काठमाडौं । विदेशी मुद्राको सञ्चिति सहज र बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजी पर्याप्त भए पनि देशको मुख्य आर्थिक कारोबार वैदेशिक व्यापारमा भने निरन्तर गिरावट देखिएको छ । सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाएको ९ र नेपाल राष्ट्र बैंकले आयात कस्ने नीति छाडेको ७ महीना बितिसक्दा पनि आयात तथा निर्यात दुवै घटेको छ ।
भन्सार विभागले प्रकाशित गरेको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को भदौसम्ममा २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ३२ प्रतिशतले कम हो । गत आवको भदौसम्ममा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
चालू आवको भदौसम्ममा नेपालले २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा आयात ५ दशमलव शून्य ६ प्रतिशत र निर्यात ७ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आवको भदौसम्ममा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै जान थालेपछि २०७८ पुसदेखि राष्ट्र बैंकले आयातमा कडाइको नीति लिएको थियो । केन्द्रीय बैंकले कतिपय सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान लागू गरेको थियो । त्यसपछि २०७९ वैशाखदेखि सरकारले पनि विभिन्न १० विलासी सामानको आयातमा प्रतिबन्ध लगायो ।
शोधनान्तर अवस्था बचतमा जानुका साथै विदेशी मुद्राको सञ्चिति बढेपछि सरकारले २०७९ मङ्सिर मसान्तपछि आयात प्रतिबन्ध हटाएको थियो । राष्ट्र बैंकले सोही वर्ष माघदेखि नगद मार्जिनको प्रावधानका साथै टीटी तथा ड्राफ्टबाट भुक्तानी गरी सामान आयात गर्न लगाएको प्रतिबन्ध हटाइसकेको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको साउनसम्मको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च (१५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ बराबर) छ । विदेशी मुद्रा सञ्चिति बढेपछि विदेशबाट वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि बलियो अवस्थामा छ । आव २०८०/८१ को पहिलो महीनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १२ दशमलव ५ महीनाको वस्तु र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकको प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति सहज अवस्थामा रहेको देखाए पनि वैदेशिक व्यापार भने घटिरहेको छ । यसले आन्तरिक अर्थतन्त्र सुस्त रहेको संकेत गर्ने पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरे बताउँछन् । ‘हाम्रो माग रउपभोगमा गिरावट आएपछि वैदेशिक व्यापार घटिरहेको छ,’ उनले भने, ‘यो अर्थतन्त्र सुस्त रहेको स्पष्ट संकेत हो ।’
सरकारले आयातमा प्रतिबन्ध लगाउनुअघि वैदेशिक व्यापारको आकार प्रतिमहीना २ खर्ब रुपैयाँ हाराहारी पुगेको थियो । प्रतिबन्धपछि घटेको व्यापार खुला भएपछि पनि लयमा फर्किन सकेको छैन ।
गतवर्ष बैंकिङ क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव भएकाले पनि आयात कम भएको आकलन गरिएको थियो । यतिबेला बैंकसँग ४ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने क्षमता भए पनि कर्जाको माग नभएको बैंकरहरूले बताउँदै आएका छन् ।
पूर्वसचिव घिमिरे विदेशी मुद्राको सञ्चिति उच्च हुनु मात्र देशको अर्थतन्त्र सबल छ भन्ने आधार नभएको भन्दै यसलाई चलायमान गराउन सरकारले योजना बनाउनुपर्ने बताउँछन् ।
वैदेशिक व्यापारमा कमी आउँदा सरकारको राजस्व आम्दानीमा पनि कमी आएको छ । गत आवको २ महीनामा सरकारले भन्सारबाट ६७ अर्ब १६ करोड रुपैयाँ र चालू आवको सोही अवधिमा ६७ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठाएको छ । आव २०७८/७९ को भदौसम्ममा भन्सारबाट ८३ अर्ब ५२ करोड रुपैयाँ राजस्व उठाएको थियो ।
वैदेशिक व्यापार घट्दा देशको व्यापारघाटा पनि घटेको छ । चालू आवको २ महीनामा नेपालको व्यापारघाटा २ खर्ब ३३ अर्ब ३० करोड पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४ दशमलव ७४ प्रतिशतले कम हो । गत आवको भदौसम्मको व्यापारघाटा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबर थियो ।