ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिंड्ने मानिस छन, किन्ने ग्राहक छैनन : सुनसान छन चितवनका सुनचाँदी पसल

२०८० भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । नेपाली महिलाहरुको महान चाड तीज नजिकिएपनि चितवनका सुनचाँदी पसलहरु सुनसान जस्तै छन । सडकमा मानिसहरु हिंडेपनि पसलमा ग्राहक छैनन । तीजमा सुनका गरगहना, साडी, तथा मिठो मसिनो खाने परम्परा भएपनि पछिल्ला बर्षमा यस संस्कृतिमा ह्वात्तै कमी आएको छ । 

कोरोनापछिको असरले चरम आर्थिक संकट पैदा भई क्रयशत्तिमा ह्रास आउँदा यसको प्रत्यक्ष असर सुनचाँदी व्यवसायमा पनि परेको हो । हुनत बजारमा खाद्यान्न, कपडा तथा अन्य उपभोग्य बस्तुहरुको पनि बिक्री छैन । तीजमा व्यवसायमा केही सुधार हुने आश भएपनि ग्राहक नआउँदा व्यवसायी निराश भएका छन । आर्थिकमन्दीको कारण सुनचाँदी व्यवसायमा ७५ प्रतिशत बढी ह्रास आएको स्वयं सुनचाँदी व्यवसायीनै बताउँछन । 

न्यू लोकमान एण्ड सन्स, मिलनरोडका सञ्चालक निलेनमान शाक्य कोरोना पछि यस व्यवसायमा ह्रास हुँदै गएको बताउँछन । ‘अघिल्ला बर्षहरुमा एक महिना अघि देखिनै ग्राहकको भीड हुन्थ्यो । अर्डर लिन भ्याई नभ्याई हुन्थ्यो । उनले भने, अहिले ग्राहक कहिले आउलान भनेर कुरेर बस्नु पर्छ । अहिले नियमित गहना किन्ने ग्राहकले पनि कम परिमाणमा गहना किन्ने गरेको र पुराना गहनानै मर्मत गरेर लगाउने गरेको शाक्यको भनाई छ । 

आधुनिक सुनचाँदी पसल, नारायणगढका सञ्चालक विकास बर्मा तीज आएपनि व्यवसायीलाई उत्साह नभएको बताउँछन । ‘सुनचाँदीको गहनाको बिक्री त एकदम कम छ नै , आर्थिक मन्दीले हाम्रो व्यवसाय मात्र होइन , कुनै व्यवसायनै चलेको छैन । यसमा हामीले सन्तोष लिने र चित्त बुझाउने बाहेक विकल्प छैन ।’ बर्माले भने । हाल पसलमा कम मुल्य र परिमाणका नयांँ डिजाइन बनाउने ग्राहक  आउने गरेको  उनले बताए । ‘अब हामी व्यवसायी पनि देशको परिस्थिति अनुसार परिवर्तन हुनुपर्छ , ग्राहकको  पनि आफ्नो गच्छे अनुसार गहना किन्नुपर्ने बाध्यता पनि छ ।’उनले भने । 

 देशमा गहना लगाउने लक्षित युवावर्गनै विदेश पलायन भएको कारण पनि यो समस्या आउने गरेको उनको भनाई छ ।  सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष एवं चित्रकला सुनचाँदी पसलका सञ्चालक उत्सव खाती निराशनै हुने खालको समस्या सुुनचाँदी व्यवसायमा नआएको बताउँछन । ‘फाट्टफुट्त बिक्री त छ , एकदमै कम परिमाण कम मुल्यका गहनामा छ । अघिल्ला बर्षहरुमा हामी व्यवसायी जति तीजको रौनक र बिक्री बढ्थ्यो अहिले त्यो अवस्था छैन । तीज आएपनि अन्य समयमा जस्तै सामान्य रुपमा गहना बिक्री हुने गरेको छैन ।’ खातीले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामु यस्तो  अवस्था आफ्नो व्यवसायिक जीवनमा कहिल्यै थाहा नपाएको बताउँछन । ‘म पसल बसेको नै ३० बर्ष बढी भईसक्यो । मेरा बुबा हजुरबुबाले चलाएको ५० बर्ष बढी भयो । तर यस्तो मन्दी र सुनसान कहिल्यै देखेको थिइन ।’ रामुदामुले भने । 

हाल नारायणगढका बजार र सडकमा मानिसहरु ओहोर दोहोर देखिएपनि किन्न ग्राहक भने औंलामा गन्ने मात्र भएको उनले बताए । ‘अहिले हिड्ने ग्राहक मात्र छन ।, किन्ने ग्राहक छैनन, उनले भने, अहिले किन्ने ग्राहक त परै जाओस सोध्ने ग्राहक पनि छैनन ।’ सुनचाँदी व्यवसायमा बृद्धि भएको कर, व्यवसाय गाउँ केन्द्रित हुनु, सुनचाँदीको भाउ बढ्दै जानु, क्रयशत्तिमा कम हुनु र नारायणगढको मुख्य सडक महिनौंसम्म मर्मत नहुँदा पनि यसको व्यापक असर सुनचाँदी व्यवसायमा परेको रामुदामुको भनाई छ । चितवनमा संघमा मात्र आवद्ध पांँचसय को हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)