ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठमेलमा थपिए २०० होटेल

२०८० असोज, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं। नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गन्तव्य काठमाडौंको ठमेल क्षेत्रमा होटेलहरूको संख्या थपिएको छ । कोभिड–१९ का कारण थाती राखेका होटेल पूर्वाधार बनाउने योजनालाई व्यवसायीहरूले पुन: अघि बढाएसँगै ठमेल क्षेत्रमा होटेलको संख्या थपिएको हो । 

सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै भ्रमण वर्षलाई लक्ष्य गरेर ठमेल क्षेत्रमा थप होटेल तथा रेस्टुराँ खोल्ने योजना व्यवसायीले बनाएका थिए । तर, सन् २०२० को शुरूमै कोरोना महामारीले पर्यटकीय चहलपहल सुस्ताएपछि व्यवसायीले योजना थाती राखेका थिए । कोरोना न्यून भएसँगै व्यवसायीहरूले लगानी बढाउँदा यो क्षेत्रमा उक्त संख्यामा होटेल थपिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले जानकारी दिए ।

सरकारले सन् २०१९ मा सन् २०२० लाई नेपाल भ्रमण वर्षको मनाउने घोषणा गरेको थियो । त्यसलाई लक्ष्य गरेर व्यवसायीले होटेल र रेस्टुराँ व्यवसायमा लगानी थप्ने तथा नयाँ लगानी गर्ने योजना बनाएका थिए । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने महत्त्वाकांक्षी घोषणा गरेको थियो । 

तर, त्यही समयमा देखिएको कोभिड–१९ का कारण व्यवसायीले आफ्ना परियोजनाहरू ‘होल्ड’ गरे । ‘कोभिड न्यूनीकरण भएपछि पूर्वाधारहरू धमाधम थपिएका छन्,’ शर्माले भने, ‘कतिपय निर्माणाधीन अवस्थामा छन्, व्यवसायीहरूले रोकेर राखेका पूर्वाधारहरू बनाउँदा यहाँ थप ४० प्रतिशत क्षमता विस्तार भएको हो ।’ कोरोनाकै बीच तथा यो भाइरस साम्य हुँदै गर्दा यो क्षेत्रमा पाँचतारे स्तरका अलफ्ट, बाराहीदेखि पर्यटकीय स्तरका काठमाडौं आगन्तुक, कैलाशकुट, सूर्यलगायत होटेल थपिएका छन् ।

कोरोना महामारीपछि यो क्षेत्रमा रहेका विभिन्न व्यवसायको तथ्यांक संकलन गर्ने काम जारी रहेको शर्माले जानकारी दिए । ‘सोही तथ्यांक संकलनका क्रममा हाल यो क्षेत्रमा कुल ५७३ ओटा होटेल व्यवसाय सञ्चालनमा रहेको पाइएको छ,’ शर्माले भने, ‘कोरोनाअघि सन् २०१९ सम्ममा यो क्षेत्रमा ३७३ होटेल सञ्चालनमा थिए ।’ उनका अनुसार यो संख्यामा पाँचतारेदेखि पर्यटकीय स्तरका होटेल समेटिएका छन् । 

होटेलमा लगानी थपिँदा क्षमतासमेत विस्तार भएको छ । हाल दैनिक ३५ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा यस क्षेत्रमा होटेल पुगेको उनको भनाइ छ । होटेल पूर्वाधार बढे पनि पर्यटक भने पर्याप्त आएको अवस्था छैन । कोभिडअघि यो क्षेत्रमा दैनिक सरदर ५ हजारदेखि ७ हजारसम्म पर्यटक आइपुग्थे । परिषद्का अनुसार हाल उक्त संख्या दैनिक ४ हजारदेखि ५ हजारसम्म छ । 

मुलुकमा आउने पर्यटक संख्या बढेसँगै ठमेल पुग्नेको संख्या पनि बढेको छ । ‘यद्यपि यो पर्याप्त भने होइन,’ शर्माले भने, ‘अहिले यहाँका होटेलहरूको अकुपेन्सी नै ४० देखि ५० प्रतिशतसम्म छ । तर, पर्यटकीय सिजनको अन्तिमसम्ममा ७५ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुग्ने हाम्रो आकलन छ ।’ ठमेलमा अहिले पाँचतारेदेखि पर्यटकीय स्तरका गरेर ५७३ होटेल सञ्चालनमा छन् । सन् २०२० यताका वर्षहरूको तुलनामा सन् २०२३ को शुरुआतदेखि नै नेपालमा पर्यटक आगमन बढेको छ ।

‘एउटा होटेलमा कम्तीमा ३० कोठाको हिसाब गरेका हुन्छौं त्यस आधारमा दैनिक ३४ हजार ३८० जना पर्यटकलाई सेवा दिने क्षमता छ, यहाँ आउने पर्यटक २ देखि ३ दिन बस्छन्,’ शर्माले भने । सेप्टेम्बर तेस्रो सातादेखि नेपालमा पर्यटकीय सिजन पनि शुरू भएकाले यो क्षेत्रमा पनि पर्यटक आगमन र बसाइ बढ्नेमा यो क्षेत्रका व्यवसायी आशावादी देखिन्छन् ।

प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटक सुरक्षा, २४ घण्टा नै पर्यटकलाई सेवासुविधा दिने गरी रात्रिकालीन व्यवसाय सञ्चालनका विषयमा पनि परिषद्ले तयारी गरेको छ । आइतवार ठमेल क्षेत्रका होटेल व्यवसायी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेका प्रहरी प्रमुखको उपस्थितिमा परिषद् र होटेल एशोसिएशन नेपाल (हान)ले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । 

सो अवसरमा हानका महासचिव साजन शाक्यले पर्यटकको गन्तव्य बनेको ठमेलमा उनीहरू ढुक्क भएर घुम्न पाउने वातावरण बनाउन सहकार्य आवश्यक रहेको बताए । कोभिडअघिको तुलनामा यो क्षेत्रमा होटेल तथा रेस्टुराँको संख्या बढ्नुका साथै ट्राभल कम्पनीहरू पनि थपिएको भन्दै उनले रात्रिकालीन व्यवसायका लागि पनि प्रहरी–व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

यस्तै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख चतुर्भुज ओझाले ठमेल पर्यटन र यहाँको व्यवसायलाई सघाउन प्रहरी प्रशासन लागिपर्ने बताए । कानून नमिचिने गरी व्यवसायलाई सघाउने भन्दै ओझाले भने, ‘व्यवसायीले पनि कानूनको पालना गर्नुपर्छ, छिटोछिटो लाभ लिनेभन्दा पनि कानूनको अधीनमा रहेर काम गरौं । पर्यटन प्रवर्द्धन र सुरक्षामा सहकार्य गरौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)