ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारत–क्यानडा टकरावले नेपालमा मुसुरो दाल आपूर्तिमा कस्तो प्रभाव पर्ला ?

२०८० असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । भारत र क्यानडाबीच टकरावले नेपालमा मुसुरो दाल आपूर्तिमा कस्तो प्रभाव पर्ला ? पछिल्लो समय यो विषयमा आम नेपालीको चासो देखिएको छ । 

यसबारे जान्न सर्वप्रथम दुवै देशबीचको टकरावको अवस्थाबारे चर्चा गरौं । क्यानडाले आफ्ना एक नागरिकको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुवै देशबीच टकराव उत्पन्न भएको हो । केही दिनअघि भारतमा भएको जी-२० सम्मेलनपछि स्वदेश फर्केर  क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँको संसदमा भारतका जासुस एजेन्टले गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा आफ्ना नागरिक एवं शिख नेता हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेको आरोप लगाएका थिए ।

क्यानडाको आरोपपछि दुई देशबीच उत्पन्न टकरावका कारण दुवै देशले एकअर्काे देशका कूटनीतिक प्रतिनिधिलाई स्वदेश फर्किन निर्देशन दिइसकेका छन् । यस्तै, दुवै देशले एकअर्काे देशसँगको व्यापार पनि रोक्ने चेतावनी पनि दिएका छन् । 

अब नेपालको मुसुरो आयातबारे चर्चा गरौं । नेपालले सबैभन्दा बढी मुसुरो आयात अष्ट्रेलियाबाट गर्ने गरेको छ । चालू आर्थिक वर्ष (आव)को दुई महीनामा नेपालले अष्ट्रेलियाबाट गरेको मुसुरो आयात कुल मुसुरो आयातको ६४ प्रतिशत छ । समीक्षा अवधिमा नेपालमा भारतबाट कुल मुसुरो आयातको २४ प्रतिशत र क्यानडाबाट कुल मुसुरो आयातको १२ प्रतिशत भएको छ । 

चालू आवको दुई महीनामा नेपालले ९६ करोड १६ लाख रुपैयाँको ९ हजार ७०८ मेट्रिक टन मुसुरो आयात गरेको छ, जसमध्ये अस्ट्रेलियाबाट मात्रै ५६ करोड ४७ लाख रुपैयाँको ५ हजार ९४२ मेट्रिक टन मुसुरो नेपाल भित्रिएको छ । समीक्षा अवधिमा भारतबाट २६ करोड ६४ लाख रुपैयाँ बराबरको २ हजार ३५२ मेट्रिक टन र क्यानडाबाट ११ करोड ३८ लाख रुपैयाँको १ हजार १६३ मेट्रिक टन मुसुरो आयात गरेको छ ।

अब भारतले क्यानडाबाट गर्ने मुसुरो आयातको चर्चा गरौं । भारतले कुल मुसुरो आयातको २१ प्रतिशत क्यानडाबाट गर्ने गरेको छ । एक तथ्यांक अनुसार भारतले सन् २०२२ र २०२३ को अहिलेसम्म ४ लाख ८५ हजार टन मुसुरो दाल आयात गरेको छ । भारतमा वार्षिक २३ लाख टन मुसुरो खपत हुने गरेको छ, जसमा १६ लाख टन आन्तरिक उत्पादनबाट धानिने गरेको छ । 

भारतमा पनि क्यानडाको तुलनामा अस्ट्रेलियाबाट गरेको मुसुरो दाल आयातको हिस्सा बढी छ । भारतले गत अप्रिल र जुनमा क्यानडाबाट करीब १ लाख टन मुसुरो दाल आयात गर्दा अस्ट्रेलियाबाट भने २ लाख टन आयात गरेको छ । 

अब भारत र क्यानडाबीच वैदेशिक व्यापार रोकिँदा पर्ने असरबारे चर्चा गरौं । यो अवस्थामा क्यानडाबाट भारतमा मुसुरो दाल आयात हुने छैन । र, भारतले आफ्नो आन्तरिक माग धान्नका लागि नेपालमा मुसुरो दाल निर्यातमा रोक लगाउन सक्छ । यसबाट नेपालमा मुसुरो दाल आपूर्तिमा असर पर्न सक्छ । त्यसो त नेपालले अष्ट्रेलियाबाट दाल आयात थप गरेर वा अन्य देशबाट दाल आपूर्ति गरेर पनि माग धान्न सक्छ । 

भारत–क्यानडाबीच व्यापार रोकिएको अवस्थामा क्यानडाबाट नेपालमा हुने आयात पनि झन्झटिलो हुने देखिन्छ । यो अवस्थामा दालको मूल्य पनि बढ्न सक्छ । 

व्यवसायीहरू भने भारत–क्यानडाबीचको टकरावले नेपालमा मुसुरो दालको आपूर्तिमा ठूलो प्रभाव नपर्ने दाबी गर्छन् । नेपाल चामल, तेल, दाल, उद्योग संघका उपाध्यक्ष राहुल अग्रवाल दुई देशको बीचको टकरावले नेपालमा मुसुरो दालमा ठूलो प्रभाव नपर्ने दाबी गर्छन् । ‘नेपालमा झण्डै ६०–६५ प्रतिशत मुसुरो दाल अस्ट्रेलियाबाट आयात हुन्छ । भारत र क्यानडाबाट ठूलो मात्रामा दाल आयात नहुने भएकाले मूल्यमा ठूलो प्रभाव पर्ने देखिँदैन । तर, दुई देशबीचको टकरावका कारण केही महीना प्रभाव पर्ने आकलन भने गर्न सकिन्छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)