ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर–जयनगर रेल सञ्चालनका ३ वर्ष: अझै तयार भएन नेपाली जनशक्ति भारतीयलाई चर्काे पारिश्रमिक

२०८० असोज, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। जनकपुर–जयनगर (३४ किलोमीटर) रेल सञ्चालन भएको ३ वर्ष हुँदै गर्दासमेत रेल सञ्चालनका लागि नेपालले आफ्नै जनशक्ति तयार गर्न सकेको छैन । २०७७ असोज २ गतेदेखि नेपाल–भारत सीमावर्ती क्षेत्रको लिंक रेलमार्गसमेत मानिने यो खण्डमा रेल सञ्चालनमा आएको थियो ।

असोजमा औपचारिक रूपमा रेल चले पनि शुरूमै आवश्यक प्राविधिक कर्मचारी नहुँदा रेल नियमित सञ्चालनमा आउन सकेन । पछि सरकारले भारतीय कोंकण रेलवे कर्पाेरेशन लिमिटेडसँग सम्झौता गरी त्यहाँ कार्यरत कर्मचारी ल्याएर रेल चलाउँदै आएको छ । तर, अझसम्म पनि सरकारले रेल चलाउने नेपाली जनशक्ति तयारीमा ढिलाइ गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थायी दरबन्दीका लागि कानून मन्त्रालय र लोकसेवा आयोगको सहमति लिएर अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको छ । यसमा अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले कर्मचारी नियुक्तिका लागि मन्त्रिपरिषद्को निर्णय चाहिने भएकाले अहिले यसैको प्रक्रियामा रहेको बताए । 

जनशक्ति तयार पार्ने विषयमा कमजोरी रहेको भन्दै उनले थपे, ‘कि त सरकारले रेल चलाउने कुरा गर्नु हुँदैन कि त आन्तरिक तयारी गर्नुपर्छ । सधैं अर्काको मुख ताकेर हुँदैन भनेर नै नेपाल रेलवे कम्पनी खडा गर्‍यौं ।’ उनका अनुसार कम्पनीमा रेल चलाउने पाइलट, को–पाइलट, स्टेशन म्यानेजर, रेलको लिक मर्मतसम्भार गर्ने जनशक्ति, सिग्नलका लागि आईटी जानकार, इलेक्ट्रिकल म्यानेजरजस्ता अन्य सयौं जनशक्ति चाहिन्छ । 

उक्त जनशक्ति मन्त्रालयले मन लाग्दी भर्ना गर्न नपाउने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले रेल चलाउन यस्तो–यस्तो जनशक्ति चाहिन्छ, भर्ना गर्छाैं भनेर विनियमावली स्वीकृतिका लागि सहमति दिन भनेर अर्थ मन्त्रालयमा फागुनअघि नै फाइल पठाएका छौं,’ उनले भने, ‘अझसम्म अर्थबाट सहमति आएको छैन ।’ पछिल्लो समय अर्थका अधिकारीले सहमति दिन्छौं भनेको तर ठोस निर्यण नआएको उनले बताए ।

स्थायी जनशक्ति नियुक्तिका लागि लोकसेवा आयोगको पनि सहमति चाहिन्छ । कानून र आयोगको समेत सहमति लिएर अर्थमा फाइल पठाउँदा अहिलेसम्म मन्त्रालयले सहमति पाएको छैन । सहमति आएपछि स्वदेशी जनशक्ति प्रयोग गर्न सक्ने अवस्था हुने भन्दै थापाले थपे, ‘अहिले पनि भारतीय कम्पनी कोंकण रेलवे कर्पाेरेशनसँग उसका जनशक्ति मागेर रेल चलाएको अवस्था छ ।’ 

मासिक पाश्रिमिक दिएर अहिले उक्त कम्पनीका कर्मचारी रेलसेवामा कार्यरत छन् । ‘यहाँ हाम्रा इन्जिनीयरको पारिश्रमिक ४०/४५ हजार रुपैयाँ छ, सोही पदका लागि भारतीय जनशक्तिलाई प्रतिव्यक्ति साढे ४ लाख रुपैयाँ मासिक पारिश्रमिक दिएर राखेका छौं,’ उनले भने, ‘यस्तो रकम लिने १७ जना छन् ।’

अर्काेतर्फ नेपालले जनशक्ति तयार नगर्दा कोंकणसँग भएको सम्झौताअनुसार लाभ लिनबाट पनि चुकेको छ । नेपालले स्थायी जनशक्ति तयार गर्‍यो भने त्यस्तो जनशक्तिलाई भारत लगेर तालीम दिने र दक्ष भएपछि पुन: नेपाललाई हस्तान्तरण गर्ने सम्झौता गरिएको जानकारी दिँदै उनले भने, ‘भारतीयले तालीम दिन्छौं कर्मचारी पठाउनू भन्दा पनि हामी पठाउन सक्ने अवस्थामा छैनौं । यसरी कसरी रेल चलाएर खान सकिन्छ ?’ 

मन्त्रालयले यही अवस्था र बजेट पनि नभएकोले रेल बन्द हुन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । रेल सञ्चालनबाट अहिले वार्षिक ९ करोड रुपैयाँ आम्दानी भएको छ । खर्च २० करोड रुपैयाँ छ । 

नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले स्थायी दरबन्दीका लागि प्रक्रिया अघि बढाइएको बताए । संगठन संरचना र दरबन्दी (ओएनएम)का लागि मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए । कम्पनीको यो फाइल स्वीकृत भएपछि स्थायी दरबन्दी पूरा हुने र हाल कार्यरत सम्पूर्ण भारतीय कर्मचारी नहुने उनको भनाइ छ । पाइलटदेखि इन्जिनीयर, स्टेशन मास्टर, ट्रयाक इन्जिनीयर, सिग्नल म्यानेजरदेखि सबै कर्मचारी नेपाली नै हुने गरी ओएनएम बनाइएको छ । 

कम्पनीले २३४ जनाको दरबन्दी स्वीकृतिका लागि पठाइसकेको उनको भनाइ छ । भारतीय कर्मचारी पाइलट, कोपाइलट, ट्रयाक इन्जिनीयर, स्टेशन मास्टर गरी २३ जना छन् । नेपाली कर्मचारी ११४ जना छन् । ‘थोरै कर्मचारी छौं, थप कर्मचारी आवश्यक छ,’ उनले भने, ‘नयाँ सेक्शन पनि थपिएको छ, जनकपुर उपमहानगरपालिकाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमीटर थपिएको छ । यो सेक्शनको असारमा उद्घाटन भएको हो । अहिले रेल निरन्तर चले पनि कर्मचारी कम हुँदा अप्ठ्यारो अवस्थामा सञ्चालन गरिरहेका छौं ।’

  •  भारतीय कर्मचारीलाई मासिक साढे ४ लाख रुपैयाँसम्म पारिश्रमिक
  •  २३४ दरबन्दीको फाइल ७ महीनादेखि अर्थमै
  •  थप १७ किलोमीटर ट्रयाक थपियो, जनशक्ति छैन 
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)