ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली अर्थतन्त्र सुध्रिने एडीबीको प्रक्षेपण

२०८० असोज, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं। एशियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपाली अर्थतन्त्र सुध्रने प्रक्षेपण गरेको छ । 

एडीबीको प्रमुख प्रकाशन एशियन डेभलपमेन्ट आउटलुक–२०२३ ले नेपालको अर्थतन्त्र ४ दशमलव ३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो । यो गत आवको अनुमानित वृद्धि १ दशमलव ९ प्रतिशतभन्दा धेरै हो । सरकारले चालू आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । महत्त्वाकांक्षी लक्ष्य सरकारले राखे पनि काम गर्ने शैलीमा कुनै परिवर्तन नआएकाले उक्त लक्ष्य प्राप्त हुने सम्भावना छैन । 

बलियो आधार फेला नपार्दा आर्थिक वृद्धि सरकारले राखेको लक्ष्यभन्दा कम हुने एडीबीले प्रक्षेपण गरेको देखिन्छ । एडीबीका अनुसार चालू आवमा नेपालको मुद्रास्फीति (महँगी वृद्धिदर) घटेर ६ दशमलव २ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण छ । केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ । 

विदेशी मुद्रा सञ्चितिमा सहजता र ब्याजदर केही कम भएसँगै यसले घरजग्गा तथा व्यापार व्यवसाय विस्तार गर्ने एडीबीको प्रक्षेपण छ । यद्यपि पर्याप्त वर्षा नहुनुका साथै अनियमित मौसम प्रणाली र पशुमा फैलिएको लम्पी स्किन महामारीका कारण कृषिक्षेत्र संकुचित हुने उसको आकलन छ । एडीबीका नेपाल प्रमुख इयान ह्रयान्सनले मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा केही प्रगति देखिए पनि बजेटको लक्ष्य प्राप्त गर्नु चुनौतीपूर्ण रहेको बताए । 

विदेशी मुद्रा सञ्चितिमा सहजता र ब्याजदर केही कम भएसँगै यसले घरजग्गा तथा व्यापार व्यवसाय विस्तार गर्ने एडीबीको अनुमान

उनका अनुसार मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा केही प्रगति देखिए पनि बजेटरी चुनौती यथावत् छ । आव २०८०/८१ मा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ४ प्रतिशत कायम रहने अनुमान छ । यो अघिल्लो आवको ६ दशमलव १ प्रतिशतभन्दा न्यून हो । ‘सरकार महत्त्वाकांक्षी राजस्व लक्ष्यमा असफल भयो भने वास्तविक बजेट घाटा अनुमान गरेभन्दा धेरै बढी हुनसक्छ,’ एडीबी नेपाल नियोगका प्रमुख अर्थशास्त्री ह्रयान्सनले भने । 

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिमा आएको रोकावट तथा नेपालले मुख्य आयात गर्ने मुलुक भारतमा महँगी नियन्त्रणमा आएसँगै नेपालको महँगीमा पनि कमी आउने एडीबीले बताएको छ । प्रतिवेदनमा कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि प्राप्त गरे पनि गत आवमा वृद्धिदर अपेक्षाभन्दा धेरै नै घटेको उल्लेख छ । 

नेपाली अर्थतन्त्रको प्रमुख स्रोत नै कृषि र पर्यटन भएका कारण यी क्षेत्रअन्तर्गत पूर्वाधार विस्तार गर्न आवश्यक रहेको एडीबीले बताएको छ । होटेल, रेस्टुराँ क्षेत्र यस वर्षमा थप चलायमान हुन सक्ने आकलन एडीबीको छ । प्रतिवेदनमा गत आव नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत रहेको औंल्याइएको छ । त्यस्तै गत आव भारतको आर्थिक वृद्धि ६ दशमलव ३ प्रतिशत रहेको र चालू वर्षमा ६ दशमलव ७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । दक्षिण एशियामा गत आव माल्दिभ्सको आर्थिक वृद्धि सबैभन्दा धेरै ७ दशमलव १ प्रतिशत रहेको र चालू वर्ष पनि माल्दिभ्सकै सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत रहने अनुमान छ । गतवर्ष ३ प्रतिशतले ऋणात्मक रहेको श्रीलंकाको आर्थिक वृद्धिदर पनि चालू वर्ष १ दशमलव ३ प्रतिशत रहने एडीबीको अनुमान छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)