामा राखेको देखिन्छ ।

काठमाडौं। नेपालमा सार्वजनिक संस्थानहरूले त्यति राम्रो उपलब्धि हासिल गर्न नसकिरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफूलाई सफल संस्थानको रूपमा उभ्याउन सफल भएको छ । दशकौंदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्‍याइरहेको कर्पोरेशन ६१ वर्षमा प्रवेश गरेको छ ।

खासगरी सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालनमा भइरहेको उक्त संस्थानले सार्वजनिक संस्थानहरूकै इतिहासमा नून जस्तो महत्त्वपूर्ण वस्तुको सहज पहुँच बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । आयोडिनयुक्त नून देशभर सहज बनाउन र हरेक वर्ष हुने अभाव एवं कालोबजारी रोक्न पीपीपी मोडलमा साल्ट ट्रेडिङको स्थापना भएको थियो ।

साल्ट ट्रेडिङ बन्नुअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नून आयातकोे अनुमति दिँदै आएको पाइन्छ । साल्ट ट्रेडिङको स्थापनापछि पनि निजीक्षेत्रलाई नून विक्री गर्न दिने प्रयास भएको थियो । त्यस्तो प्रयासस्वरूप नून उद्योग नै स्थापना भएर आपूर्ति शुरू भए पनि पछि सरकारले साल्ट ट्रेडिङभन्दा अन्यलाई आयात गर्न नदिने नीति लियो । उक्त नीतिविरुद्ध एउटा नून उद्योगले हालेको मुद्दा सर्वाेच्च अदालतले २०६१ सालमा खारेज गरिदिएको थियो । साल्ट विभिन्न चुनौती, उतारचढाव, आरोह–अवरोह पार गर्दै अघि बढेको सरकारी संस्थान हो । साल्ट ट्रेडिङले अहिले आफ्नो उद्देश्यअनुसार गुणस्तरीय विक्रीवितरण, मूल्यमा एकरूपता र उपलब्धतामा सुनिश्चितता जस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको छ । तत्कालीन समयमा जनतालाई सहज रूपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै नूनसँँगै अन्य उत्पादनका लागि पनि लगानी गर्‍यो । 

कम्पनीले नेपालमै पहिलोपटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिलमा लगानी गर्‍यो । त्यस्तै वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेशनल फाइनान्स लिमिटेड लगायतमा पनि लगानी गर्‍यो । सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगसहित गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरीदविक्री, सहुलियतमा चिनी, दाल, गेडागुडी लगायतको व्यापार क्षेत्रमा कम्पनीको लगानी छ । वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना लगायत केही उद्योग हाल बन्द छन् । यद्यपि संस्थाले मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, सहुलियत दरको चिनी, नून, रासायनिक मल र खाद्यान्न व्यापारले भने सफलता हात पारेको छ । 

हेटौंडास्थित खाद्य उद्योग लिमिटेडले २०३० सालदेखि मैदा उत्पादन गरिरहेको छ । व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेशनले नेपालमै उत्पादित कृषि वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीति लिँदै आएको छ । सोहीअनुसार पहिलो उद्योगको रूपमा खाद्य उद्योग लिमिटेड (मैदा मिल) स्थापना गरेको हो । यसबाट सयौं नेपालीले रोजगारी पाएका छन् । उपभोक्ताले नेपाली उत्पादन चाख्न पाएका छन् । नेपाली भूमिमा उत्पादित गहुँको बजारीकरण, प्रशोधन गरी मैदा, आटा, सुजी र चोकर उत्पादन गरेर स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने यसका मुख्य उद्देश्य हुन् ।

राजाको इच्छामा खडा भएको कम्पनी

तत्कालीन राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दा नून खान नपाएको जाहेरी भयो । नून खान नपाएको जाहेरी स्थानीयले सुनाएपछि राजा महेन्द्र त्यहाँबाट काठमाडौं फर्केर नूनको कम्पनी खडा गर्नेतिर लागे ।

तत्कालीन वाणिज्य विभागका निर्देशक गेहेन्द्रदेव पाठकको अध्यक्षतामा नूनको कारोबार गर्ने ठूलठूला ९ व्यापारीहरूलाई समेटेर एउटा समिति बनाई कम्पनी खोलियो । जसमा नूनको व्यापारमा संलग्न मुस्ताङदेखि कृष्णनगर, नेपालगञ्जका व्यापारी थिए । उनीहरूले नै नूनको आयातदेखि भण्डारण गर्ने काम गर्थे । तिनीहरू सबैलाई अनिवार्य सेयर होल्डर बनाएर कम्पनी खडा गरियो । साल्ट ट्रेड्रिङ कर्पोरेशनको स्थापना २०२० भाद्र २७ मा भयो ।

नेपालको भौगोलिक विकटता, यातायात साधन अभाव र आफ्नै स्रोतको नून नभएको अवस्थामा नूनको कारोबार निकै जटिल थियो । सहजै उपलब्ध नहुने, गुणस्तरीय नरहने, मूल्यमा एकरूपता नहुने अवस्थामा कण्ठरोग नियन्त्रणका लागि आयोडिनयुक्त नून सर्वसाधारणलाई उपलब्ध गराउन अनिवार्य थियो । तर, आयोडिनयुक्त नून वितरण एकदमै जटिल थियो ।

आयोडिनको पहुँच विस्तारमा अग्रणी भूमिका

२०३० सालमा नेपाल सरकारले नूनमा आयोडिन मिसाउने नीति लियो । त्यतिबेला नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै सरकारले उक्त नीति लिएको थियो ।

सन् १९६५ को सर्वेअनुसार ५५ प्रतिशत जनता आयोडिनको कमीले हुने रोगबाट कुनै न कुनै रूपमा प्रभावित थिए । डब्ल्यूएचओ, नेपाल सरकारसहितको सहकार्यमा भएको सर्वेमा ४ प्रतिशत मानिस सुस्त मनस्थितिका देखिएका थिए । आयोडिनयुक्त नूनको कमीले हुने रोगहरूका कारण त्यतिबेला अवस्था भयावह थियो । सुस्त मनस्थितिको स्याहार गर्न थप ४ प्रतिशत चाहिन्थ्यो । यसरी ८ प्रतिशत नागरिक देशलाई श्रम दिन नसक्ने अवस्थामा पुग्नु निकै विडम्बना थियो । साथै जनस्वास्थ्यको क्षेत्रमा यो ठूलो चुनौती थियो । यसको समाधानका लागि साल्ट ट्रेडिङ भारतसँग सहकार्य गरेर अघि बढ्यो । २०३० सालपछि साल्ट ट्रेडिङबाट नूनमा आयोडिन मिसाएर विक्री वितरण थालिएपछि रोग निर्मूलन शुरू भयो ।

आयोडिनको कमी हुँदा निम्तिएका समस्या क्रमश: समाधान हुँदै गए । जस्तै, गर्भावस्थामा आयोडिनको कमी भयो भने बच्चा तुहिने, जन्मिए पनि लुलो लँगडो जन्मने, महिलामा बढी रक्तस्राव हुने, महीनावारी अनियमित हुनेजस्ता समस्या समाधान भए । मान्छे मात्रै नभई आयोडिनको कमी भए पशुमा समेत असर पर्ने गर्छ । आयोडिन पर्याप्त भए गाईवस्तुले १५ प्रतिशतभन्दा बढी दूध दिने गर्छन् । अहिले नेपालीको जनस्वास्थ्यमा आयोडिनको कमीका कारण हुने रोगको समस्या छैन ।

सन् २०१६ मा गरिएको अध्ययनमा आयोडिनको कमीले गर्दा जनस्वास्थ्यमा देखिने समस्या निर्मूल भएर गएको पाइयो । उक्त अध्ययनबाट ९४ दशमलव ५ प्रतिशत नागरिकमा यथेष्ट रूपमा आयोडिनयुक्त नून पुगेको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको नूनको मापदण्डअनुसारको नून मुलुकका सबै ठाउँमा पुगेको अध्ययनबाट देखियो । 

तीनओटा मापदण्ड डब्लूएचओले बनाएको छ । कुनै पनि क्षेत्रमा आयोडिनको समस्या छ/छैन भनेर हेर्न डब्लूएचओले त्यस क्षेत्रमा विक्री हुने नूनको प्रडक्शन लेभलमा ५० प्रतिशत पीपीएम आयोडिन भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै खाना खानेबेलामा कम्तीमा १५ पिपिएम आयोडिनको मात्रामा हुनुपर्ने मापदण्ड छ । त्यस क्षेत्रका बालबालिकाको पिसाबबाट निस्कने आयोडिनको मात्रा १०० माइक्रोग्राम प्रतिलिटर भन्दा बढी हुनुपर्ने मापदण्ड डब्ल्यूएचओको छ । यी तीनओटा मापदण्ड भेट्यो भने त्यस क्षेत्रमा आयोडिनको समस्या छैन भन्ने बुझिन्छ । २०१६ मा भएको अध्ययनबाट साल्टले तीनओटै प्यारामिटर भेट्न सफल भएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड नेपालले पूरा गर्न सफल भएअनुसार देशभर आयोडिनयुक्त नूनको पहुँच पुर्‍याउन साल्ट सफल भएको छ ।

नाफामूलक संस्थान

साल्ट ट्रेडिङ कर्पोरेशनले गुणस्तरीय वस्तुहरूको कारोबार गरी आम उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै २०७७/७८ मा रू. १० अर्ब ३९ करोड ९० लाखको कारोबार गरेको थियो ।

विगत पाँच वर्षयता साल्ट ट्रेडिङ कर्पोरेशनले गर्ने कारोबारको अवस्था बढ्दो छ । आर्थिक वर्ष २०७३/७४ मा रू. ८ अर्ब ५८ करोडका वस्तु विक्री वितरण गरेको तथ्यांक छ । त्यस्तै आव २०७४/७५ मा रू. ९ अर्ब ६८ करोडको विक्री वितरण गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले १० अर्ब ३९ करोडको वस्तु विक्री गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७९/८० मा रू. ८ अर्ब ७७ करोड वस्तु विक्री गर्न सफल भएको छ । कर्पोरेशनको नाफा हेर्ने हो भने २०७३/७४ मा रू. ७ करोड ३६ लाख खुद सञ्चालन नाफा निकालेको थियो भने आव २०७४/७५ मा रू. ६ करोड ४३ लाख कमाउन सफल भएको थियो । २०७७/७८ मा कर्पोरेशनले रू. ५ करोड ३३ लाख सञ्चालन नाफा गर्न सफल छ । त्यसपछिका वर्षहरूमा ठूलो मात्रामा वस्तु विक्री गरेर नाफामूलक संस्थाको रूपमा कम्पनीले आफूलाई स्थापित गराएको कम्पनीका विभागीय प्रबन्धक व्रजेशकुमार झा बताउँछन् । आम उपभोक्ताको सेवामा निरन्तर साल्ट ट्रेडिङ कर्पोरेशन व्यापारमा सफल मात्र भएको छैन, सार्वजनिक संस्थानहरूमध्ये नाफा आर्जन गर्न सक्ने संस्थाको रूपमा समेत स्थापित भएको छ । गुणस्तरीय सेवाका कारण पनि कम्पनीको कारोबार बढेको हो,’ झाको भनाइ छ । 

विपद्को डटेर सामना 

साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो संस्था हो, जब जब विपद् आइलाग्छ कर्पोरेशनको भूमिका त्यसैअनुसार बढ्छ । कोभिड महामारीले देशमा भयावह अवस्था सृजना गराउँदा साल्ट ट्रेडिङ डटेर सेवामा लाग्यो । ठाउँठाउँमा मोबाइल भ्यानमार्फत दैनिक उपभोग्य वस्तुहरू पुर्‍याउन साल्ट ट्रेडिङका कर्मचारी खटिए । जनस्वाथ्यका मापदण्ड पालना गरेर कोभिड महामारीको बेला जनताको घरदैलोमा सेवा पुर्‍याउनु सामान्य कुरा थिएन । तर पनि सेवासँगै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कम्पनी महामारीका बेलामा पनि जनजनको घरदैलोमा सेवा पुर्‍याउन लागिरह्यो ।

कोरोना महामारी मात्रै नभई सरकार र साल्ट ट्रेडिङको कुशल व्यवस्थापनकै कारण आयोडिनको कमीले हुने कुनै पनि समस्या अहिले मुलुकमा छैन । ठूलाठूला राजनीतिक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलन, बाढीपहिरो, भूकम्प, नाकाबन्दी, कोभिड लगायतका विपद्को समयमा कर्पोरेशनले नून आपूर्ति कहिल्यै रोकेन । साथै मूल्यमा एकरूपता कायम गरिरह्यो । तेलको आपूर्ति गर्दै आएको आयल निगमले अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि समायोजन गर्छ । कर्पोरेशनले भने जुनसुकै परिस्थितिमा पनि नूनको मूल्यमा कहिल्यै हेरफेर गरेन । कर्पोरेशनले उपलब्धतामा सुनिश्चितता मात्रै नभई सर्वसुलभता समेत कायम राख्दै आएको छ । 

नूनको हाहाकार हुन दिएन

जस्तोसुकै संकटमा पनि साल्टले नूनको हाहाकार हुन दिएन भने मूल्य तथा गुणस्तरमा एकरूपता राख्न सफल भएको देखिन्छ । जस्तै– भारतले २०४६ सालमा नाकाबन्दी गर्‍यो । त्यतिबेला कर्पोरेशनले ६ महीनाको स्टक राखेकाले नूनको मूल्य नबढाई आपूर्ति चुस्त बनाएको थियो । नूनको पर्याप्त भण्डारणले २०७२ सालको नाकाबन्दीमा पनि कुनै समस्या आएन । थोरै मात्र नाफा राखेर दक्षिण एशियामै सस्तो मूल्यमा नून विक्री गर्न साल्ट सफल भइरहेको छ । कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठका अनुसार कोरोना महामारीको बेलामा पनि कर्पोरेशनले विक्री वितरण गर्ने कुनै पनि सामग्रीको अभाव हुन दिएन । नाफामुखी नभएर उपभोक्तामुखी भएर बजारमा प्रस्तुत भएको छ । 

कम्पनीका अनुसार सरकारले दुर्गम क्षेत्रका २२ जिल्लामा नून ढुवानी गर्न मात्रै अनुदान दिएको छ । सरकारले दिएको अनुदान कम्पनीले नभई, जनताले पाइरहेका छत् भनेर बुझ्नुपर्ने श्रेष्ठ बताउँछन् । कम्पनीका अनुसार नेपालमा कण्ठरोग निवारणको आवश्यकता खट्कियो । देशभर सस्तो मूल्यमा सुलभ रूपले आयोडिनयुक्त नून पुगेपछि मात्रै सो रोग नियन्त्रणमा आउन सक्थ्यो । कम्पनीले सोहीअनुसार आयोडिनयुक्त नून उपलब्ध गरायो । सोही कामको प्रशंसा गर्दै संयुक्त राष्ट्र संघले कम्पनीलाई पुरस्कृत पनि गर्‍यो । 

सामाजिक उत्तरदायित्वमा उत्तिकै जिम्मेबार

साल्ट ट्रेडिङले सामाजिक उत्तरदायित्वका काम पनि गरेको छ । यसमध्ये कम्पनीको रजत जयन्ती अवसरमा २०४५ सालमा हितकारी गुठीअन्तर्गत बालहितकारी पुरस्कार स्थापना गर्‍यो । नेपाली बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेशनको वार्षिकोत्सवको अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । कर्पोरेशनमार्फत हालसम्म यो पुरस्कार २४ भन्दा बढी व्यक्ति तथा संस्थाले प्राप्त गरिसकेका छन् ।

कोभिड महामारीमा साल्ट ट्रेडिङ कर्पोरेशनको भूमिका बढी प्रभावकारी रह्यो । २ वर्ष मुलुक कोरोना भाइरस महामारीका कारण अस्तव्यस्त हुँदा कर्पोरेशनले जनस्वास्थ्यका मापदण्ड पूरा गरेर निरन्तर प्रभावकारी सेवा दियो । यसले सहज रूपमा उपभोक्ताको घरघरमा खाद्य तथा उपभोग्य सामग्रीहरू पुर्‍याउँदा आम उपभोक्ताको मन जित्न सफल भयो । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लगाउँदा शुरूको समयमा ग्यासको उच्च अभाव सृजना भयो । अधिकांश व्यापारीले उपलब्ध ग्यास समेत लुकाउने काम गरे । त्यही बेला बजारमा हस्तक्षेप गर्दै कर्पोरेशन आफूसँग उपलब्ध ग्यास उपभोक्तालाई दिन सफल रह्यो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा कर्पोरेशनले काठमाडौं उपत्यकामा ६ ओटा विक्री कक्ष र चारओटा मोबाइल भ्यानमार्फत खाद्य तथा उपभोग्य वस्तुको विक्री गरेको थियो । उपत्यकाका सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुर र कलंकीमा विक्री कक्ष राखेर यसले सेवा प्रदान गर्दै आयो । चारओटा मोबाइल भ्यानबाट काठमाडौं उपत्यकाभर उपभोक्ताको घर घरमै सेवा प्रवाह गयो । उपत्यका बाहिरका शहरमा पनि कम्पनीले आवश्यक सेवा प्रदान गरिँदा ग्राहक एवं सरोकारवालाबाट यसको विशेष प्रशंसा भयो । 

कृषकले सहज रूपमा युरिया मल पाउन नसकेका बेला उक्त जिम्मेवारी पूरा गर्न कर्पोरेशन पछि परेन । जिम्मेवारी पाएका अन्य निकायले मल आयात गर्न नसकेको अवस्थामा कर्पोरेशनले मल आपूर्तिलाई तत्कालीन समयमा प्राथमिकतामा राखेको देखिन्छ । महामारीकै समयमा हजारौं मेट्रिक टन रासायनिक मल आयात गरेको कम्पनीले तत्कालीन समयमा आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ अघि बढाएको थियो । पछिल्ला ६१ वर्षयता नेपालले सामना गरेको विषम परिस्थितिमा समेत कम्पनीले आपूर्ति व्यवस्था चुस्त राख्दै सहज रूपमा दैनिक आवश्यक सामग्री उपलब्ध गराएको छ । 

त्यस्तै, औद्योगिकीकरण तथा वित्तीय क्षेत्र विस्तारमा पनि साल्ट ट्रेडिङले उल्लेख्य योगदान गरेको छ । गोरखकाली रबर उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाइनान्स, साविकको सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापनामा यस कम्पनीको योगदान महत्त्वपूर्ण छ । कम्पनीले औद्योगिकीकरण र वित्तीय क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘आउँदा दिनमा नयाँ वस्तु र सेवा ल्याउने भन्दा पनि भएका सेवा र वस्तुलाई थप गुणस्तरीय बनाउने योजनामा साल्ट ट्रेडिङ छ । यद्यपि, सरकारबाट सहयोग प्राप्त भएमा थप वस्तुको व्यापार गर्ने योजना पनि छ,’ उनले बताए । उनका अनुसार अबका दिनमा सेवालाई गुणस्तरीय बनाउने विषयलाई नै प्राथमिकतामा राखिनेछ । 

स्थानीय उत्पादनमा जोड

कम्पनीले औद्योगिकीकरणको क्रममा शुरूदेखि नै स्थानीय उत्पादनलाई जोड दिँदै आएको छ । स्थानीय उत्पादनलाई प्रशोधनमार्फत ‘भ्यालू एड’ बढाएर बजारसम्म पुर्‍याउन सकियो भने स्थानीय किसानलाई फाइदा हुने मनसायले यसलाई निरन्तरता दिइएको कम्पनीका सम्बद्ध अधिकारीहरू बताउँछन् । नेपालमै उत्पादित वस्तु विदेशबाट आयात गर्नुपर्दा करोडौं रकम बाहिर गइरहेको छ । त्यसलाई रोक्न कम्पनीले प्रयास गरेको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक व्रजेशकुमार झा बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)